• २० भदौ २०८३, शनिवार
  • २५ °C काठमाडौं
सन्दर्भ मानव बेचबिखन बिरुद्धको दिवस : स्थानिय सरकारको भूमिका 

मुकुन्द अर्याल, २० भाद्र, बर्दिया । मानव बेचबिखन २१ औं शताब्दीको आधुनिक दासता हो । यो मानव सभ्यताको कलङ्क र मानव अधिकारको गम्भीर उल्लङ्घन हो । यसले मानिसको स्वतन्त्रता, मर्यादा र बाँच्न पाउने नैसर्गिक अधिकारलाई खोस्छ । ‎सामान्य अर्थमा कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत धम्की, बल प्रयोग वा धोकाधडीको माध्यमबाट नियन्त्रणमा लिई शोषण गर्ने कार्यलाई मानव बेचबिखन भनिन्छ । संयुक्त राष्ट्रसङ्घको पालेर्मो प्रोटोकल अनुसार æशोषणको उद्देश्यले डर, धम्की, बल प्रयोग, प्रलोभन वा धोकाधडीद्वारा कुनै व्यक्तिको ओसारपसार, स्थानान्तरण वा बन्धक बनाउने कार्य नै मानव बेचबिखन हो । 

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४Ú अनुसार  कुनै पनि उद्देश्यले मानिस किन्ने वा बेच्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, कानुन विपरीत मानिसको अङ्ग झिक्ने, कूटनीतिक उन्मुक्ति प्राप्त व्यक्तिले कसैलाई वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने आदि कार्यलाई मानव बेचबिखन भनिन्छ । ‎महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा मानव बेचबिखनको वार्षिक कुल जोखिम जनसङ्ख्या ३५,००० जना रहेको छ, जसको दैनिक औसत जोखिम दर ९५ जना र प्रतिघण्टा औसत जोखिम दर ३ दशमलव ९५ जना -करिब ४ जना) देखिन्छ । 

यो गम्भीर मानवीय संकटको प्रतिकार्यका लागि वार्षिक कुल ३,४९० जनाको उद्धार तथा पुनस्र्थापना हुने गरेको छ, जसको मासिक औसत उद्धार दर २९० दशमलव ८३ जना र दैनिक औसत उद्धार दर ९ दशमलव ५६ जना (करिब १० जना) कायम छ । यसैगरी, आन्तरिक तथा बाह्य क्षेत्रको संवेदनशीलतालाई हेर्दा वयस्क मनोरञ्जन क्षेत्रमा कार्यरत कुल ५०,००० श्रमिकहरूमध्ये १५ प्रतिशत -७,५०० जना) प्रत्यक्ष शोषणको जोखिममा रहेका छन् भने समस्याग्रस्त वैदेशिक रोजगारीमा रहेका कुल १,५०,००० कामदारहरूमध्ये १ दशमलव ५ प्रतिशत (२,२५० जना) नागरिकहरू प्रत्यक्ष श्रम वा यौन शोषणको जोखिममा परेका छन् (विभिन्न प्रतिबेदनहरु) । यो तथ्यांकले बिषयगत सम्बेदनशिलतालाई जनाउछ । 

‎नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई महिला, बालबालिका, र सीमान्तकृत वर्गको संरक्षण गर्ने एकल अधिकार प्रदान गरेको छ जसले मानव बेचबिखन नियन्त्रणको मुख्य जिम्मेवारी स्थानीय सरकारकै काँधमा रहेको पुष्टि गर्छ । मानव बेचबिखन र ओसारपसार एक बहुआयामिक एवं संवेदनशील अपराध भएकाले यसको जरैदेखि उन्मूलन गर्न राज्यका तीनै तहका सरकारहरूको एकीकृत भूमिका अपरिहार्य छ । संघीय सरकारले नीति, कानुन निर्माण र अन्तर्राष्ट्रिय समन्वय गर्ने तथा प्रदेश सरकारले प्रादेशिक रणनीति र पुनस्र्थापना गृहको व्यवस्थापन गर्ने भए तापनि यस संकटको प्रतिकार्यमा स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपंक्तिमा र निर्णायक रहन्छ । स्थानिय तहको भुमिका सबै भन्दा महत्वपुर्ण हुनु पछाडिका कारणहरु यस्ता छन ।

‎क) संवैधानिक म्यान्डेट र नीतिगत स्वायत्तताः नेपालको वर्तमान संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सीमान्तकृत नागरिक र महिला–बालबालिकाको अधिकार संरक्षण गर्ने विशेष एकल जिम्मेवारी स्थानीय निकायलाई सुम्पेको छ । यस अन्तर्गत प्रत्येक पालिकाले आफ्नो भौगोलिक संवेदनशीलता अनुसार आफैं मानव बेचबिखन नियन्त्रण कार्यविधि बनाएर लागू गर्ने कानुनी स्वायत्तता पाएका छन् भने पालिकाहरूको उपप्रमुख वा उपाध्यक्षको प्रत्यक्ष कमाण्डमा स्थानीय मानव बेचबिखन नियन्त्रण समिति रहने कानुनी व्यवस्थाले यस अपराध विरुद्ध लड्न बलियो स्थानीय संयन्त्र प्रदान गरेको छ ।

‎ख) सामुदायिक निकटता र जोखिमको प्रारम्भिक आँकलनः अपराधको पहिलो योजना र ललाईफकाई गाउँ–टोलबाटै सुरु हुने हुनाले, कुन नागरिक दलालको प्रलोभनमा पर्दैछ वा कुन अपरिचित व्यक्ति शङ्कास्पद रूपमा समुदायमा सक्रिय छ भन्ने कुरा स्थानीय वडा तहलाई मात्र तत्काल थाहा हुन्छ । जनप्रतिनिधिहरू आम नागरिकसँग प्रत्यक्ष जोडिने भएकाले आर्थिक संकटमा परेका, रोजगारी गुमाएका वा घरेलु हिंसा भोगिरहेका सम्भावित जोखिमयुक्त परिवारहरूको पहिचान गरी अपराध हुनुपूर्व नै बचाउन सहज हुन्छ ।

‎ग) बजेट व्यवस्थापन र लक्षित कार्यक्रमको प्रत्यक्ष कार्यान्वयनः स्थानीय सरकारसँग आफ्नो क्षेत्रको बजेट आफैं तर्जुमा गर्ने अधिकार हुने भएकाले गरिबी निवारण, स्वरोजगार र सीपमूलक तालिमका कार्यक्रमहरू सीधै जोखिममा रहेका लक्षित समुदायसम्म पु¥याउन सक्छन् । साथै, टोल विकास संस्था, आमा समूह, स्थानीय विद्यालय र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई एकीकृत गरी एउटा बलियो सामुदायिक निगरानी सञ्जाल बनाउने क्षमता र पहुँच स्थानीय तहसँग मात्र हुन्छ ।

‎घ) घर समाजमा पुनर्मिलन र दिगो आर्थिक पुनरुत्थानः अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरबाट उद्धार गरिएका पीडितहरू अन्ततः आफ्नै थातथलोमा फर्किने हुनाले, उनीहरूलाई समाजले पुनः स्वीकार गर्ने सुरक्षित वातावरण मिलाउने र सामाजिक विभेद हुन नदिनने मुख्य दायित्व स्थानिय सरकारकै हो । बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरूको गोपनीयता कायम राख्दै उनीहरूलाई मनोसामाजिक परामर्श दिने, स्वास्थ्य उपचारको प्रबन्ध गर्ने र जीवनयापनका लागि रोजगार वा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यावहारिक कार्यक्षेत्र स्थानीय सरकारकै क्षेत्राधिकारभित्र पर्दछ ।

‎कानुन आफैं कार्यान्वयन हुँदैनन् र केवल सजाय मात्रै अपराधको पूर्ण समाधान होइन भन्ने यथार्थ मानव बेचबिखन नियन्त्रणको सन्दर्भमा शतप्रतिशत लागू हुन्छ । राज्यले कडा कानुनी प्रावधान र दण्डको व्यवस्था गरे तापनि यदि जोखिमयुक्त समुदायमा त्यसको व्यावहारिक प्रत्याभूति र सामाजिक/आर्थिक रूपान्तरण हुन सकेन भने अपराधको चक्र रोकिँदैन । यसै परिप्रेक्ष्यमा, कागजी कानुनलाई जमिनमा उतार्न पोलिसी ईन्फोर्समेन्ट र सम्भावित पीडितहरूलाई दलालको चंगुलबाट जोगाउन सामाजिक बजारीकरण को रणनीति अवलम्बन गर्न स्थानीय सरकार सबैभन्दा शक्तिशाली माध्यम हुन । कानुन कार्यान्वयन र सामाजिक बजारीकरणलाई जोडेर स्थानीय तहले निभाउन सक्ने विशिष्ट भूमिकाहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ : 

‎क) व्यावहारिक कानुन कार्यान्वयन र निगरानीः संघीय कानुन र सजायका व्यवस्थाहरू दूरदराजका गाउँसम्म आफैं पुग्दैनन् । स्थानीय सरकारले आफ्नो नियमनकारी अधिकार प्रयोग गरी गाउँमा सञ्चालित होटल, मनोरञ्जन क्षेत्र, र स्थानीय श्रम बजारको आकस्मिक अनुगमन गर्न सक्छ । पालिकाले आफ्नो क्षेत्रभित्र विना इजाजत हुने श्रम परिचालन र वैदेशिक रोजगारीका नाममा हुने शङ्कास्पद एजेन्टहरूको सक्रियतालाई कानुनी दायरामा ल्याएर कानुनलाई किताबी पानाबाट व्यवहार मा रूपान्तरण गर्दछ ।

‎ख) सामाजिक बजारीकरण र चेतनाको ब्राण्डिङः सामाजिक बजारीकरण भनेको व्यापारिक सामान बेच्नु होइन, बरु समाजको हितका लागि सकारात्मक व्यवहार र चेतनाÚ को प्रवद्र्धन गर्नु हो । स्थानीय सरकारले सुरक्षित रोजगारी मेरो अधिकार मानिस बिक्ने वस्तु होइन जस्ता सन्देशहरूलाई स्थानीय भाषा, संस्कृति, सडक नाटक, र डिजिटल सञ्चार माध्यम जस्तै फेसबुक, टिकटक मार्फत एउटा ब्राण्डका रूपमा समुदायको मानसपटलमा स्थापित गर्न सक्छ । यसले दलालका झुक्यानपूर्ण प्रडक्ट (आकर्षक जागिरको प्रलोभन) विरुद्ध नागरिकमा प्रतिरोधक क्षमता विकास गर्छ ।

‎ग) विकल्पको बजारीकरणः सजायले मात्र अपराध रोक्दैन, जबसम्म नागरिकसँग जीवन धान्ने वैकल्पिक उपाय हुँदैन । स्थानीय तहले गरिबी र बेरोजगारीको चक्रमा परेका जोखिमयुक्त परिवार पहिचान गरी उनीहरूका लागि स्थानीय सीपमूलक तालिम, कृषि अनुदान, र स्वरोजगारका अवसरहरूको बजारीकरण (प्रवद्र्धन) गर्नुपर्छ । जब नागरिकले आफ्नै पालिकाभित्र आर्थिक सुरक्षाको विश्वसनीय विकल्प देख्छन्, तब उनीहरू दलालको प्रलोभनमा पर्ने सम्भावना स्वतः समाप्त हुन्छ ।

‎घ) पीडित मैत्री सामाजिक वातावरणको निर्माणः बेचबिखनबाट उद्धार गरिएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण प्रायः नकारात्मक हुने गर्छ, जसले गर्दा उनीहरू पुनः बेचबिखनको जोखिममा पर्ने सम्भावना रहन्छ। स्थानीय सरकारले सामाजिक बजारीकरणका औजारहरू प्रयोग गरेर समुदायमा पीडित दोषी होइनन्, उनीहरू न्याय र सम्मानका हकदार हुन् भन्ने धारणा स्थापित गर्न नेतृत्वदायी भूमिका खेल्छ ।

निष्कर्ष :

मानव बेचबिखन केवल एक कानुनी उल्लंघन मात्र नभएर मानवता विरुद्धको एक क्रूर संगठित अपराध हो, जसले हरेक घण्टा ४ जना नागरिकको स्वतन्त्रता खोसिरहेको भयावह तथ्यले यसको संवेदनशीलतालाई पुष्टि गर्छ । किताबी कानुन, न्यायिक दण्ड र केन्द्रीय नीतिहरू त्यतिबेलासम्म निरर्थक साबित हुन्छन्, जबसम्म अपराधको उद्गम र अवतरणको प्रत्यक्ष धरातलका रूपमा रहेको स्थानीय समाजमा यसको संरचनात्मक प्रतिरोध हुँदैन । तसर्थ, स्थानीय सरकार केवल एक प्रशासनिक एकाइ मात्र नभएर यो सञ्जाललाई तोड्ने अग्रपङ्क्तिको रक्षाकवच हो । 

पालिकाहरूले कडा  अनुगमन र सामाजिक बजारीकरणको रणनीति मार्फत नागरिकको चेतनामा अभूतपूर्व परिवर्तन ल्याउनुका साथै विपन्न वर्गलाई स्थानीय स्तरमै दिगो आर्थिक सुरक्षा र रोजगारीको विकल्प दिनु अपरिहार्य छ । अन्ततः, सिंहदरबारका नीतिहरूलाई व्यवहारमा रूपान्तरणगर्दै प्रत्येक स्थानीय तहले देखाउने दरिलो राजनीतिक इच्छाशक्ति र समुदायमा आधारित निगरानी नै आधुनिक दासताको जग पूर्ण रूपमा भत्काउने सबैभन्दा शक्तिशाली हतियार हो ।

सन्दर्भ सामग्री सूची (रिफ्रेन्सेस) 

‎१. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (२०८१). मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी राष्ट्रिय प्रतिवेदन. सिंहदरबार, काठमाडौँः नेपाल सरकार.
‎२. राष्ट्रिय मानव अधिकार आयोग -एनएचआरसी). (२०२६). नेपालमा मानव बेचबिखनको अवस्थाः राष्ट्रिय प्रतिवेदन २०२६. ललितपुर, नेपालः राष्ट्रिय मानव अधिकार आयोग.
‎३. अमेरिकी विदेश मन्त्रालय युएस डीपार्टमेन्ट अफ स्टेट -२०२५). ट्रान्फिकिङ इन पर्सन्स -टीआईपी) रिपोर्ट २०२५ : नेपाल खण्ड. वासिङ्टन डीसीः अमेरिकी दूतावास, नेपाल
‎४. संयुक्त राष्ट्रसंघीय अपराध नियन्त्रण कार्यालय (युएनओडीसी) -२०२५). नेपालः मानव बेचबिखन नियन्त्रणका लागि स्थलगत प्रमाण र एकीकृत सचेतना प्रतिवेदन. दक्षिण एसिया क्षेत्रीय कार्यालय.
‎५. नेपाल सरकार. (२०७४). स्थानीय सरकार सञ्चालन ऐन, २०७४. काठमाडौँः कानुन किताब व्यवस्था समिति.

सम्बन्धित समाचार

Facebook Comments