सुनौलो महिला सहकारी संस्थाको १८ औं साधारण सभा
मुरली गोडिया, १९ असोज, गुलरिया (बर्दिया) । सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरिया बर्दियाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाको आर्थिक, सामाजिक तथा संस्थागत प्रगति विवरण प्रस्तुत गरिएको छ ।
संस्थाका कोषाध्यक्ष लक्ष्मी खड्काका अनुसार आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म १ हजार २ सय ८९ रहेको शेयर सदस्य संख्या बढेर हाल १ हजार ३ सय २७ पुगेको छ । शेयर पूँजीसमेत ५१ लाख २४ हजार ४ सय रुपैयाँबाट बढेर ५७ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यस्तै, कुल बचत ३ करोड १७ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ ७४ पैसाबाट बढेर हाल ३ करोड ७२ लाख ७३ हजार ९ सय ३१ रुपैयाँ पुगेको छ ।
संस्थाले हालसम्म ३ करोड १ लाख ६० हजार ३ सय ५६ रुपैयाँ ऋण लगानी गरेको कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष खुमा कुमारी पोख्रेलले सहकारी नियमनकारी निकायले जारी गरेका मापदण्ड पालना गर्दै संस्था सञ्चालन भइरहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै किशोरी शिक्षा, सीपमूलक तथा क्षमता अभिवृद्धिका विभिन्न तालिम प्रभावकारी भएको जानकारी दिनुभयो ।
बेसार प्रशोधनका लागि निर्माण गरिएको सोलार ड्रायर पनि प्रभावकारी रहेको संस्थाले जनाएको छ । ब्याजदरमा आएको कमीका कारण आम्दानीमा केही कमी आएको भन्दै आगामी दिनमा कारोबार तथा आयका नयाँ क्षेत्र विस्तार गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । सहकारीले आर्थिक कारोबारसँगै महिला सशक्तीकरण, सामाजिक सद्भाव, कृषि तथा उद्यमशीलता विकास र स्थानीय स्रोतसाधनको परिचालनमा समेत योगदान पु¥याउँदै आएको जनाएको छ ।
साधारण सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ बर्दियाका सचिव इन्दिरा सुबेदीले सहकारी सम्बन्धी ऐन, कानुन तथा सरकारी परिपत्रबारे जानकारी गराउँदै समय, संयमता र संगठनका माध्यमबाट सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिने बताउनुभयो ।
१९ °C काठमाडौं
Facebook Comments