राजापुर नगर अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
केशव कोईराला, ११ असोज (राजापुर) बर्दिया । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत राजापुर नगरपालिका नगर अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस बर्दिया जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार अधिवेशनका विभिन्न निर्वाचन प्रक्रिया असोज ११ र १२ गते सञ्चालन हुने भएका छन् ।
कार्यतालिका अनुसार असोज ११ गते बिहान ९ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोही दिन दिउँसो २ बजेसम्म नामावलीमाथि दाबी–विरोध, २:२० बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ र ३:३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
त्यसैगरी असोज १२ गते बिहान ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारीका लागि दरखास्त लिइनेछ । बिहान ८:४५ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन, ९ बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध, ९:१५ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ र ९:३० बजेसम्म उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यसपछि बिहान १० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने १०:१५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएपछि मतगणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिने जिल्ला निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले प्रकाशित कार्यतालिकामा आवश्यकताअनुसार परिमार्जन भएमा त्यसको जानकारी गराइने जनाएको छ । उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले तोकेको ढाँचा अनुसार दरखास्त बुझाउनुपर्ने तथा मतदाताले आफूले मत दिन चाहेको उम्मेदवारको नामको अगाडि रहेको कोठामा संकेत गर्नुपर्ने सूचनामा उल्लेख छ ।
१७ °C काठमाडौं
Facebook Comments