बर्दियामा अपराधका घटनासँगै लागूऔषधका मुद्दा बढे
दलबहादुर सुनार, ३ साउन, बर्दिया । बर्दिया जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा अपराधका घटना अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार यस अवधिमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने आत्महत्याका घटना दोस्रो स्थानमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको वार्षिक विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६ सय ९६ वटा अपराधका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०८२/८३ मा उक्त संख्या बढेर ७ सय ८६ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशत बढी हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार आर्थिक वर्ष २०८२/८३ मा लागूऔषध सम्बन्धी १ सय ७४ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा संलग्न २ सय ५७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस अवधिमा १ सय ५५ वटा आत्महत्याका घटना पनि दर्ता भएका छन् । त्यसैगरी, कर्तव्य ज्यानसम्बन्धी ७, बैंकिङ कसुरसम्बन्धी ४८, चोरीका ५१, महिला तथा बालबालिका सम्बन्धी ७७, घरेलु हिंसाका २ सय ५, मानिस हराएका १ सय ९३ तथा अवैध भन्सार छलीका १९ वटा मुद्दा दर्ता भएका छन् । साथै, वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जिल्लामा ५ सय ४४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ४६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अवैध भन्सार छली नियन्त्रणबाट १ करोड ८४ लाख १२ हजार ९८३ रुपैयाँ तथा सवारी कारबाहीबाट ४७ लाख ६५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । यसरी दुवै शीर्षकबाट कुल २ करोड ३१ लाख ७८ हजार ४८३ रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ । पालिकागत रूपमा अपराधका घटना विश्लेषण गर्दा सबैभन्दा बढी गुलरिया नगरपालिकामा १ सय ८१ वटा घटना दर्ता भएका छन् भने सबैभन्दा कम गेरुवा गाउँपालिकामा २८ वटा घटना दर्ता भएका छन् ।
त्यसपछि बढैयाताल गाउँपालिकामा १ सय ४६, बाँसगढी नगरपालिकामा १ सय, बारबर्दिया नगरपालिकामा ९९, मधुवन नगरपालिकामा ८९, राजापुर नगरपालिकामा ७८ र ठाकुरबाबा नगरपालिकामा ६५ वटा अपराधका घटना दर्ता भएका छन् । असार ३० गते जिल्ला प्रहरी कार्यालय बर्दियाले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले लागूऔषधको समस्या बर्दिया जिल्लाको मात्र नभई समग्र देशकै चुनौतीका रूपमा रहेको बताउनु भयो । उहाँले अपराध नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा आमनागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो ।
२० °C काठमाडौं
Facebook Comments