अरूका कमजोरी देखाईरहँदा आफ्नै कमजोरी स्वीकार्न कठिन
मुकुन्द अर्याल, २७ कार्तिक, बर्दिया । राम–लक्ष्मणजस्ता दाजुभाइ, भरत जस्तो भाइ, युधिष्ठिरको जस्तो दाजुको नेतृत्व, श्रवणकुमार जस्तो छोरा, रामजस्तो श्रीमान्, सीता जस्ती श्रीमती कति राम्रा आदर्श छन् हाम्रा साहित्य, दर्शन र धार्मिक आख्यानहरुमा । यस्ता पात्रहरू केवल कथाका पात्र मात्र होइनन्, मानिस कस्तो हुनुपर्छ भन्ने मान्यताका प्रतीक पनि हुन् । यी पात्रहरु कुनै ऐतिहासिक समयका वास्तविक पात्र हुन या काल्पनिक साहित्यका ? यसमा ठूलो बहस छ । कतिपय ऐतिहासिक अभिलेख/भारतबर्षको भूगोल र पुरातत्व उत्खनन आदिले यी पात्रलाई काल्पनिक पात्र नभइ वास्तविक हो भन्ने देखाउछ ।
जेहोस साहित्य नै मान्ने हो भनेपनि साहित्यले जीवनको यथार्थ मात्र देखाउँदैन, जीवन कस्तो हुनुपर्छ भन्ने दिशानिर्देश पनि गर्छ । साहित्यमा आदर्शबादको कुरागर्दा अठारौँ र उन्नाइसौँ शताब्दीमा युरोपेली दर्शन र साहित्यमा आदर्शवादले विशेष चर्चा पायो । जर्मन दर्शन र स्वच्छन्दतावादी साहित्यले नैतिकता, स्वतन्त्रता र उच्च मानवीय मूल्यलाई महत्व दिए । नेपाली साहित्यमा पनि यथार्थलाई आदर्शतर्फ उन्मुख गराउने प्रवृत्ति छ । नेपाली साहित्यमा रुद्रराज पाण्डेको रूपमती लाई आदर्शोन्मुख यथार्थवादी धाराको प्रारम्भिक कृतिका रूपमा लिइन्छ । यसरी आदर्शबाद साहित्यको विषय मात्र होइन बरु समाज र सामाजिक सम्बन्धलाई हेर्ने एउटा दृष्टिकोण पनि हो ।
हामी पनि आदर्शका कुरा खुब गर्छौँ । आफ्नो दाजु असल होस् । भाइले दाजुको सम्मान गरोस् । श्रीमान श्रीमतीबीच विश्वास र समझदारी होस् । छोराछोरी संस्कारी होऊन् । बाबुआमा जिम्मेवार होऊन् । सासु असल होऊन्, बुहारी पनि त्यस्तै होऊन् । ठिक त्यसै गरि नन्द–भाउजुबीच आत्मीयता होस्, काका–भतिजा र मामा–भान्जाबीच माया होस् । मित्रता कृष्ण र सुदामाको जस्तो होस् । यस्तो चाहना कसलाई नहोला र ? तर सुन्दा र सुनाउँदा अति राम्रो लाग्ने आदर्श हाम्रो आफ्नै व्यवहारमा चाहिँ किन सो बमोजिमको देखिँदैन होला ? मानिस आदर्श मन पराउँछ, अरूबाट आदर्श व्यवहारको अपेक्षा पनि गर्छ तर आफूले त्यही व्यवहार गर्नुपर्ने बेला किन पछि हट्छ होला ?
म आफुलाई पनि आदर्शबादी दर्शन खुबै मनपर्छ तर स्वयम् सो बमोजिम आफू किन ढालिन सक्दिन होला ? रामजस्तो दाजु खोज्नेले आफू भरतजस्तो भाइ बन्न किन नसकेको होला ? भरतजस्तो भाइ चाहनेले आफू रामजस्तो दाजु बन्न किन नसकेको होला ? श्रवण कुमार जस्तो छोरा चाहने बाबुआमाले बाबु छोरा रहदा बाबुआमाप्रति आफ्नो भूमिका कस्तो निर्वाह गरेहोला ? सीताजस्ती श्रीमतीको अपेक्षा गर्ने श्रीमान आफूले त्यस्तै विश्वास र मर्यादा कायम राखेका होलान कि नहोलान ?
रामजस्तो श्रीमान् चाहने श्रीमतीले पनि आफूले सम्बन्धमा पूरा गर्नुपर्ने जिम्मेवारी सम्झेकी होलिन कि नहोलिन ? छोरीजस्ती बुहारी चाहने सासुले बुहारीलाई साँच्चै छोरीकै जस्तो व्यवहार गरेकी होलिन कि नहोलिन ? सम्बन्धमा अपेक्षा सबैका हुन्छन् । दाजुले भाइबाट सम्मान खोज्छ, भाइले दाजुबाट माया र न्याय । बहिनीलाई दाइको साथ चाहिन्छ अनि दाइलाई बहिनीको आत्मीयता । अंशबन्डामा अन्याय नहोस् भन्ने भाइले दाजुको योगदान र जिम्मेवारी पनि सम्झनुपर्छ कि पर्दैन होला ? नन्दले भाउजुबाट सम्मान खोज्छिन, ठिक त्यस्तै भाउजुले नन्दबाट आत्मीयता खोज्ने होला कि नहोला ?
देवरले भाउजुमा आमाको जस्तो माया खोज्छन भने भाउजुले देवरमा भाइको जस्तो व्यवहार चाहानु पनि त ठिकै होला । काका–काकीले भतिजा भतिजीबाट आदर खोज्छन् भने भतिजाभतिजीले पनि काका–काकीबाट अभिभावकीय माया र सहयोगको अपेक्षा गर्नु पनि त ठिकै होला । मामा–माइजू र भान्जा भान्जीको सम्बन्धमा पनि यस्तै आत्मीयता चाहिन्छ । तर, आफ्नो अपेक्षा पूरा नभएको गुनासो गर्नुअघि आफूले अर्को पक्षलाई कस्तो व्यवहार गरिरहेका छौँ भन्ने कुरा पनि त उत्तिकै महत्वको हुन्छ होला ।
बाबुआमालाई छोराछोरीले भनेको मानून्, सम्मान गरून् र बुढेसकालमा सहारा बनून् भन्ने चाहना हुन्छ । छोराछोरीलाई पनि बाबुआमाले आफ्ना कुरा सुनून्, भावना बुझून् र स्वतन्त्रता दिऊन् भन्ने अपेक्षा हुन्छ। हिजो आफू सानो हुँदा बाबुआमाले कुरा नसुनेको गुनासो थियो । आज आफ्ना छोराछोरीले कुरा नसुन्दा चित्त दुख्छ । हिजो आफूले चाहेको स्वतन्त्रता आज आफ्ना सन्तानलाई दिन किन गाह्रो हुन्छ होला ? समयसँगै हाम्रो भूमिका फेरिन्छm । हिजो आफू बुहारी हुँदा सासुको व्यवहार चित्त बुझेन, आज सासु भएपछि बुहारीको व्यवहार चित्त बुझ्दैन । हिजो बाबुआमाले सम्पत्ति बाँड्दा विभेद गरे भनेर मन दुखेको थियो, आज आफ्नै सन्तानबीच त्यही विभेद दोहोरिन्छ भने के भन्ने ?
हिजो भाइ हुँदा दाजुले आफ्नो कुरा सुनुन् भन्ने चाहना थियो, आज मेरो जस्तै दाइको पनि भावना हुन्छ भन्ने कुरा कता हराउँछ होला ? हिजो आफन्तले अप्ठ्यारोमा साथ दिएनन् भनेर गुनासो थियो, आज आफन्तलाई अप्ठ्यारो पर्दा आफूले कति सम्झेका छौँ ? हिजो आफूले पाउन चाहेको व्यवहार आज अरूले हामीबाट अपेक्षा गरिरहेका हुन्छन् । तर आफ्नो भूमिका फेरिएको कुरा सम्झिए पनि हिजोको आफ्नो अवस्था र अपेक्षा भने हामी सजिलै बिर्सन्छौँ । सायद मानिसलाई आदर्श मन पर्नुको एउटा कारण त्यसबाट आफूले पाउने लाभ पनि हो ।
असल दाजु भए भाइलाई भरोसा हुन्छ, असल छोरा भए बाबुआमालाई बुढेसकालको सहारा । असल श्रीमान् भए श्रीमतीलाई विश्वास हुन्छ, असल बुहारी भए परिवारमा सहजता हुन्छ । असल मित्र भए अप्ठ्यारोमा साथ पाइन्छ । अरू असल भइदिए हाम्रो जीवन सहज हुन्छ । त्यसैले हामी आदर्श खोज्छौँ । तर आफूले पनि कसैको जीवन सहज बनाउने भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा आउँदा भने अनेक बहाना र परिस्थिति अघि सार्छौँ । आफूले पाउनुपर्ने कुरा अधिकार ठान्छौँ, आफूले दिनुपर्ने कुरा चाहिँ आफ्नो सुविधाअनुसार व्याख्या गर्छौँ ।
यो प्रवृत्ति घरपरिवारमा मात्र सीमित छैन । साथीले दुःखमा साथ देओस् भन्ने चाहन्छौँ, तर साथीलाई समस्या पर्दा हामीसँग समय हुँदैन । गुरु असल होऊन् भन्ने चेला आफू कति अनुशासित र जिज्ञासु छ ? चेला असल होस् भन्ने गुरु आफ्ना चेलाप्रति कति जिम्मेवार छ ? छिमेकीले अप्ठ्यारोमा सहयोग गरोस् भन्ने हामी छिमेकीलाई समस्या पर्दा कति सम्झन्छौँ ? समाजमा इमानदारी चाहिन्छ भन्ने हामी आफ्नै सानो स्वार्थका लागि कति पटक नियम र नैतिकता बिर्सन्छौँ ? अरूको अधिकारको कुरा गर्दा हामी उदार हुन्छौँ, तर आफ्नै घरभित्र अरूको अधिकार र स्वतन्त्रताको सम्मान गर्न किन गाह्रो मान्छौँ ?
कहिलेकाहीँ आदर्शको कुरा गर्ने हाम्रो शैली र व्यवहारबीच ठूलो अन्तर देखिन्छ । संस्कार र मर्यादाको कुरा गर्ने मानिस घरभित्रै अरूको अपमान गरिरहेको हुन सक्छ । त्यागको प्रशंसा गर्ने मानिस आफ्नै स्वार्थमा अलिकति पनि सम्झौता गर्न तयार नहुन सक्छ । परिवार जोडेर राख्नुपर्छ भन्ने मानिस आफैँ परिवारभित्र दूरी बढाइरहेको हुन सक्छ । अरूका कमजोरी देखाउन हामीलाई गाह्रो पर्दैन, तर आफ्नै कमजोरी स्वीकार गर्न भने अप्ठ्यारो लाग्छ । आदर्शको कुरा गर्नु सजिलो छ तर त्यसअनुसार व्यवहार गर्नुचाहिँ त्यतिकै कठिन ।
भगवद्गीताको तेस्रो अध्यायको एउटा श्लोकमा भनिएको छ –
यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।
अर्थात् श्रेष्ठ व्यक्तिले जस्तो आचरण गर्छ, अरूले पनि त्यही अनुसरण गर्छन् । उसले आफ्नो व्यवहारबाट जुन मानक स्थापित गर्छ, समाजले त्यसैलाई पछ्याउँछ । यो भनाइ नेतृत्व र सार्वजनिक जीवनमा मात्र होइन, पारिवारिक सम्बन्धमा पनि उत्तिकै सान्दर्भिक छ । बाबुआमाको व्यवहार सन्तानले सिक्छन् । दाजुभाइको व्यवहारले परिवारको संस्कार बन्छ । श्रीमान–श्रीमतीले एकअर्कालाई गर्ने व्यवहारले सन्तानको सोच र सम्बन्धप्रतिको बुझाइसमेत प्रभावित हुन्छ । त्यसैले अरूलाई आदर्शको पाठ पढाउनुभन्दा पहिले आफ्नै व्यवहार हेर्नु आवश्यक छ ।
अरस्तुले आफ्नो प्रसिद्ध कृति निकोमेचेन ईथिक्समा सद्गुण अभ्यासबाट विकसित हुने विचार प्रस्तुत गरेका छन । मानिस न्यायका कुरा गर्दैमा न्यायीक हुँदैन, न्यायपूर्ण व्यवहारको अभ्यास गरेपछि मात्र न्यायीक हुन्छ । माया, सम्मान, उदारता र संयम पनि बोलीले होइन, व्यवहारले देखिने गुण हुन् । माया गर्छु भन्नु र माया देखाउनु फरक कुरा हो । सम्मान गर्छु भन्नु र सम्मानजनक व्यवहार गर्नु फरक कुरा हो । परिवारको एकता चाहिन्छ भन्नु र त्यसका लागि आफ्नो अहंकार त्याग्नु फरक कुरा हो ।
आदर्शको अर्थ सबै मानिस राम, भरत वा श्रवणकुमार नै बन्नुपर्छ भन्ने होइन । मानिसका आफ्नै सीमा र कमजोरी हुन्छन् । सम्बन्धमा मतभेद र असमझदारी पनि हुन्छन्। सबैको अपेक्षा सधैँ पूरा हुन सम्भव छैन । तर आफूले अरूबाट चाहेको व्यवहार आफूले पनि गर्न सकिन्छ कि सकिँदैन भनेर सोच्नुचाहिँ आवश्यक छ । सम्बन्ध कुनै एकजनाको त्याग र सहनशीलताले मात्र राम्रो हुँदैन । दुवै पक्षको माया, समझदारी, सम्मान र जिम्मेवारीले मात्र सम्बन्ध बलियो हुन्छ । हामी राम, भरत, श्रवणकुमार, सीता र कृष्णका उदाहरण दिइरहन्छौँ। अरूमा त्यस्ता गुण खोज्नु पनि स्वाभाविक हो । तर कहिलेकाहीँ आफ्नै व्यवहारलाई पनि त्यही आदर्शको ऐनामा हेर्ने हो कि ।
हिजो आफूले पाउन चाहेको व्यवहार आज अरूलाई दिइरहेका छौँ कि छैनौँ ? अरूबाट आदर्श खोज्नुअघि आफू कुन सम्बन्धमा कस्तो भूमिका निर्वाह गरिरहेका छौँ भन्ने कुरा सम्झन सके आदर्शको अर्थ अझ सार्थक हुन्छ होला । आखिर हामीलाई सधैँ आफ्नो जीवनमा रामजस्तो दाजु, भरतजस्तो भाइ, श्रवणकुमार जस्तो छोरा वा कृष्णजस्तो मित्र चाहिएको हो भने त आफू पनि आफ्नो भुमिकामा त्यस्तै बन्ने प्रयत्न गर्नुपर्ने होइन र ? अन्यत्र आदर्श खोज्ने तर आफ्नो भुमिकामा आदर्श पुर्णतः बिर्सने गर्दा कसरी समाज आदर्शवान बन्ला र खै ? ॐ ।
११ °C काठमाडौं
Facebook Comments