दशैँले छाडेर गएका पदचापहरु
मुकुन्द अर्याल, १० कार्तिक, बर्दिया । चाडबाडको उज्यालो केही दिनको लागि मात्र त हुँदो रहेछ, पछि त केवल त्यही पुराना दिनहरूको सम्झना र उहीँ पुरानै दैनिकी फर्केर आउने न हो । दशैको निकै लामो प्रतीक्षा र तयारी गरिन्छ । साचेर राखिन्छ, दशै आउदैछ भनेर । हात बाधेर, इक्षा खुम्च्याएर अझ बढी मेहनत र पसिना चुहाएर पाई/पाई जोडिन्छ । बर्ष दिनको चाड आउदैछ, छोराछोरी आउदैछन, आफन्ती जुट्दैछन । दशै आउदैछ, बजार गर्नुछ । पुरानै कपडामा कसरी टीका थाप्नु ? नयाँ कपडा जोड्नु छ । लामो समय सङ्गै बस्न नपाएका बच्चा/बच्ची आउदैछन, कसरी उनिहरुका स–साना ईक्षाहरु मार्नु ? यस्तो वैश्य युगमा बाचिरहेका छौ जहाँ आफु र परिवार मात्र बाचेर कहाँ पुग्छ र देखावटी समाजको निम्ति पो बाचिदिनु पर्छ त दशै मनाउने कहाँ हो र ? दशै त मनाइदिने हो ।
सधै दशै कहाँ रहिरहने हो र ? रौनक बिस्तारै सेलाउँदै जान्छ । घरका कोठाहरू फेरि सुनसान हुन्छन । हिजोसम्म भरिभराउ घरको आँगनमा पुनः सुन्यता छाउछ । भान्सामा भाडाहरु थन्किदै जान्छन । जीवनको विडम्बना पनि कस्तो Û खुसीका केही दिन जुटाउन वर्षभरि संघर्ष गर्नुपर्ने, अनि ती दिन सकिएपछि फेरि उही संघर्षमा फर्किनुपर्ने। सायद त्यसैले दशैँ बिदाइ भएपछि मनमा एउटा अनौठो रिक्तता छाउँछ। त्यो रिक्तता घर खाली भएकाले मात्र कहाँ आउने हो र ? अबको दैनिकी सन्चालनमा थपिने जटिलताले पनि थपिने हो ।
दशैँ अब खुसी साट्ने, दुःख बाँड्ने र आफन्तहरू एकै ठाउँमा भेला हुने पर्व मात्र कहाँ रह्यो र ? यो त बिस्तारै मानिसको हैसियत नाप्ने पर्व पो बन्दै गएको छ । सम्बन्धहरू जोड्ने, मनहरू नजिक ल्याउने र आत्मीयता साट्ने अवसरभन्दा बढी एकअर्काका कमजोरी खोज्ने, आर्थिक अवस्था तुलना गर्ने र सामाजिक प्रतिष्ठाको हिसाबकिताब गर्ने चाड जस्तो देखिन थालेको छ । कसले कस्ता कपडा लगायो, कसका गहनामा कति चमक छ, कसले कति दक्षिणा दियो, कसको घरमा कस्ता परिकार पाके र कसले पाहुनालाई कति राम्रो आतिथ्य ग¥यो भन्ने कुराले मानिसको मूल्याङ्कन हुन थालेको छ । भेटघाटमा व्यक्त हुने आत्मीयताभन्दा लगाइएका कपडा र गहनाले बढी अर्थ राख्न थालेका छन् ।
बोलिएका शब्दभन्दा अनुहारका भाव, व्यवहार र देखाइने बडी ल्याङ्ग्वेजले मानिसको हैसियत र सम्बन्धको गहिराइ मापन हुन थालेका छन् । कतिपय अवस्थामा त कसैको घरमा पुग्नु, टीका थाप्नु वा दक्षिणा दिनुसमेत आत्मीयताभन्दा सामाजिक औपचारिकता पूरा गर्ने कर्मजस्तो बन्न पुगेको छ । कसले कसलाई कति सम्मान दियो, कसलाई कति महत्त्व दियो र कसको व्यवहार कस्तो रह्यो भन्ने कुराको हिसाब मनमनै राख्ने कुरा हुन । बाहिरबाट हेर्दा सबै हाँसिरहेका हुन्छन्, शुभकामना साटिरहेका हुन्छन् तर भित्रभित्रै तुलना, अपेक्षा र असन्तुष्टिका अनेक तरङ्ग चलिरहेका हुन्छन्। यस्तो लाग्छ, दशैँले मानिसहरूलाई नजिक ल्याउने अबसर भन्दा उनीहरूबीचको दूरी देखाउने अवसर बढी पाउन थालेको छ। पर्वको सुन्दरता त कसको घर कति सम्पन्न छ भन्नेमा होइन, कसको मनमा अरूका लागि कति ठाउँ छ भन्नेमा हुनुपर्ने हो। तर हामीले दशैँलाई मनको धनी हुने अवसरभन्दा देखावटी सम्पन्नता प्रदर्शन गर्ने प्रतिस्पर्धामा रूपान्तरण गर्दै त छैनौँ ? मलाई यस्तो लाग्न थालेको छ ।
आफन्त सबैको अवस्था एउटै कहाँ हुन्छ र समय, परिस्थिति, अवसर, व्यक्तिगत प्रगतिको चाहना, स्वास्थ्य र जिम्मेवारीले मानिसको स्थितिमा फरक पार्छन्। सबैको जीवनस्थिति समान हुन सम्भव पनि छैन। कसैको आर्जित अवस्था राम्रो होला, कसैको सामान्य, कसैको झन् कमजोर । तर , व्यक्तिअनुसार फरक हुने यही आर्जित स्थितिले दशैँको वास्तविक मर्मलाई निर्धारण गर्नु हुदैन । अहिलेको वैश्य युगमा भने मानिसको हैसियत, सम्बन्ध र सामाजिक स्थानसमेत आर्जित स्थितिले निर्धारण गर्न थालेको छ । दशैँलाई पनि वैश्य युगले पूर्णतः लपेटिसकेको छ । मानिसले सायद आफ्नै अनुहार देख्दैन, देखिने त अरूकै अनुहार हो। त्यसैले होला, आफ्नो भूमिकाको मूल्याङ्कन कम र अरूको भूमिकाको मूल्याङ्कन बढी गरिन्छ ।
आफूले के गरियो, कस्तो व्यवहार गरियो, आफ्नो अवस्था र हैसियतअनुसार के गर्न सकियो भन्ने कुरा गौण बन्छ। बरु अरूले के गरे, कति गरे, कसरी गरे र किन गरेनन् भन्ने कुराले बढी महत्त्व पाउँछ। आफ्नै भूमिका बिर्सिएर अरूको व्यवहारको चियोचर्चा गरिन्छ । दशैँ त भेटघाट, आत्मीयता, सहकार्य, साथ, सबैको भलो कामनाको चाड पो हुनुपर्ने हो त Û तर, यो त एकअर्काको अवस्था नियाल्ने, तुलना गर्ने र कमजोरी खोतल्ने चाड पो हुँदै छ । यसरी हेर्दा दशैँ खुसी साट्ने र आफन्त जुट्ने पर्वमा मात्र सीमित रहेन यो त मानिसको आर्जित स्थिति नाप्ने र अरूको भूमिकामाथि चियोचर्चा गर्ने पर्वका रूपमा समेत विकसित हुँदै गएको रहेछ ।
दशैँ आयो सङ्गै धेरै खुसी पनि ल्यायो । जाँदाजाँदै केही न्यानो माया र आत्मीयता साटेर गयो। केही नवीन अनुभूति पनि छोडेर गयो । हो , दशैँ गयो। आफूसँगै यसले केही पाइलाहरू छोडेर पनि गयो। ती पाइलाहरूमा म गएको दशैँ पढिरहेको छु। कसका पाइला कहाँ रोकिए, कसका पाइला कता मोडिए, कसले कति खुसी सँगाल्यो र कसले मनभित्रै के हुर्काएर गयो । सायद दशैँका पदचापहरू सबैका लागि उस्तै हुदैनन ।
२६ °C काठमाडौं
Facebook Comments