'फेरिएको अनुहार'
बसन्त भट्ट, ३० वैशाक, काठमांडौं । शहरका गल्लीहरू जस्तै होटलका कोठाहरूको स्वरूप पनि समयसँगै फेरिएको छ । एक समय थियो, होटलका कोठामा आउने अनुहारहरू सीमित वर्गका हुन्थे । यात्रामा निस्किएका सरकारी कर्मचारी, व्यापारका सिलसिलामा आएका मानिस, वा समाजको आर्थिक बाध्यताले यौन व्यवसायमा धकेलिएका महिलाहरू त्यहाँ बढी देखिन्थे । ती अनुहारहरूमा संघर्ष, बाध्यता र समाजको असमानताको गहिरो छाप हुन्थ्यो ।
तर आज समय बदलिएको छ । होटलका कोठामा देखिने अनुहारहरू पनि फेरिएका छन् । अहिले त्यहाँ आधुनिकता, स्वतन्त्रता, आत्मनिर्भरता र व्यक्तिगत अधिकारका नाममा नयाँ प्रकारका सम्बन्धहरू भित्रिन थालेका छन् । सम्बन्ध विच्छेदपछि एक्लोपन बोकेका महिलाहरू, आर्थिक रूपमा सक्षम र आत्मनिर्भर भनिने युवतीहरू, वा सामाजिक बन्धनभन्दा व्यक्तिगत इच्छालाई प्राथमिकता दिने पुस्ता यस्ता स्थानमा सहजै पुग्न थालेका छन् । उनीहरू प्रेमीहरूसँग आउँछन् कहिले मनोरञ्जनका लागि, कहिले भावनात्मक खालीपन भर्न, त कहिले कसैको स्वार्थ वा चाहना पूरा गर्न ।
यो परिवर्तनलाई केवल नैतिकताको आँखाबाट हेरेर मात्र पुग्दैन । यसको पछाडि समाजको बदलिँदो संरचना, सम्बन्धहरूको कमजोर बन्दै गएको आधार, र आधुनिक जीवनशैलीको प्रभाव लुकेको छ । अहिले मानिसहरू भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा टाढिँदै गएका छन् । मोबाइल र सामाजिक सञ्जालले सम्बन्ध बनाउन सजिलो बनाएको छ, तर ती सम्बन्धहरूको आयु छोटिँदै गएको छ। विश्वास, धैर्यता र समर्पणभन्दा तत्कालीन आकर्षण र क्षणिक रमाइलोले ठाउँ लिन थालेको छ ।
विशेषगरी शहरिया जीवनशैलीले æमेरो जीवन, मेरो निर्णयÆ भन्ने सोचलाई बलियो बनाएको छ । महिलाहरू आर्थिक रूपमा सक्षम बन्दै जानु सकारात्मक पक्ष हो । उनीहरूले आफ्ना निर्णय आफैं लिन सक्नु अधिकारको कुरा पनि हो । तर स्वतन्त्रताको अर्थ जिम्मेवारीविहीनता होइन भन्ने कुरा बिस्तारै ओझेलमा पर्दै गएको देखिन्छ । कतिपय अवस्थामा स्वतन्त्रताको नाममा सम्बन्धहरू प्रयोग र उपभोगको वस्तुजस्तै बन्न थालेका छन् ।
यसले केवल होटलका कोठाको अनुहार मात्र फेरेको छैन, समाजको चरित्र पनि बदलिँदै गएको संकेत दिएको छ । आज सम्बन्धहरू गहिरो आत्मीयताभन्दा बढी आवश्यकता र स्वार्थमा आधारित हुन थालेका छन्। प्रेममा स्थायित्वभन्दा सुविधा खोजिने अवस्था बढ्दो छ । यही कारण सम्बन्धहरू चाँडै बन्ने र चाँडै टुट्ने क्रम सामान्यजस्तै बन्दै गएको छ । तर प्रश्न उठ्छ, के यो परिवर्तन साँच्चै प्रगतिशील समाजको संकेत हो ? वा हामी भावनात्मक शून्यता र सांस्कृतिक विचलनतर्फ अघि बढिरहेका छौँ ?
हामीले कसैको व्यक्तिगत स्वतन्त्रतामाथि प्रश्न उठाउनु अघि समाज किन यस्तो दिशातर्फ गइरहेको छ भन्ने बुझ्न आवश्यक छ । परिवारभित्रको संवादको कमी, सम्बन्धमा बढ्दो अविश्वास, भोगवादी संस्कृतिको प्रभाव, र सामाजिक उत्तरदायित्वको कमजोर हुँदै गएको भावना यसको मुख्य कारण हुन सक्छन् । होटलका कोठामा फेरिएका अनुहारहरू वास्तवमा समाजभित्र फेरिँदै गएको मनोविज्ञानका प्रतिबिम्ब हुन् । ती अनुहारहरू केवल व्यक्ति होइनन्, बदलिँदो समयका कथा हुन्, जहाँ स्वतन्त्रता छ, तर कहिलेकाहीँ एक्लोपन पनिÙ जहाँ मनोरञ्जन छ, तर भित्र कतै रिक्तता पनि । समाजले अब केवल अनुहार होइन, ती अनुहारभित्र लुकेका कारणहरू पढ्न सिक्नुपर्छ ।
२४ °C काठमाडौं
Facebook Comments