• १३ कार्तिक २०८३, बिहिवार
  • २१ °C काठमाडौं
बाँसगढीमा अपाङ्गताको सवालमा क्षमता अभिबृद्धि तालिम

दलबहादुर सुनार, १२ असोज, बर्दिया । बर्दियाको बाँसगढीमा अपाङ्गता भएका व्यक्तिका सवालमा सरोकारवालाको क्षमता अभिवृद्धि गर्न एकदिने तालिम सम्पन्न भएको छ । बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रको आयोजना, बाँसगढी नगरपालिकाको समन्वय तथा सहकार्य र एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो ।

अपाङ्गता सम्बन्धी सही बुझाइ विकास गर्ने, स्थानीय तहको नीति, योजना, बजेट तथा सेवा प्रवाहलाई अपाङ्गतामैत्री बनाउने र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरोकारवालालाई जिम्मेवार तथा जवाफदेही बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । बाँसगढी नगरपालिकाका उपप्रमुख इन्दिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख खड्कबहादुर खड्काले तालिमको उद्घाटन गर्नुभएको थियो । 

उद्घाटनका क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिका लागि निर्माण गरिएका नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अपाङ्गता सम्बन्धी सकारात्मक बुझाइ र धारणा विकास गर्न तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न सके अपाङ्गता भएका व्यक्ति र अन्य नागरिकबीच विद्यमान विभेद तथा असमानताको खाडल कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

स्थानीय तहको न्यायिक समिति, अपाङ्गता समन्वय समिति तथा अन्य सरोकारवालालाई लक्षित गरी आयोजना गरिएको तालिममा डेक नेपालका परियोजना अधिकृत सत्यनारायण चौधरीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४, नियमावली, २०७७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ लगायतका नीतिगत व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।

त्यसैगरी, बर्दिया अपाङ्ग पुनस्र्थापना केन्द्रका अध्यक्ष नेत्रप्रसाद सापकोटाले अपाङ्गताको परिभाषा, प्रकृतिका आधारमा अपाङ्गताका प्रकार तथा गम्भीरताका आधारमा गरिने वर्गीकरण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । बाँसगढीस्थित इन्द्रेणी होटलमा बुधबार सम्पन्न तालिममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनप्रसाद रेग्मी, वडा नं. ५ की महिला सदस्य एवं न्यायिक समिति सदस्य धनसरा सुनार, वडा नं. २ की महिला सदस्य एवं अपाङ्गता समन्वय समिति सदस्य विमला परियार, महिला तथा बालबालिका शाखाकी निरीक्षक कमला थापा, इलाका प्रहरी कार्यालय बाँसगढीकी महिला सेलमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार कुमारी लक्ष्मी सिंह, अपाङ्गता समन्वय समितिका सदस्य तुलसी काफ्ले लगायतको सहभागिता थियो ।

तालिममा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा कार्यरत अधिकारकर्मी, अपाङ्गता सञ्जालका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो । कार्यक्रममा बाँसगढी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख यशोदा थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Facebook Comments