भोटेकोशीको बाढीसँगै बगेका सपनाहरू
बसन्त भट्ट, १६ भदौ । प्राकृतिक विपद् यस्ता हुन्छन्, जसले केवल भौतिक संरचना मात्रै भत्काउँदैनन्, मानिसको मन, परिवारको भविष्य र वर्षौँदेखि देख्दै आएका सपनाहरूलाई समेत तहसनहस बनाईदिन्छ। हालै रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी पनि त्यस्तै एउटा दुःखद घटना बनेर हाम्रो सामु उभिएको छ ।
भोटेकोशीमा आएको बाढीले केही समयमै ठूलो विनाश निम्त्यायो। नदीको बहावसँगै घर, सडक, पुल, पसल, उद्योग तथा अन्य भौतिक संरचनाहरू बगे । करोडौँको धनमाल नष्ट भयो । धेरै परिवार घरबारविहीन भए । तर भौतिक क्षतिभन्दा ठूलो क्षति मानिसको जीवनमा भयो । सयौँ नागरिकले ज्यान गुमाए भने हजारौँ अझै बेपत्ता छन् । आफ्ना परिवारका सदस्यको अवस्था थाहा नपाएका परिवारहरू आज पनि आशा र पीडाको बीचमा छन् ।
बाढीले बगाएको एउटा घर केवल इँटा, ढुंगा र सिमेन्टको संरचना थिएन। त्यो एउटा परिवारको वर्षौँको मेहनत थियो। एउटा पसल केवल व्यापार गर्ने ठाउँ थिएन, त्यो कसैको रोजगारी र परिवार पाल्ने आधार थियो । बगेको एउटा सानो होटल कसैको जीवनभरको लगानी हुन सक्छ । बाढीमा हराएको एउटा सवारी साधन कसैको जीविकोपार्जनको मुख्य माध्यम हुन सक्छ । त्यसैले बाढीले बगाएको क्षतिको मूल्य केवल रुपैयाँमा हिसाब गर्न सकिँदैन ।
कसैले छोराछोरीलाई राम्रो शिक्षा दिने सपना देखेका थिए होला, कसैले विदेशमा कमाएको पैसा लगानी गरेर गाउँमै व्यवसाय गर्ने योजना बनाएका थिए होला। कसैले नयाँ घर बनाउने तयारी गरिरहेका थिए होला। कसैले छोराछोरीको विवाह गर्ने, कसैले वृद्ध आमाबुबालाई राम्रोसँग पाल्ने सपना बोकेका थिए होला । तर एकैछिनमा आएको बाढीले ती सपनाहरूलाई पानीको भेलसँगै बगाएर लग्यो ।
बाढीपछि सबैभन्दा पीडादायी अवस्था बेपत्ता भएका व्यक्तिका परिवारको छ । मृत्युको खबर जति पीडादायी भए पनि एउटा सत्य स्वीकार गर्न सकिन्छ । तर बेपत्ता मानिसका परिवारका लागि प्रत्येक दिन नयाँ प्रतीक्षा हुन्छ । नदी किनारमा खोजी भइरहँदा उनीहरूका आँखा आफ्ना मान्छे फर्किने आशामा हुन्छन्। फोन बज्दा पनि हराएको आफन्तकै फोन हो कि भन्ने आशा हुन्छ। कुनै शव फेला परेको खबर आउँदा आफ्नै परिवारको सदस्य पो हो कि भन्ने डर हुन्छ ।
भोटेकोशीको बाढीले हामीलाई एउटा गम्भीर प्रश्न पनि सोधेको छ, हामी प्राकृतिक विपद्का लागि कति तयार छौँ ? नेपाल भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहेको देश हो । बाढी, पहिरो, भूकम्प, हिमपहिरो र डुबानजस्ता विपद् हाम्रो लागि नयाँ होइनन् । तर हरेकपटक विपद् आएपछि मात्र हामी तयारीको कुरा गर्छौँ । विपद् सकिएपछि केही समयसम्म बहस हुन्छ, राहत वितरण हुन्छ, क्षतिको विवरण तयार हुन्छ र बिस्तारै घटना हाम्रो स्मृतिबाट हराउँदै जान्छ ।
तर पीडित परिवारका लागि विपद् त्यति सजिलै समाप्त हुँदैन । उनीहरूका लागि त्यसपछि नयाँ जीवन सुरु हुन्छ, घरविहीन जीवन, रोजगारीविहीन जीवन, आफन्तविहीन जीवन र कहिलेकाहीँ आशाविहीन जीवन । त्यसैले अब हाम्रो विपद् व्यवस्थापनको सोच परिवर्तन गर्न आवश्यक छ। विपद् आएपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने होइन, विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, सुरक्षित स्थानको व्यवस्था गर्ने र स्थानीय समुदायलाई आवश्यक तालिम तथा स्रोत उपलब्ध गराउने काममा जोड दिनुपर्छ ।
विशेषगरी नदी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि पूर्वसूचना जीवन र मृत्युबीचको फरक बन्न सक्छ । समयमै सूचना पाउन सके एउटा परिवारले आफ्नो घर छोड्न सक्छ, सुरक्षित स्थानमा पुग्न सक्छ र आफ्नो जीवन जोगाउन सक्छ । त्यसैले पूर्वसूचना प्रणाली कागजमा वा कार्यालयको प्रतिवेदनमा मात्र सीमित हुनु हुँदैन। त्यो जोखिममा रहेको अन्तिम घरसम्म पुग्नुपर्छ ।
यससँगै विकास निर्माणका काममा पनि हामीले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ । नदीको किनारमा सडक, पुल, बस्ती र अन्य संरचना निर्माण गर्दा प्राकृतिक जोखिमको पर्याप्त अध्ययन हुनुपर्छ । विकास आवश्यक छ, तर जोखिमलाई बेवास्ता गरेर गरिने विकासले कुनै दिन ठूलो मूल्य चुकाउन बाध्य बनाउन सक्छ ।
भोटेकोशी जलविद्युत्, पर्यटन, व्यापार र स्थानीय जनजीवनसँग जोडिएको महत्वपूर्ण नदी हो। नदीले हामीलाई अवसर दिएको छ । तर नदीको शक्ति र प्रकृतिलाई बुझेर मात्र त्यसबाट लाभ लिन सकिन्छ। प्रकृतिलाई चुनौती दिएर गरिने विकास दिगो हुन सक्दैन ।
हालैको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर पनि हेर्नुपर्ने अवस्था छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमतालको जोखिम, हिमपहिरो, अत्यधिक वर्षा तथा मौसममा देखिएको असामान्य परिवर्तनले नेपालजस्ता हिमाली देशलाई थप जोखिममा पारिरहेको छ । नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून योगदान गरे पनि यसको असर भने ठूलो रूपमा भोगिरहेको छ । त्यसैले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय, अनुकूलन र विपद् जोखिम न्यूनीकरणका लागि थप प्रभावकारी रूपमा आवाज उठाउन आवश्यक छ ।
तर बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन। सरकार, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र र समुदाय सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । बाढीपछि तत्काल राहत दिनु आवश्यक छ । तर राहतपछि पीडितको पुनःस्थापना अझ महत्वपूर्ण छ। घर गुमाएकालाई घर, रोजगारी गुमाएकालाई जीविकोपार्जनको आधार, व्यवसाय गुमाएकालाई पुनःस्थापनाको अवसर र आफन्त गुमाएकालाई आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्छ । विशेषगरी बेपत्ता व्यक्तिका परिवारलाई लामो समयसम्म राज्य र समाजको साथ आवश्यक हुन्छ ।
हामीले भोटेकोशीको बाढीलाई केही दिनको समाचार बनाएर मात्र छोड्नु हुँदैन । यो घटना भविष्यका लागि एउटा पाठ बन्नुपर्छ । आज हामीले बाढीपीडितलाई सहयोग ग¥यौँ भने त्यो मानवीय दायित्व हो । तर भोलि त्यस्तै विपद्मा कमभन्दा कम मानिसले ज्यान गुमाउने अवस्था निर्माण गर्न सक्यौँ भने त्यो हाम्रो वास्तविक सफलता हुनेछ । आज भोटेकोशीको पानी बगिरहेको छ। केही समयपछि नदीको बहाव सामान्य होला। भत्किएका सडक र पुलहरू पुनःनिर्माण होलान्। घरहरू फेरि बन्नेछन्। बजार बस्नेछ ।
२२ °C काठमाडौं
Facebook Comments