बाल विवाहमुक्त वडा घोषणा भएपनि लुकेर हुन्छन् बाल विवाह
लक्ष्मीप्रसाद शर्मा, ४ मंसिर, बर्दिया । बाल्यकाल पढ्ने, खेल्ने, सपना देख्ने र आफ्नो भविष्य निर्माण गर्ने उमेर हो । तर बर्दियाका कतिपय किशोर किशोरीहरुका लागि यही उमेर विवाह, पारिवारिक जिम्मेवारी, मातृत्व र सामाजिक बन्धनको सुरुवात बन्ने गरेको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट वर्षौंदेखि अभियान सञ्चालन भइरहे पनि समाजको व्यवहारमा अपेक्षित परिवर्तन आउन सकेको छैन ।
बर्दियामा बालविवाहको स्वरूप पनि परिवर्तन हुँदै गएको देखिन्छ । पहिले परिवारले नै कम उमेरमा विवाह गरिदिने प्रचलन बढी चर्चामा हुन्थ्यो भने पछिल्लो समय किशोरकिशोरीको भागी विवाह, परिवारले पछि परम्परागत रूपमा विवाह स्वीकार गर्ने र कानुनी उमेर पुगेपछि मात्र विवाह दर्ता गर्ने प्रवृत्ति पनि चुनौतीका रूपमा देखिएको छ । यसका बाबुजुत नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले बाल अधिकारको संरक्षण र बालविवाह अन्त्यको मुख्य जिम्मेवारी स्थानीय सरकारलाई सुम्पिएको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष के हो भने कतिपय ठाउँमा बालविवाहमुक्त वडा घोषणा भइसके पछि पनि लुकेर बालविवाह हुने गरेको तथ्य सार्वजनिक भएका छन् । यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ । के हामीले बालविवाह अन्त्य गरेका हौँ, कि बालविवाहका घटना तथ्याकं हटाएको हो ?बर्दियाको बालविवाह तथ्याङ्कमा हेर्दा, राष्ट्रिय जनगणना २०७८ तथा प्रकाशित स्थानीय तहगत विवरण अनुसार बर्दियामा २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिमध्ये १८ वर्षअघि विवाह गरेका व्यक्तिको अनुपात १५.६६ प्रतिशत रहेको विवरण सार्वजनिक भएको छ ।
बर्दियाको स्थानियतहमा सर्वेक्षणले देखाएको स्वरुपहरुमा २०२३ देखि २०२५ सम्म ३ बर्ष -बालविवाहको अवस्थाबारे बालविवाह व्यापकता सर्वेक्षण प्रतिवेदनले प्रस्तुत गरेको छ । उक्त सर्वेक्षण प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह -वी–ग्रुप), राधाकृष्ण थारुजनसेवा केन्द्र बर्दिया, बाँके युनेस्को क्लब र को सहकार्य बर्दियाको ८ वटा स्थानिय तह -गुलरिया, ठाकुरबाबा, मधुवन, बारबर्दिया, राजापुर, बाँसगढी नगरपालिका र बढैयाताल गेरुवा गाउपालिका) को समन्वय सहकार्यमा तयार गरिएको थियो ।
आठवटै स्थानीय तहमा सन् २०२३ देखि २०२५ सम्मको उपलब्ध तथ्याङ्क विश्लेषण गर्दा बालविवाहको अवस्था पालिकाअनुसार फरक रहेको देखिन्छ । ठाकुरबाबा, बारबर्दिया, मधुवन, बाँसगढी, गुलरिया र राजापुर नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकाको तथ्याङ्कले केही पालिकामा बालविवाहको दर घट्दै गएको भए पनि केही पालिकामा अझै बढ्दो क्रममा रहेको देखाएको छ । उपलब्ध तथ्याङ्कअनुसार गेरुवा गाउँपालिकामा बालविवाहको प्रतिशत सन् २०२३ मा २६.५८ प्रतिशत रहेकोमा सन् २०२५ मा बढेर २७.३८ प्रतिशत पुगेको छ ।
ठाकुरबाबा नगरपालिकामा २८.१५ प्रतिशतबाट घटेर २४.१६ प्रतिशत पुगेको छ । त्यसैगरी मधुवन नगरपालिकामा ३७ दशमलव १३ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेर २०.४३ प्रतिशत कायम भएको छ । बारबर्दिया नगरपालिकामा भने बालविवाहको संख्या सन् २०२३ मा २१, प्रतिशत सन् २०२४ मा २८ र सन् २०२५ मा ३२ प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी बाँसगढी नगरपालिकामा सन् २०२३ मा २३ प्रतिशत रहेको बालविवाहको दर सन् २०२४ मा घटेर १६ प्रतिशत पुगेको छ ।
बढैयाताल गाउँपालिकामा २५ प्रतिशतबाट घटेर २०२४ मा २२ प्रतिशत पुगेकोमा २०२५ मा पुनः बढेर ३०.६ प्रतिशत पुगेको छ। गुलरिया नगरपालिकामा बालविवाहको प्रतिशत क्रमशः १६, १९ र २२ प्रतिशत पुगेको देखिन्छ । राजापुर नगरपालिकामा भने सन् २०२३ को ३२ प्रतिशतबाट घटेर सन् २०२५ मा २८.१ प्रतिशत कायम भएको छ । समग्रमा हेर्दा मधुवन, ठाकुरबाबा र राजापुरमा बालविवाहको प्रतिशत घटेको देखिए पनि गेरुवा, बढैयाताल र गुलरियामा वृद्धि भएको छ । त्यसैगरि बारबर्दियामा बालविवाहको संख्या बढ्दो क्रममा रहेको छ ।
यसले जिल्लामा बालविवाह न्यूनीकरणका प्रयासलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखाउँछ । सर्वेक्षणमा बालविवाह हुनुका कारणबारे सहभागीहरूले आफ्नै इच्छाले भागेर विवाह गर्ने, गरिबी, सामाजिक परम्परा र साथीहरूको प्रभावलाई उल्लेख गरेका छन् । यसले बालविवाह रोक्न अभिभावकलाई मात्र होइन, किशोरकिशोरी स्वयंलाई पनि लक्षित कार्यक्रम गर्नुपर्ने देखाउँछ । शैक्षिक स्तरअनुसार बालविवाहको अवस्था हेर्दा सन् २०२५ को बालविवाहसम्बन्धी सर्वेक्षणअनुसार व्यक्तिको पढाइ र विवाह हुने उमेरबीच भिन्नता देखिएको छ ।
सर्वेक्षणमा निरक्षरदेखि स्नातकोत्तर तहसम्मका व्यक्तिहरूको विवाहसम्बन्धी विवरण हेर्दा ३,३५५ वटा विवाह अभिलेख भएकामा १८ वर्षभन्दा कम उमेरमा ४२० वटा र १८ देखि १९ वर्ष उमेरमा ५३७ वटा विवाह भएका छन् । आधारभूत तहसम्म पढेका व्यक्तिहरूमध्ये ८४४ जनाको विवाह अभिलेख भएकोमा ३४५ जनाको ८८.४० प्रतिशत विवाह, २० वर्ष नपुग्दै भएको छ । माध्यमिक तह पढेका व्यक्तिहरूमध्ये २,०३४ जनाको विवाह अभिलेख भएकामा ५६८ जनाको ९३.२७ प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमा भएको छ ।
त्यस्तै, निरक्षर व्यक्तिमा १७.९१ प्रतिशत र सामान्य लेखपढ गर्न जान्ने व्यक्तिमा २१.१८ प्रतिशतको विवाह २० वर्ष नपुग्दै भएको देखिन्छ । स्नातक तह पढेका व्यक्तिमा यस्तो संख्या ३.३२ प्रतिशत मात्र छ । स्नातकोत्तर वा सोभन्दा माथि पढेका सबैको विवाह २० वर्षपछि भएको देखिन्छ । यस तथ्याङ्कले कम उमेरमा विवाह हुने समस्या बढी देखिएको छ । त्यसैले बालबालिकालाई विद्यालयमा टिकाइराख्ने, अभिभावकलाई सचेत बनाउने र समुदाय तथा स्थानीय तहसँग मिलेर बालविवाह रोकथामका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
बालविवाहमुक्त घोषणा र व्यवहारबीचको दूरी स् गुलरियाका एक किशोरीले १७ वर्षको उमेरमा भागी विवाह गरी १८ वर्षमा बच्चा जन्माएको अनुभव सार्वजनिक गरेकी छन् । उनले कम उमेरमा विवाह गर्दा पढाइ, साथीभाइसँगको सम्बन्ध र स्वतन्त्रतामा परेको असरबारे पछुतो व्यक्त गरेकी छन्। बालिकाको पहिचान गोप्य राखिएको छ । यसैगरी, ठाकुरबाबा नगरपालिका कै अर्की १५ वर्षीया किशोरीले विद्यालय पढ्दापढ्दै भागी विवाह गरेपछि दुवैको पढाइ छुटेको र आर्थिक समस्याका कारण मजदुरी गर्नुपर्ने अवस्था आएको बताउछिन । यी घटना कुनै एक परिवारको व्यक्तिगत समस्या मात्र होइनन् । यसले बालविवाहले किशोरीको शिक्षा, आत्मनिर्भरता र जीवनको अवसर कसरी खोस्छ भन्ने देखाउँछन् ।
कानुन छ, कार्यान्वयनमा चुनौती देखिन्छस् नेपालको मुलुकी अपराध संहिता, २०७४ अनुसार विवाहका लागि महिला र पुरुष दुवैको उमेर २० वर्ष पूरा हुनुपर्छ । उमेर नपुगी विवाह गर्ने वा गराउने कार्य कानुनविपरीत हो । यस्तो कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । जिल्ला प्रहरि कार्यालय बर्दियाको विवरणअनुसार आर्थिक वर्ष २०८१ देखि २०८३ सम्म बालविवाह सम्बन्धी कुल ४८ वटा उजुरी निवेदन प्राप्त भएका छन् । तीमध्ये आर्थिक वर्ष २०८१ देखि २०८३ मा ५ वटा उजुरी प्राप्त भएका छन् ।
यस अवधिमा बालविवाह सम्बन्धी ३ वटा मुद्दा औपचारिक रूपमा दर्ता भएका छन् । जसमध्ये एउटा मुद्दामा प्रतिवादी पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने दुईवटा मुद्दा प्रतिवादी फरार रहेकाले अनुसन्धानकै क्रममा रहेका छन् । यसले बालविवाह कानुनी रूपमा दण्डनीय अपराध हो भन्ने देखाउँछ । तर वास्तविक चुनौती भनेको घटना हुनुअघि नै रोक्नु, पीडितलाई संरक्षण दिनु र समुदायबाट सूचना तथा उजुरी आउने वातावरण बनाउनु हो ।
बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारसँगको सहकार्यमा सस्थाहरु प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह -वी–ग्रुप), राधाकृष्ण थारुजनसेवा केन्द्र बर्दिया बाके युनेस्को क्लब, नागरिक समाज तथा विकास साझेदार संस्थाहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । विशेषगरी प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह -वी–ग्रुप), लगायतका साझेदार संस्थाले किशोरकिशोरीको नेतृत्व विकास, बालअधिकार, लैङ्गिक समानता, विद्यालयमा निरन्तरता, बाल क्लब परिचालन र समुदायस्तरीय सचेतनाका क्षेत्रमा काम गर्दै आएका छन् ।
बालविवाह व्यापकता सर्वेक्षणले समस्या पहिचान गर्न र स्थानीय तहलाई तथ्याङ्कमा आधारित योजना निर्माण गर्न सहयोग पु¥याएको छ । तर यस्ता कार्यक्रम परियोजनाको अवधिसँगै सीमित हुनु हुँदैन । स्थानीय सरकारको नियमित नीति, कार्यक्रम र बजेटमा समावेश हुनुपर्छ ।
अबको प्रयास र गर्नुपर्ने बाँकी कार्यहरू :
बालविवाह अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त छैन। यसका लागि परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र साझा प्रयास आवश्यक छ । विशेषगरी विद्यालय छाडेका तथा बालविवाहको उच्च जोखिममा रहेका किशोरकिशोरीको पहिचान गरी उनीहरूलाई पुनः शिक्षाको मूलधारमा जोड्नुपछ । अभिभावक तथा समुदायमा छोरीको विवाहभन्दा शिक्षा, सीप विकास र आत्मनिर्भरता महत्त्वपूर्ण हुन्छ भन्ने सकारात्मक सोच विकास गर्न सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ र निरन्तरता दिनुपर्छ आवश्यक छ ।
त्यसैगरी, स्पष्ट रणनीति तथा कार्ययोजना निर्माण र कार्यान्वयन गर्नुपर्छ, बाल संरक्षण, किशोरी सशक्तीकरण तथा सचेतना कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन, पालिका तथा वडा तहमा बाल अधिकार र बाल संरक्षण समितिलाई सक्रिय बनाउँदै बाल कल्याण अधिकारीको व्यवस्था, जन्मदर्ता तथा विवाह दर्तामा उमेरको यकिन गरी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, बाल क्लब, किशोरी सञ्जाल तथा युवा समूहलाई बालविवाह रोकथाम अभियानको नेतृत्वदायी भूमिकामा सहभागी गराउनुपर्छ । वडा तहमा बालविवाहको जोखिममा रहेका बालबालिकाको तथ्याकं पहिचान गरी आवश्यक परामर्श, संरक्षण तथा सहयोग उपलब्ध गराउने संयन्त्र निर्माण गर्नुपर्छ ।
बालविवाहका घटनालाई सामान्य पारिवारिक विवादका रूपमा लिएर मिलापत्रमा सीमित गर्नुको सट्टा प्रचलित कानुनअनुसार निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी कारबाही सुनिश्चित गर्नुपर्छ । प्रत्येक स्थानीय तहले बालविवाह भएका घटना, विद्यालय छाड्ने किशोरकिशोरीको अवस्था, कम उमेरमा हुने गर्भावस्था तथा समुदायको सक्रियताबाट रोकिएका बालविवाहसम्बन्धी तथ्याङ्क नियमित रूपमा संकलन र अद्यावधिक गर्नुपर्छ । तथ्याङ्कका आधारमा जोखिमयुक्त क्षेत्र पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्न सकेमा बालविवाह न्यूनीकरणका प्रयास थप प्रभावकारी बन्न सक्छन् ।
बालविवाह अन्त्यलाई कुनै एक परियोजना वा संस्थाको जिम्मेवारीका रूपमा मात्र नहेरी स्थानीय सरकारको नीति, योजना र बजेटमा प्राथमिकताका साथ समावेश गर्दै दीर्घकालीन अभियानका रूपमा अघि बढाउन आवश्यक छ । अन्तमा हामिले देखेको समाज æउमेर नपुगी विवाह होइन, उमेरअनुसार शिक्षा र अवसर दिऔँ । बालविवाह न्यूनीकरणका प्रयास नभएका होइनन् । गुलरिया नगरपालिकाका १२ वडामध्ये ११ वडा ठाकुरबाबा नगरपालिकाको वडा नं ३ र ६ मधुवन नगरपालिका वडा वडा नं ४, ६, ८ बारबर्दिया नगरपालिका २, ५, ६, ७ मा बालविवाहमुक्त वडा घोषणा भएका छन ।
विद्यालयमा सचेतनामूलक कार्यक्रम, किशोरी समूह परिचालित भएका छन् र बालविवाहका केही घटनामा कानुनी हस्तक्षेपसमेत भएको छ । तर यी प्रयासको वास्तविक उपलब्धि बालविवाहका घटना कति घटे, कति बालबालिका विद्यालयमा टिके र कति किशोरी सुरक्षित तथा आत्मनिर्भर भए भन्ने आधारमा यसको निरन्तर अनुगमन निगरानी हुनुपर्छ । बालविवाहमुक्त घोषणा गर्नु उपलब्धि हुन सक्छ, तर घोषणा नै अन्तिम लक्ष्य होइन । घोषणा भएका वडामा पनि लुकेर विवाह भइरहेको छ भने त्यसको वास्तविकता पहिचान गरि दिर्गकालिन समाधानका लागि योजना बनाउनु आवश्यक छ ।
बर्दियाका स्थानीय सरकार, राजनीतिक नेतृत्व, शिक्षक, अभिभावक, धार्मिक तथा सामाजिक अगुवा, प्रहरी, सञ्चारकर्मी र विकास साझेदार सबैले साझा प्रतिबद्धता गर्नुपर्ने समय आएको छ । आज एउटा बालिका विद्यालय छाडेर विवाह गर्न बाध्य हुन्छिन् भने भोलि समाजले एउटा शिक्षित, आत्मनिर्भर र नेतृत्व गर्न सक्ने नागरिक गुमाउँछ। त्यसैले बालविवाह रोक्नु भनेको केवल एउटा सामाजिक कुप्रथा रोक्नु होइन, एउटा पुस्ताको भविष्य जोगाउनु हो ।
स्रोतहरु :
-जिल्ला प्रहरी कार्यालय, गुलरिया, बर्दियाको आ.व. २०८१ देखि ०८३ सम्मको अभिलेख ।
-प्लान इन्टरनेशनल नेपाल र बर्दिया जिल्लाका स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिएको बालविवाहसम्बन्धी सर्वेक्षण ।
१० °C काठमाडौं
Facebook Comments