बढैयातालमा सम्पन्न पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको सार्वजनिक सुनुवाई
दलबहादुर सुनार, १० बैशाख, बढैयाताल -बर्दिया) । बढैयातालमा सम्पन्न सातौ बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ को सार्वजनिक सुनुवाई गरिएको छ । मयुर युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गरी खेल प्रतियोगितामा भएको आम्दानी र खर्चको सार्वजनिक सुनुवाई गरेको छ ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा मयुर युवा क्लबका कोषाध्यक्ष शमशेर मल्लले आम्दानी र खर्चको बारेमा जानकारी गराउनु भएको छ । उहाँका अनुसार दर्ता शुल्कबाट ७० हजार, चिट्ठ र ८ नम्बर वडा कार्यालयबाट १, लाख ७० हजार र विभिन्न व्यक्ति संघ संस्था विद्यालय, उद्योगी व्यवसायी, सामुदायिक वनबाट ३ लाख १४ हजार २ सय गरि जम्मा ५ लाख ६२ हजार २ सय आम्दानी भएको प्रतिबेदनमा मार्फत सार्वजनिक गरिएको छ ।
त्यसैगरी खर्चतर्फ पुरस्कारमा १ लाख ६१ हजार २२, स्टिकर कप १० हजार ७५० साइकल खरिद ७ हजार २ सय प्राविधिक तर्फ ५० हजार, ब्यानर छपाई ६१ हजार २५० औपचारिक कार्यक्रम उद्घाटन तथा समापनमा ७८ हजार ६१०, प्राथमिक उपचारतर्फ १० हजार, संचार प्रचारप्रसार तथा प्रत्यक्ष प्रसारण र पत्रकार सम्मेलनमा २० हजार ८ सय, विविध तयारी व्यवस्थापन पानी, मर्मत आदिमा १ लाख १५ हजार ८५ गरि जम्मा ५ लाख १५ हजार ७१७ खर्च भएको छ भने बचततर्फ ४६ हजार २८३ भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मयुर युवा क्लबको मैदान बढैयाताल ८ नयाँ बस्तीमा २०८२ चैत्र ११ गतेदेखि १८ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको आम्दानी र खर्चको सार्वजनिक सुनाई कार्यक्रम बढैयाताल गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तेजनाथ पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । मयुर युवा क्लब बढैयाताल ८ का अध्यक्ष ईश्वरबहादुर राना मगरको अध्यक्षतामा भएको सार्वजनिक सुनाई कार्यक्रममा लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष अजितराज भण्डारी, वडा सदस्य कृष्णकला सुनार सहभागी रहनु भएको थियो ।
त्यस्तै बर्दिया जिल्ला रेफ्री संघका अध्यक्ष विवेश गुरुङ, मयुर युवा क्लबका संस्थापक सचिव कृष्णबहादुर कार्की, क्लबका पदाधिकारी एवं सदस्यहरू स्थानीय नागरिक समाजका प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिति थियो । क्लबले आयोजना गरेको सार्वजनिक सुनाई एवं पत्रकार सम्मेलनमा क्लबका सचिव गोविन्द चौधरीले स्वागत एवं कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने क्लबका सदस्य शिव कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बर्दिया जिल्लाका आठ पालिकाले सहभागिता जनाएका सातौं संस्करणको बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगितामा बारबर्दिया विजेता बनेको थियो ।
२१ °C काठमाडौं
Facebook Comments