• ३० असोज २०८३, शुक्रवार
  • २१ °C काठमाडौं
अनुभुती : नुवाकोटबाट फर्केपनि मनमा उस्तै पीडा र संवेदना

मीना पराजुली, ३० असोज । विक्रम संवत् २०८३ भदौ १० गते बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले केही घण्टामै परिचित भूगोललाई अपरिचित बनाइदियो । बाढीले घर, सडक, पुल र जीविकोपार्जनका आधार मात्र बगाएन धेरै परिवारका सपना, सम्बन्ध र वर्षौंका स्मृतिसमेत उजाड बनायो । रसुवाबाट भोटेकोशीहुँदै फैलिएको बाढीले नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥यायो ।

यही मानवीय पीडासँग जोडिएर मैले नुवाकोटमा ३५ दिन बिताएँ । त्यहाँ पुग्दा प्रभावित समुदायलाई चामल, दाल, पानी, कपडा, कम्बल, औषधि तथा सरसफाइका सामग्री वितरण भइरहेको थियो । स्वयंसेवक, सुरक्षाकर्मी, स्थानीय सरकार र विभिन्न संस्थाहरू उद्धार तथा राहतमा सक्रिय थिए । तत्कालीन आवश्यकता पूरा गर्नु सबैको प्राथमिकता थियो ।

तर राहत सामग्रीको सूचीभन्दा मानिसका आवश्यकता धेरै फराकिला थिए । कसैलाई खाना र सुरक्षित बासस्थान चाहिएको थियो भने कसैलाई हराइरहेका आफन्तको खबर । कसैलाई डराएका बालबालिकाको मन बुझिदिने मानिस चाहिएको थियो भने कसैलाई आफ्नो पीडा सुनिदिने संवेदनशील मन । परिवारका एक सदस्यले रुँदै भने, मेरो घरमुनि मेरो परिवारका सात जना छन्, कृपया निकालिदिनुहोस् । उनले देखाएको ठाउँमा घरको कुनै नामोनिसान थिएन । बाढी र पहिरोले सबै बगाइसकेको थियो । उनको आवाजमा मिसिएको निराशा र आँखाबाट बगेका आँसु देख्दा म आफूलाई सम्हाल्न सकिनँ । 

मानवीय सेवामा काम गर्दा आफूलाई बलियो राख्न खोजे पनि त्यो दिन भावनालाई थाम्न सकिनँ । त्यो घटनाले मलाई महसुस गरायो कि सेवामा संलग्न व्यक्तिहरू पनि अरूको पीडा देख्दा भावनात्मक रूपमा विचलित हुन सक्छन् । त्यहाँ कुनै तथ्यांक वा सामान्य घटना थिएन, एउटा परिवार थियो, सात जना हराएका सदस्यको खोजी थियो र शब्दमा व्यक्त गर्न नसकिने पीडा थियो ।

त्रिशूली नदीको किनारमा आफ्ना सन्तान खोजिरहेका आमाबुबाको दृश्य पनि मनमा गहिरो गरी बसेको छ । कोही बालुवा चलाइरहेका थिए भने कोही नदीतिर आशा र निराशाका आँखाले हेरिरहेका थिए । नदी निरन्तर बगिरहेको थियो, समय बितिरहेको थियो । तर उनीहरूको प्रतीक्षा रोकिएको थिएन । आफ्नै सन्तानलाई नदी किनारमा खोज्नुपर्ने अभिभावकको पीडा देख्दा मनमा अनेक प्रश्न उठ्थे ।

प्रभावित समुदाय र अस्थायी आश्रयस्थलमा मानिसहरूसँग कुराकानी गर्दा उनीहरूको भित्री पीडा झन् स्पष्ट हुँदै गयो । मलाई घरको धेरै याद आउँछ बच्चा राति सुत्दैन अब हाम्रो के हुन्छ ? र उहाँ कहिले फर्किनुहुन्छ, थाहा छैन जस्ता वाक्यहरूले उनीहरूको वास्तविक अवस्था झल्काउँथे । यी पीडा राहतको विवरणमा समेटिँदैनथे । तर प्रभावित मानिसहरूको जीवनका सबैभन्दा संवेदनशील कथा यिनै थिए ।

बालबालिका र किशोरकिशोरीको अवस्था झन् संवेदनशील थियो । बाढीपछि अभिभावक वा परिवारका सदस्यबाट छुट्टिएका कतिपय बालबालिका सुरक्षित स्थानमा पुगे पनि मानसिक रूपमा असुरक्षित महसुस गरिरहेका थिए । उनीहरूको मनमा æआमा कहाँ हुनुहुन्छ ?Æ र æबुबा कहिले आउनुहुन्छ ?Æ भन्ने प्रश्न घुमिरहन्थे । विपद्ले उनीहरूको घर र सामान मात्र बगाएको थिएन, परिवारसँग जोडिएको भरोसा र सुरक्षाको अनुभूतिसमेत हल्लाइदिएको थियो ।

विपद्पछि पुनस्र्थापना गर्नु भनेको घर, सडक र पुल निर्माण गर्नु मात्र होइन । प्रभावित मानिसको मनमा हराएको आशा, विश्वास र आत्मबल फर्काउनु पनि हो । भौतिक संरचना पुनर्निर्माण गर्न सकिएला, तर गहिरो मानसिक पीडा कम हुन समय लाग्छ । विशेष गरी बालबालिकालाई पुनः सुरक्षित महसुस गराउन निरन्तर साथ, माया र मनोसामाजिक सहयोग आवश्यक हुन्छ ।

नुवाकोटबाट फर्किए पनि त्यहाँ देखेका दृश्य, सुनेका पीडादायी कथा र मानिसका आँसु अझै मनमा ताजा छन्। ती ३५ दिनले मलाई सिकाएको छ । विपद्का बेला राहत सामग्री जति आवश्यक हुन्छ, मानवीय संवेदना, सहानुभूति र साथ पनि त्यति नै महत्त्वपूर्ण हुन्छन्। प्रभावित मानिसका कुरा सुनिदिनु, उनीहरूको पीडालाई बुझ्नु र कठिन समयमा साथ दिनु पनि मानवीय सेवाको महत्त्वपूर्ण पाटो हो । नुवाकोटबाट फर्किए पनि त्यहाँको पीडा र संवेदनाबाट म अझै टाढा हुन सकेकी छैन । ती अनुभव र स्मृतिहरू मनमा कायमै छन् ।


  • प्लान नेपाल इन्टरनेशनलमा कार्यरत पराजुली अधिवक्ता समेत हुनुहुन्छ ।

सम्बन्धित समाचार

Facebook Comments