• २ मंसिर २०८३, मङ्गलवार
  • ९ °C काठमाडौं
चाडपर्वले छाडेका जिवन्त सम्झनाहरु ...

मुकुन्द अर्याल, ३० कार्तिक, बर्दिया । लगभग पन्ध्र दिन पछि रज्जु दाइ सङ्ग भेट भयो आज । दशै/तिहार सकिएपछि बर्ष सकिए जस्तो लाग्छ भाइ मलाई त पहिले वाक्यमै उहाँको भनाई थियो यो । हो त सच्ची Û लगभग केही समयलाई चाडपर्व सकिए पनि । तर हामीकोमा चाड पर्व सकिदैनन । अर्को चाडको शुरुवात हुन्छ । 
‎
‎हामीकहाँ चाडपर्व आउनुलाई महत्वका साथ हेरिन्छ । हाम्रो लागि चाडपर्वहरु हाम्रा जीवन पद्धतिका स्वरुप हुन । ऋतु फेरिन्छ, खेतीपातीको चक्र बदलिन्छ र पात्रोमा तिथि फेरिन्छ अनि सँगसँगै कुनै न कुनै पर्व हाम्रो घर आगनमा आइपुग्छ । दशैँमा घर फर्कनेहरूकोको ताती देखिन्छ, तिहारमा आँगन र सम्बन्ध दुवै उज्यालिन्छन्, छठमा नदीकिनारमा आस्थाको भीड लाग्छ,  माघमा गाउँबस्तीमा रौनकमा रमाउँछ । क्रमशः त्यस्तै । यी सबै हाम्रा दैनिकीसँग जोडिएका परिचित दृश्य हुन् । यी सबै सामान्य उत्सव मात्र  होइनन । यी सबै अवसरमा मानिसहरू भेटिन्छन्, टाढिएका सम्बन्ध नजिकिन्छन्, परिवार एकै ठाउँमा जुट्छ र एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो संस्कृतिको कथा सुनाउँछ । 

चाडपर्व सकिएर जान्छन् तर तिनले जोडेर गएका सम्बन्ध र सम्झनाहरू लामो समयसम्म जीवन्त रहन्छन् । ‎नेपाली संस्कृति कुनै एउटा जाति, भाषा, धर्म वा भूगोलको पहिचानमा मात्र सीमित छैन । हिमाल, पहाड र तराईका अनेकौँ समुदायका जीवनशैली, विश्वास, संस्कार, परम्परा, खानपान, भेषभूषा, लोकगीत, नृत्य र सामाजिक अभ्यासको समष्टि नै हाम्रो  सांस्कृतिक पहिचान हो । संस्कृति मठमन्दिर, गुम्बा, मस्जिद वा धार्मिक अनुष्ठानमा मात्र भेटिने विषय पनि होइन । सस्कृति त  घरको आँगनमा, खेतको आलीमा, वनपाखामा, नदीकिनारमा, भान्साको स्वादमा र मानिसले एकअर्कासँग गर्ने व्यवहारमा भेटिन्छ । 

जन्मदेखि मृत्युसम्मका संस्कार, जीवनका सुख/दुःखमा गरिने सामूहिक सहभागिता र समुदायले अँगालेका मूल्य/मान्यता यसैका अभिन्न पक्ष हुन् । त्यसैले संस्कृति हाम्रा चाडपर्व बर्तमानको रमाइलो मात्र होइन, यो त पुस्तौँदेखि अभ्यास गरिदै आएको हाम्रो जीवनपद्धति हो । ‎हाम्रा चाडपर्वको विविधता आफैँमा सांस्कृतिक सम्पत्ति हो । दशैँ, तिहार, तीज, छठ, माघी, ल्होसार, उभौली–उधौली, इन्द्रजात्रा, बिस्का जात्रा, गाईजात्रा र असङ्ख्य स्थानीय पर्वका आआफ्नै धार्मिक, सामाजिक र सांस्कृतिक विशेषता छन् । मनाउने विधि र विश्वास फरक भए पनि तिनले सम्बन्धित समुदायको इतिहास, पहिचान र सामूहिक स्मृतिलाई जीवन्त राखेका छन् । 

पर्वसँग जोडिएका गीत, संगीत, नृत्य, कला, सीप र सामूहिक अभ्यास केवल मनोरञ्जनका माध्यम होइनन्, सांस्कृतिक निरन्तरताका आधार पनि हुन् । युनेस्कोको सन् २००३ को अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिले पनि सामाजिक अभ्यास, अनुष्ठान र उत्सवलाई समुदायको पहिचान र सांस्कृतिक निरन्तरतासँग जोडिएको सम्पदाका रूपमा स्वीकार गरेको छ । ‎हामीले चाडपर्वलाई सामान्य पुजाबिधी, लगाउने र खाने स्वरुपमा मात्र बुझ्दछौ तर चाडपर्वको महत्त्वलाई धार्मिक आस्था र पूजा विधिमा मात्र सीमित गरेर हेर्दा यसको सामाजिक पक्ष ओझेलमा परिरहेको हुन्छ । वास्तवमा पर्वहरूले मानिसलाई एक ठाउँमा ल्याउने, पारिवारिक सम्बन्ध नवीकरण गर्ने, सामुदायिक सहयोग बढाउने, साझा मूल्य र मान्यता हस्तान्तरण गर्ने तथा सामाजिक पहिचान जोगाउने काम गरिरहेका हुन्छन् । 

समाजशास्त्रमा यसलाई प्रकार्यबादी दृष्टिकोण फंसनालिज्म भनिन्छ । प्रकार्यवादले समाजलाई विभिन्न संस्था, मूल्य, मान्यता र अभ्यास एकअर्कासँग जोडिएर सञ्चालन हुने संरचनाका रूपमा हेर्छ । परिवार, धर्म, संस्कृति, बिबाह, नातासम्बन्ध  जस्ता सामाजिक संस्थाले समाजको स्थिरता, एकता र निरन्तरतामा कसरी योगदान पु¥याउँछन् भन्ने दृष्टिकोणबाट यस सिद्धान्तले  हेर्दछ । यस अर्थमा चाडपर्व केवल रमाइलो गर्ने अवसर मात्र  होइनन् बरु समाजलाई एक आपसमा जोडेर राख्ने सांस्कृतिक संयन्त्र पनि हुन् ।
‎
‎प्रख्यात समाजशास्त्री इमाइल दुर्खिमले धार्मिक अनुष्ठान र सामूहिक उत्सवले समाजमा साझा चेतना र एकताको भावना बलियो बनाउने व्याख्या गरेका छन् । मानिसहरू साझा विश्वास, प्रतीक र अनुष्ठानमा सहभागी हुँदा उनीहरूमा व्यक्तिगत अनुभूतिभन्दा माथि उठेर सामूहिक भावनाको विकास हुन्छ । उनले यस अवस्थालाइ कलेक्टिभ इफेरर्भसेन्स अर्थात् सामूहिक भावावेगको अवधारणाबाट व्याख्या गरेका छन् । दशैँमा हुने पारिवारिक जमघट, तिहारको देउसीभैलो, छठको सामूहिक आराधना वा माघीको सामुदायिक उत्सवमा देखिने उत्साह र अपनत्वलाई यही दृष्टिले बुझ्न सकिन्छ । त्यहाँ मानिसहरू आआफ्नो व्यक्तिगत कामका लागि मात्र भेला भएका हुँदैनन्, उनीहरू साझा विश्वास, संस्कृति र सामूहिक अस्तित्वको अनुभूति पनि गरिरहेका हुन्छन् ।
‎
‎आजको नेपाली समाजमा रोजगारी, अध्ययन, व्यवसाय र अवसरको खोजीमा मानिसहरू आफ्नो जन्मथलो र परिवारबाट टाढिँदै गएका छन् । एउटै परिवारका सदस्य फरकफरक ठाउँमा बस्नुपर्ने अवस्था बढेको छ । दैनिक सम्पर्कका माध्यम सहज भए पनि भौतिक भेटघाट र आत्मीयताको स्थान प्रविधिले सधैँ लिन सक्दैन । यस्तो अवस्थामा चाडपर्वले सम्बन्धलाई फेरि नजिक ल्याउने अवसर दिन्छन् । दशैँमा घर फर्कने परम्परा, तिहारमा दाजुभाइ र दिदीबहिनीबीच हुने भेटघाट, छठमा समुदायको सामूहिक सहभागिता र माघीमा हुने पारिवारिक जमघट यसका उदाहरण हुन् । वर्षौँदेखि नभेटिएका आफन्त भेटिन्छन्, पुराना सम्झना ताजा हुन्छन् सम्बन्धले नयाँ आत्मीयता पाउँछ । 

यसरी चाडपर्वले व्यक्तिलाई उसको परिवार, समुदाय र जन्मथलोसँग जोडिराख्ने सामाजिक भूमिका निर्वाह गर्छन् । ‎संस्कृतिको निरन्तरता पनि चाडपर्वको अर्को महत्त्वपूर्ण पक्ष हो। कुनै पनि पुस्ताले आफ्नो संस्कृति केवल पढेर वा सुनेर मात्र सिक्दैन । घरपरिवार र समुदायसँगै सहभागी हुँदै, देख्दै, गर्दै र अनुभव गर्दै सिक्छ । बालबालिकाले देउसीभैलो खेल्दा, मादलको ताल सुन्दा, लाखे नाच हेर्दा, साकेला र मघौटा नाचमा सहभागी हुँदा वा जात्राका परम्परा पछ्याउँदा आफ्नो समाजको सांस्कृतिक पहिचान बुझिरहेका हुन्छन् । यस्ता अभ्यासमा मनोरञ्जन मात्र हुँदैन, पुर्खाको अनुभव, सामूहिक स्मृति र जीवनप्रतिको दृष्टिकोण पनि लुकेको हुन्छ । एउटा पुस्ताले अभ्यास गरेको कुरा अर्को पुस्ताले ग्रहण गर्छ र आफ्नै समयअनुसार त्यसलाई निरन्तरता दिन्छ । 
‎
‎हाम्रा परम्परामा प्रकृतिसँगको सम्बन्ध पनि उत्तिकै गहिरो छ । मानिसको जीवन ऋतु, कृषि, जलस्रोत, वनस्पति र पशुपन्छीसँग जोडिएको छ भन्ने कुरा विभिन्न पर्व र सांस्कृतिक अभ्यासमा अभिव्यक्त हुन्छ । छठमा सूर्य र जलप्रतिको श्रद्धा, उभौली/उधौलीमा प्रकृति र कृषि चक्रसँगको सम्बन्ध, माघी तथा माघे सङ्क्रान्तिमा ऋतु परिवर्तनसँग जोडिएका अभ्यास र तिहारमा पशुपन्छीप्रति गरिने सम्मान यसका उदाहरण हुन्। यी अभ्यासले प्रकृतिलाई मानिसको जीवनबाट अलग राखेर हेर्दैनन् । काठमाडौं उपत्यकाका नेवार समुदायका पर्व र कृषि परम्पराबीचको सम्बन्धबारे रिषिकेश पाण्डेयले गरेको अनुसन्धानमा  धार्मिक विश्वास, वर्षा, धानखेती र स्थानीय पारिस्थितिक प्रणालीबीचको अन्तरसम्बन्ध देखाएको छ । 

यसले पनि हाम्रा परम्परा धार्मिक विधिमा मात्र सीमित नभई स्थानीय जीवन, वातावरण र प्रकृतिसँग गाँसिएका सामाजिक अभ्यास पनि हुन् भन्ने देखाउछ । ‎चाडपर्वको प्रभाव सामाजिक र सांस्कृतिक जीवनमा मात्र  हुँदैन यसले त स्थानीय अर्थतन्त्रलाई पनि गति दिन्छ । पर्वका बेला बजारमा चहलपहल बढ्छ । किसानका उत्पादनले बजार पाउँछन्, फूलखेती, हस्तकला, परम्परागत पोसाक, खाद्य परिकार र पूजासामग्रीको कारोबार बढ्छ । यातायात, पर्यटन, होटल तथा अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुन्छ । यसका अतिरिक्त नियमित कामको व्यस्तताबाट केही समय अलग भएर परिवारसँग बिताउनु, सामूहिक भोजन गर्नु र मनोरञ्जनमा सहभागी हुनु मानिसको मनोवैज्ञानिक जीवनका लागि पनि आवश्यक हुन्छ । 

मानवशास्त्री बी. मेलिनोस्कीले संस्कृतिका अभ्यासले मानिसका विभिन्न आधारभूत तथा मनोवैज्ञानिक आवश्यकताहरू पूरा गर्ने विचार प्रस्तुत गरेका छन् । उनको सांस्कृतिक प्रकार्यवादको दृष्टिले हेर्दा चाडपर्वले आत्मीयता, मनोरञ्जन, सामाजिक सहभागिता र सामूहिक जीवनका आवश्यकता पूरा गरिरहेका हुन्छन् । ‎नेपाली समाजमा चाडपर्वले समाजीकरण, सामाजिक सम्बन्ध र सामूहिक जीवनलाई निरन्तरता दिन्छन । विष्णु प्रसाद दाहालको एक अध्ययनले नेपाली हिन्दू पर्वहरूलाई समाजीकरण, सामाजिक सम्बन्ध, सामूहिक मनोरञ्जन र सामाजिक व्यवस्था कायम राख्ने माध्यमका रूपमा व्याख्या गरेको छ ।

पर्वका अवसरमा हुने भेटघाट, सहभागिता र सामूहिक गतिविधिले मानिसबीचको सम्बन्ध बलियो बनाउन र सामाजिक तनाव कम गर्न योगदान पु¥याउने उनको अध्ययनको निष्कर्ष छ । यसले चाडपर्वको महत्व धार्मिक विश्वासभन्दा फराकिलो सामाजिक धरातलमा रहेको देखाउँछ । ‎यद्यपि परम्पराका सबै पक्षलाई सकारात्मक मान्न सकिँदैन । समयक्रममा कतिपय अभ्यासमा लैङ्गिक असमानता, जातीय विभेद र सामाजिक बहिष्करणका अवशेष पनि  रहेका छन् । चाडपर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र प्रतिष्ठाको प्रतिस्पर्धाले कतिपय परिवारलाई आर्थिक बोझ थपेको छ । 


त्यसैले संस्कृति जोगाउनु भनेको विगतका सबै अभ्यासलाई जस्ताको तस्तै दोहो¥याउनु होइन । मानिसको सम्मान, समानता र सामाजिक न्यायविरुद्ध रहेका अभ्यासलाई सुधार्दै जानु पनि सांस्कृतिक विकासकै हिस्सा हो । परम्पराको नाममा असमानता जोगाइराख्नु संस्कृति संरक्षण होइन । समयसँगै सोच बदलिन्छ, सामाजिक चेतना विकसित हुन्छ र त्यसअनुसार परम्पराले पनि नयाँ अर्थ ग्रहण गर्छ । संस्कृतिको जीवन्तता त्यसको निरन्तर अभ्यासमा मात्र होइन, समयअनुसार आफूलाई परिमार्जन गर्न सक्ने क्षमतामा पनि निर्भर हुन्छ ।
‎
‎हामीले कहिलेकाहीँ आफ्नै संस्कृतिको महत्त्व बुझ्न अरूको अध्ययन र दृष्टिकोण खोज्नुपर्ने अवस्था आउँछ । विदेशी अनुसन्धानकर्ताहरूले नेपाली समाजका जात्रा, गुठी, संस्कार, लोककला र सामुदायिक जीवनलाई अध्ययनका विषय बनाएका छन् । तर हाम्रो संस्कृतिको वास्तविक मूल्य अनुसन्धानका पुस्तक र अभिलेखमा मात्र सीमित छैन । त्यो त आज पनि घरआँगनमा, गाउँबस्तीमा, खेतखलियानमा, लोकगीतका भाकामा र मानिसबीचको आत्मीय व्यवहारमा जीवित छ । त्यसैले सांस्कृतिक सम्पदाको अभिलेखीकरण र संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनु आबस्यक छ ।
‎
‎चाडपर्वको अर्थ पात्रोमा केही तिथि दोहोरिनु मात्र होइन, मानिसबीचका सम्बन्ध नवीकरण हुनु र समाजले आफ्नो सांस्कृतिक निरन्तरता कायम राख्नु पनि हो । यिनले हामीलाई विगतसँग जोड्छन्, वर्तमानमा एकअर्कासँग नजिक ल्याउँछन् र भविष्यका पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्ने अवसर दिन्छन् । प्रकार्यवादले चाडपर्वको यही सामाजिक भूमिकालाई बुझ्न मद्दत गर्छ । हाम्रो संस्कृति कुनै एउटा जाति, भाषा, धर्म वा समुदायको एकल सम्पत्ति होइन । यो अनेकौँ पहिचान, विश्वास र जीवनपद्धतिको सहअस्तित्वबाट बनेको साझा विरासत हो । 

आफ्नो संस्कृतिमा गर्व गर्नु भनेको अरूको संस्कृतिभन्दा आफूलाई ठूलो ठान्नु होइन बरु आफ्नो मौलिकताको मूल्य बुझ्नु र अरूको मौलिकतालाई पनि उत्तिकै सम्मान गर्नु हो । हामीसँग गर्व गर्नका लागि इतिहासमा सुरक्षित सम्पदा मात्र छैनन, हाम्रो आफ्नै जीवनमा आज पनि अभ्यास भइरहेको जीवन्त संस्कृति छ । त्यसलाई बुझ्नु, सकारात्मक पक्षलाई जोगाउनु र समयअनुसार अझ समृद्ध बनाउँदै अर्को पुस्तालाई सुम्पनु हाम्रो साझा जिम्मेवारी हो ।

 

सम्बन्धित समाचार

Facebook Comments