• १० जेठ २०८३, आइतवार
  • २० °C काठमाडौं
छैठौ गेरुवा उपाध्यक्ष कप महिला फूटवल खेलको विजेता मधुवनको टीम सम्मानित

हरी गुरुङ, ९ जेठ, मधुवन -बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिकामा आयोजित छैठौं उपाध्यक्ष महिला फूटवल प्रतियोगितामा प्रथम पालिकाको महिला खेलाडीहरुलाई मधुवन नगरपालिकाले सम्मान गरेको छ । गेरुवा गाउँपालिकामा आयोजित मधुवन र बारबर्दिया बिच भएको फाईनल प्रतिस्पर्धामा शून्यका विरुद्ध ५ गोल गरी मधुवनले उपाधी हात पारेको थियो ।

गेरुवा गाँउपालिकामा जेठ ६ गतेदेखि ७ गतेसम्म प्रतियोगिता गरिएको हो । फाईनल खेलमा मधुवन नगरपालिकाकी खेलाडी सलिना सुनाराले ३ गोल ह्याट्रिक गरेकी थिइन् भने मधुवन नगरपालिका अर्को खेलाडी आयुषा रेउलेले २ गोल गरेकी थिइन । खेलमा मधुवन नगरपालिकाकी आयुषा रेउले वेष्ट खेलाडी, वेष्ट गोलकिपर युना देवी सार्की, मेन अफ द म्याच  सलिना सुनार भएकी थिइन भने हाईस्कोरर ठाकुर बाबा नगरपालिका की सम्झना वि.क. घोषित भईन् ।

विजेता मधुवन नगरपालिकाले २५ प्रतिशत कर कट्टा गरी ८० हजार रुपैया, गोल्ड मेडल सहित प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बारबर्दिया नगरिपालिका ले कर कट्टी गरी ४० हजार रुपैया, मेडल सहित प्रमापत्र प्राप्त गरेको छ । प्रमुख अतिथि नगरप्रमुख तेज बहादुर भाटले बधाई तथा शुभकामना दिनुहुँदै खेलाडीहरुको  जित नै पालिकाको जित भएको बताउनु भयो । जितले पालिकाको शिर ठाडो भएको बताउँदै जितेर ल्याएको पुरस्कार खेलाडीहरुकै भएको उहाँको भनाई छ । 

पुरस्कार रकमबाट आफूलाई चाहिने आवश्यक सामाग्री खरिद गर्न सक्ने बताउँदै पुरस्कार खेलाडी हरुलाई हस्तान्तरण गर्नुभयो । विशेष अतिथि प्रहरी निरीक्षक महेन्द्र सेन विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै खेलाडीको सवैभन्दा ठूलो गहना अनुशासन भएको बताउनु भयो । अनुशासित खेलाडीले प्रगति गर्न सक्ने उहाँको भनाई छ । 

खेलाडी सम्मान कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, विशेष अतिथिका रुपमा नगर प्रवक्ता मेक बहादुर गुरुङ, वडा नं ४ का वडध्यक्ष बलिराम चौधरी, ईलाका प्रहरी कार्यालय ढोढरी का प्रमुख प्रहरी निरीक्षक महेन्द्र सेन लगायत खेलाडीहरूको सहभागीता थियो । मधुवन नगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष तिलक मल्लको सभातित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम छविलाल वलीले संचालन गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments