• ५ असोज २०८३, सोमवार
  • २० °C काठमाडौं
चोकमा जन्मिएका सिद्धान्तहरू

मुकुन्द अर्याल, ४ असोज, बर्दिया । बस्दै गर्दा हामी पाँच/छ जना भइसकेछौँ । दुकानदारी गर्ने साथीहरू त छँदै छन् । पेशाको/कामको, शिक्षाको र अरू त्यस्तै आधारमा सबैको स्थिति फरक छ । तर जब गोल गरेर गाउँघरमा जम्मा भइन्छ, सबैको स्थिति एउटै हुन्छ । साथी, छिमेकी, एउटै भावना अनि एउटै परिवेश ।

कार्कीजीले चिया मगाउनुभयो । सबैले पियौँ । यत्तिकैमा भीम दाइ आउनुभयो । अब गफमा रौनक थपिन थाल्यो । हाँस्दै थियौँ, मोलहे भाइ आए । दाइ, आज केरा खाउँ, उनले एक दर्जन केरा लिएर बस्दा–बस्दै । गहिरो जीवन दर्शनका कुरा गर्न राजेन्द्र दाइ अगाडि हुनुहुन्छ । धमला भाइ र म ह मा ह मिलाएकै छौँ । वास्तवमा समूह/चोक र विविधताबीचका विचार र छलफलहरू कुनै विश्वविद्यालयका सैद्धान्तिक कक्षाभन्दा कम हुँदैनन् । यस्तै विचारहरूलाई एउटा ढाँचामा राख्दै जाँदा निस्कने निष्कर्ष नै त सिद्धान्त हुन् । अनुभवले खारिएका र तथ्यमा आधारित विचारहरू नै अन्ततः सिद्धान्त बन्ने हुन् ।

यसो भनिरहँदा धेरै वर्ष पहिलाको एउटा घटनाको याद आउँछ । सायद २८ वर्ष पहिला हुनुपर्छ । म एडीवीको एउटा कार्यक्रमको सन्दर्भमा स्थलगत अध्ययनका लागि बाग्लुङ गएको थिएँ । भर्खर मास्टर्स डिग्री दोस्रो वर्षको परीक्षा सकिएको थियो । मेरो स्पेसलाइजेसन माक्र्सिजममा थियो । प्रा. डा. चैतन्य मिश्र हाम्रो प्राध्यापक हुनुहुन्थ्यो । मिश्र सरका विद्यार्थी हामी सैद्धान्तिक ज्ञानमा कडै थियौँ । बागलुङका दुर्गम गाउँहरूमा भर्खर मोटरबाटो र ट्रकहरू पुगेका थिए । मैले गाउँमा छलफलका क्रममा एकजना ज्येष्ठ नागरिकसँग भनेको थिएँ अब त गाउँ पनि विकसित भए, घरघरै ट्रकहरू आउन थाले, अब गाउँको मुहार फेरिन्छ ।

ती ज्येष्ठ नागरिकले बडो घतलाग्दो जवाफ दिएका थिए । उनले भनेका थिए भरिएका ट्रक आउँछन्, खाली जान्छन् । अब गाउँमा विकास होइन गरिबी आउँछ । खाली ट्रक आउने, भरिएर जाने भए मात्र गाउँको मुहार फेरिने हो । एउटा अशिक्षित व्यक्तिको यो जवाफ हामीले एक महिना काठमाडौंमा पढेको वल्र्ड सिस्टम थ्योरीको निष्कर्ष थियो । मैले यो घटना आज पनि झलझली सम्झिरहन्छु । त्यसैले पनि मलाई लाग्छ, यी सिद्धान्तहरूको आधार अनुभव, स्थानीय तथ्य, लामो प्रमाणिकता नै हुन् ।

हो, हामी सबै कुरा गर्दै थियौँ । धिताल दाइले प्रसङ्ग–प्रसङ्गमै भन्नुभयो, यो समाज मुकुन्द बाबू–चोर, फटाहा, दलाल, डाका र मङ्ग्ताहरूको इज्जत गरिने खालको भैसक्यो । तिनै अब इज्जतिला हुन् । सबै नियन्त्रण तिनकै हुन्छ । अब बच्चाहरूलाई पनि सदाचार र नैतिकता होइन, फटाही र चोरी सिकाउनुपर्ने दिन आइसके, नत्र हाम्रा सन्तान पनि तिमी/हामीजस्तै बेकामे हुन्छन् । अत्यन्तै ठूलो व्यङ्ग्य गरिरहनु भएको थियो दाइले, ती मै हुँ भन्नेहरूलाई । ती डाका मारेर समाजमा रवाफ देखाउनेहरूलाई । 

धिताल दाइले थप्नुभयो, यहाँ मै हुँ भन्नेहरू, जमिन्दार हौँ भनिनेहरू, बाटो मेरै हो भनेर हुँकार गर्नेहरू कसैले पनि आफ्नो पसिनाले ती चिज आर्जेका होइनन् । इतिहासले त्यही भन्छ । बरु ठूला र इज्जतिला त ती व्यक्ति हुन्, जसले आफ्नै मेहनतले कठ्ठा जमिन जोडेर बसे, पसिना चुहाएर परिवार पाले र गरिरहेका छन् । तर बिडम्बना, तिनै चोर, फटाहा, दलाल, डाका र मङ्ग्ताहरू समाजका इज्जतिला छन् । एउटै कारण हो, यहाँ दलालहरूलाई सम्मान दिइन्छ ।

थाहा छ मुकुन्द बाबू गरिबी भन्नु आर्थिक कारण मात्र होइन, यहाँको यो चिन्तन गरिबीको उपज हो । त्यस कारण हामी विश्व गरिबी स्तरीकरणमा तल्लो स्तरमा छौँ । दाइ बढी नै भावुक हुनुभयो यतिबेला । दाइ अचम्मका छन् । सब छ तर सामान्य छन् । नपुग्दो केही छैन तर भुइँमान्छे तिनका साथी र आत्मीय छन् । यत्तिकैमा दाइको डाक्टर छोराको फोन आयो । दाइ छोरासँग गफ गर्न अलि पर जानुभयो । हामी गफमै मस्त रह्यौँ ।

त्यहाँ भीम र मोलहे मेरा आत्मीयहरू छन् । भीम मेरा पूर्व कार्यालयका सहकर्मी हुन् । कार्यालय सहयोगीको रूपमा उहाँसँग मैले बीस वर्ष काम गरेँ सँगै । आत्मीय रूपमा । कार्यालय सहयोगी भनेर हुन्छ र ? उनका जेठा छोरा पिएचडी होल्डर हुन् । नेपाल सरकारकै नवौँ तहका कर्मचारी । माइला छोरा निजी क्षेत्रमा काम गर्छन् । कान्छो पनि नेपाल सरकारकै जागिरे । अझ भनौँ, पूरै परिवार जब होल्डर । तर, उनी एक्लै छन् । भाउजू बिरामी । अब मोलहे भाइ बोल्छ छोडो दाइ, सब बात, संसार अलग चिज है । उसको छुट्टै दर्शन छ । ऊ मेरो आत्मीय हो ।

यत्तिकैमा एउटा ठूलो आवाज दिने बाइक गयो । उसलाई देखाउँदै उसले अर्को सिद्धान्त दियो । उसले भन्यो उ भी छोडके जाइहै जानथो दाइ उका ? मैले उसलाई चिन्छु । हो, ऊ वास्तवमा अलि चेन्ज छ र एटिट्युड अलि बढेकै छ । मैले उसलाई भनेँ चुप रहो यार, हो तो गया । संसार बडा नहिहै, देखेंगे । फरक के हो ? भीम दाइ, जसले बच्चालाई संसार देखाए, आज चामल, दूध, दही, तरकारी अनि औषधि किन्न आफैँ दौड्छन् । त्यो मोलहे, जसका बच्चा पढेनन्, ती सबैका लागि उसका सन्तान दौडिन्छन् ।

खान त भएकाले पनि नभएकाले पनि त्यही नै हो नि । खाने भात, सुत्ने खाट अनि जाने घाट । अचम्मको सिद्धान्त बन्दै थियो । यत्तिकैमा भित्रबाट सकुनको फोन आयो दस बज्यो त खाने होइन आज ? घडी हेरेँ, साढे दस बजेछ । मैले भनेँ, छुट्टियौ अब । हामी सबै उठ्यौँ र लाग्यौँ । त्यो बिहान हामीले चोकमा बसेर चिया मात्र पिएका थिएनौँ । गफ गर्दै–गर्दै जीवनका धेरै कुरा छोएका थियौँ । पेशा फरक थियो, शिक्षा फरक थियो, जीवन भोगाइ फरक थियो । तर चोकमा बसेपछि ती सबै फरकहरू कतै हराएका थिए । त्यहाँ हामी केवल साथी थियौँ, छिमेकी थियौँ र एउटै परिवेशका मानिस थियौँ ।

कसैले विश्वविद्यालयमा पढेको सिद्धान्त सम्झियो, कसैले जीवनबाट सिकेको सिद्धान्त सुनायो । कसैले व्यङ्ग्यमा समाजको चित्र देखायो, कसैले आफ्नै जीवनबाट त्यसको अर्थ बुझायो । सायद त्यसैले चोकका यस्ता गफहरू पनि एउटा खुला विश्वविद्यालय हुन् । यहाँ पाठ्यक्रम हुँदैन, परीक्षा हुँदैन, प्रमाणपत्र हुँदैन । तर अनुभव हुन्छ, तथ्य हुन्छ, भोगाइ हुन्छ र त्यसबाट निस्किएको आफ्नै सिद्धान्त हुन्छ । अनि अन्त्यमा सबै सिद्धान्त आएर एउटै ठाउँमा पुग्छन् खाने भात, सुत्ने खाट अनि जाने घाट ।

सम्बन्धित समाचार

Facebook Comments