• ८ मंसिर २०८३, सोमवार
  • २० °C काठमाडौं
राजापुरमा धान खरिद प्रक्रिया व्यवस्थित बनाइँदै, प्रतिकिसान २० क्विन्टलका दरले खरिद गरिने

केशव कोईराला, ७ मंसिर, राजापुर -बर्दिया) । बर्दियाको राजापुरमा किसानले उत्पादन गरेको धानको खरिद प्रक्रियालाई व्यवस्थित, पारदर्शी र सहज बनाउने उद्देश्यले सरोकारवालाबीच छलफल गरी विभिन्न निर्णय गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मुख्य शाखा कार्यालय राजापुरको आयोजनामा मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ का लागि राजापुर नगरपालिका क्षेत्रका किसानबाट धान खरिद गर्ने प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा छलफल गरेको हो ।

बैठकमा किसानले उत्पादन गरेको धान खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया, खरिद व्यवस्थापन, किसानलाई सहज रूपमा धान बिक्री गर्ने वातावरण निर्माण तथा खरिद कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकले प्रतिकिसान २० क्विन्टलका दरले कुल २८ हजार क्विन्टल धान खरिद गर्ने निर्णय गरेको छ । 

उक्त परिमाणभन्दा थप धान खरिद गर्नुपर्ने अवस्था आएमा केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ । यहि मंसिर ३ गते एक दिन मात्र ५ सय किसान लाई टोकन वितरण गरिने त्यस्तै, धान बिक्री गर्न आउने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस तथा चेकको फोटोकपी अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

धान खरिद प्रक्रियालाई सहज, पारदर्शी र व्यवस्थित बनाउन स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको समन्वयमा आवश्यक व्यवस्थापन गर्ने र खरिद कार्यलाई प्रभावकारी बनाउन जिम्मेवारी बाँडफाँट गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा कार्यलय प्रमुख कमलराज पाण्डे, राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, विभिन्न वडाका वडाध्यक्षहरू, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकबाट भएका निर्णयबारे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राजापुरका लेखा प्रमुख चेतमान कठायतले जानकारी दिनुभएको हो । नयाँ व्यवस्थाले किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सहज हुने तथा धान खरिद प्रक्रियामा पारदर्शिता र व्यवस्थितता कायम हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments