आजको युवा (जेन्जी) पुस्ताका लागि करियर काउन्सिलिङको अपरिहार्यता
राधेकृष्ण थारु, १६ कार्तिक, बाँसगढी (बर्दिया) । वर्तमान समयमा तीव्र रूपमा परिवर्तन भइरहेको सामाजिक, आर्थिक, प्रविधि तथा व्यावसायिक परिवेशमा आजको युवा अर्थात् जेन्जी पुस्ताका लागि करियर काउन्सिलिङ (Career Counseling) केवल पेशा छनोट गर्ने माध्यम मात्र नभई जीवनको स्पष्ट दिशा निर्धारण गर्ने, आर्थिक रूपमा आत्मनिर्भर बन्ने र भविष्यको सुरक्षित आधार निर्माण गर्ने महत्त्वपूर्ण प्रक्रियाका रूपमा स्थापित हुँदै गएको छ। विशेषगरी शिक्षा हासिल गरेपछि कुन क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने, आफ्नो रुचि, क्षमता र दक्षताअनुसार कस्तो व्यवसाय वा पेशा छनोट गर्ने तथा उपलब्ध अवसरलाई कसरी आयआर्जनमा रूपान्तरण गर्ने भन्ने विषयमा धेरै युवाहरू अन्योलमा रहेको पाइन्छ। यस्तो अवस्थामा करियर काउन्सिलिङले युवाहरूलाई आफ्ना व्यक्तिगत रुचि, अन्तर्निहित क्षमता, सीप, ज्ञान, स्रोतसाधन र व्यावसायिक सम्भावनाको पहिचान गर्न सहयोग पुर्याउँछ। यसले युवाहरूलाई अरूको देखासिकी वा क्षणिक आकर्षणका आधारमा नभई आफ्नो क्षमता, बजारको वास्तविक माग र भविष्यको सम्भावनालाई विश्लेषण गरेर व्यावसायिक निर्णय लिन सक्षम बनाउँछ।
करियर काउन्सिलिङ तथा व्यावसायिक अभिमुखीकरणको अर्को महत्त्वपूर्ण पक्ष युवाहरूलाई स्थानीय तथा राष्ट्रिय बजारको मागसँग जोड्नु हो। पछिल्लो समय रोजगारीका परम्परागत अवसरहरू सीमित हुँदै गइरहेका छन् भने कृषि, पशुपालन, व्यावसायिक सेवा, प्रविधि, साना तथा मझौला उद्यम र स्थानीय स्रोतमा आधारित व्यवसायहरूमा नयाँ सम्भावनाहरू सिर्जना भइरहेका छन्। तर, ती अवसरहरूको पहिचान, उपयोग र व्यावसायिक रूपान्तरण गर्न आवश्यक ज्ञान तथा जानकारीको अभावमा धेरै युवाहरू उपलब्ध सम्भावनाबाट समेत लाभ लिन सकिरहेका छैनन्। करियर काउन्सिलिङले स्थानीय बजारमा कुन वस्तु तथा सेवाको माग बढी छ, उपभोक्ताको रुचि र प्राथमिकता के छ, प्रतिस्पर्धी व्यवसायको अवस्था कस्तो छ र उपलब्ध स्रोतसाधनलाई कसरी उत्पादनमूलक कार्यमा परिचालन गर्न सकिन्छ भन्ने विषयमा व्यावहारिक जानकारी प्रदान गर्दछ। यसबाट युवाहरूले आफ्नो रुचि र क्षमतासँग मेल खाने उत्पादनमूलक तथा सेवामूलक व्यवसाय छनोट गरी स्वरोजगार र उद्यमशीलताको यात्रालाई अगाडि बढाउन सक्छन्।
त्यसैगरी, सफल उद्यम तथा व्यावसायिक जीवन निर्माणका लागि व्यवसाय छनोट गर्नु मात्र पर्याप्त हुँदैन, त्यसको सम्भाव्यता, लगानी, प्रतिफल, बजार पहुँच, प्रतिस्पर्धा र सम्भावित जोखिमको विश्लेषण गर्न सक्ने क्षमता पनि आवश्यक हुन्छ। यस सन्दर्भमा करियर काउन्सिलिङले युवाहरूलाई बजार सम्भाव्यता (Market Feasibility), व्यवसाय योजना (Business Planning), वित्तीय साक्षरता (Financial Literacy), लागत तथा नाफाको विश्लेषण र जोखिम व्यवस्थापन (Risk Management) सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। विशेषगरी ग्रामीण तथा अर्धसहरी क्षेत्रका युवाहरूका लागि कृषि, पशुपालन, तरकारी खेती, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, स्थानीय उत्पादनको प्रशोधन तथा विभिन्न सेवामूलक व्यवसायहरू आयआर्जनका सम्भावित क्षेत्र हुन सक्छन्। यस्ता व्यवसाय सञ्चालन गर्दा वातावरणमैत्री अभ्यास, जलवायु अनुकूलन तथा उत्थानशीलता (Climate Resilience), उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग र उत्पादनको गुणस्तरमा ध्यान दिनु आवश्यक हुन्छ। साथै, बजारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, उपयुक्त बजार सञ्जाल (Market Linkages) विकास गर्ने, ग्राहकको आवश्यकताअनुसार वस्तु तथा सेवा उपलब्ध गराउने र व्यवसायको अभिलेख तथा वित्तीय कारोबार व्यवस्थित गर्ने सीपले उद्यमको दीर्घकालीन दिगोपन सुनिश्चित गर्न सहयोग पुर्याउँछ ।
वर्तमान जेन्जी पुस्ताका युवाहरूमा नयाँ सोच, सिर्जनशीलता, प्रविधिप्रतिको आकर्षण, नवीनतम सम्भावनाको खोजी र स्वतन्त्र रूपमा केही गर्ने चाहना प्रबल देखिन्छ। तर, यी सकारात्मक सम्भावनालाई व्यावसायिक उपलब्धिमा रूपान्तरण गर्न सही परामर्श, व्यावहारिक सीप, अवसरको पहिचान र निरन्तर मार्गदर्शन आवश्यक हुन्छ। करियर काउन्सिलिङले युवाहरूलाई आफ्नो जीवनको अल्पकालीन तथा दीर्घकालीन लक्ष्य निर्धारण गर्न, समय र स्रोतको प्रभावकारी व्यवस्थापन गर्न, निर्णय क्षमता अभिवृद्धि गर्न तथा असफलताबाट सिकेर पुनः प्रयास गर्ने आत्मविश्वास विकास गर्न प्रेरित गर्दछ। यसका साथै, युवाहरूलाई परम्परागत रोजगारीको खोजीमा मात्र निर्भर नरही आफैँले रोजगारी सिर्जना गर्ने उद्यमशील सोचको विकास गर्न उत्प्रेरित गर्दछ। यसले व्यक्तिगत आकांक्षा र व्यावसायिक अवसरबीचको सम्बन्ध स्थापित गर्दै युवाहरूलाई आर्थिक स्वतन्त्रता, आत्मसम्मान र सामाजिक पहिचान हासिल गर्ने दिशामा अघि बढाउँछ ।
विशेषगरी युवा सशक्तीकरण तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरूमा करियर काउन्सिलिङलाई प्रारम्भिक तथा आधारभूत हस्तक्षेपका रूपमा लिनु आवश्यक छ। किनभने सही व्यवसाय छनोट नभएसम्म सीप विकास तालिम, वित्तीय सहयोग, प्रविधि हस्तान्तरण तथा अन्य उद्यम विकाससम्बन्धी सहयोगले अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुन्छ। त्यसैले युवाहरूको व्यक्तिगत रुचि, पारिवारिक आर्थिक अवस्था, सामाजिक परिवेश, उपलब्ध स्रोतसाधन र स्थानीय बजारको सम्भावनालाई एकीकृत रूपमा विश्लेषण गरी उपयुक्त करियर तथा व्यवसाय छनोटमा सहयोग पुर्याउनुपर्छ। त्यसपछि आवश्यक सीप विकास, उद्यम स्थापना, वित्तीय संस्थासँगको पहुँच, बजार सञ्जाल निर्माण, प्राविधिक परामर्श र नियमित अनुगमनलाई एकीकृत रूपमा अगाडि बढाउन सकेमा मात्र युवाहरूले आफ्नो व्यवसायलाई सफल र दिगो बनाउन सक्छन्। यस प्रक्रियाले विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, अवसरबाट वञ्चित र जोखिममा रहेका युवाहरूलाई समेत समान अवसर प्राप्त गर्ने आधार तयार गर्दछ ।
अन्ततः करियर काउन्सिलिङ आजको जेन्जी पुस्ताका लागि आफ्नो भविष्य आफैँ निर्माण गर्ने सोच, क्षमता र आत्मविश्वास विकास गर्ने महत्त्वपूर्ण माध्यम हो। यसले युवाहरूलाई केवल रोजगारी खोज्ने जनशक्तिका रूपमा सीमित नराखी रोजगारी सिर्जना गर्न सक्ने, नवीन सोच भएका, जिम्मेवार र आर्थिक रूपमा आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न सहयोग पुर्याउँछ। सही समयमा प्राप्त हुने उचित परामर्श, व्यावसायिक मार्गदर्शन र अवसरसँगको पहुँचले युवाहरूको व्यक्तिगत जीवनमा मात्र नभई उनीहरूको परिवार, समुदाय र समग्र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्छ। त्यसैले आजको आवश्यकता युवाहरूलाई के गर्ने भन्ने सल्लाह दिनु मात्र होइन, उनीहरूलाई आफूले के गर्न सक्छु, किन गर्न सक्छु र त्यसलाई सफलतामा कसरी रूपान्तरण गर्न सक्छु भन्ने विषयमा स्पष्ट दृष्टिकोण प्रदान गर्नु हो। यही अर्थमा करियर काउन्सिलिङ युवाहरूको आत्मनिर्भरता, उद्यमशीलता, वित्तीय स्वतन्त्रता र समृद्ध भविष्य निर्माणको आधारशिला हो ।
१४ °C काठमाडौं
Facebook Comments