लागुऔषधको हबबन्दै बर्दिया : सीमावर्ती क्षेत्रका युवाको भविष्य जोखिममा
लक्ष्मी प्रसाद शर्मा, १७ कार्तिक, बर्दिया । लागुऔषध दुव्र्यसन अहिले नेपालका लागि गम्भीर सामाजिक, स्वास्थ्य तथा सुरक्षा चुनौतीका रूपमा देखिएको छ । विशेषगरी भारतसँग खुला सीमा जोडिएको बर्दिया जिल्लामा लागुऔषधको ओसारपसार, कारोबार तथा प्रयोगसम्बन्धी समस्या चिन्ताजनक बन्दै गएको छ । सीमावर्ती क्षेत्रको भौगोलिक अवस्थिति, युवामा बढ्दो बेरोजगारी, गलत संगत, पारिवारिक विखण्डन, मानसिक तनाव र सहज रूपमा लागुऔषधको पहुँच हुनुले यो समस्या थप जटिल बनाएको देखिन्छ ।
कुनै समय शिक्षा, कृषि, व्यापार र सामाजिक सद्भावका लागि परिचित बर्दियाका विभिन्न बस्तीमा अहिले लागुऔषध नियन्त्रणको विषय गम्भीर बहसको विषय बनेको छ । बढैयाताल, गुलरिया, मधुवनलगायतका क्षेत्रलाई लागुऔषध नियन्त्रणका दृष्टिले विशेष संवेदनशीलताका साथ हेर्नुपर्ने अवस्था छ । लागुऔषधको समस्या केवल प्रहरीको पक्राउ र कारबाहीबाट समाधान हुने विषय होइन । यसले एउटा व्यक्तिको स्वास्थ्य, परिवारको खुसी, बालबालिकाको भविष्य र समाजको शान्तिसुरक्षासम्म प्रत्यक्ष प्रभाव पारिरहेको छ। त्यसैले यसलाई कानुनी कारबाहीसँगै जनस्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक संरक्षण र पुनःस्थापनाको दृष्टिकोणबाट पनि हेर्न आवश्यक छ ।
लुम्बिनी प्रदेशको तथ्यांकले देखाएको चुनौती :
गृह मन्त्रालयको नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ अनुसार नेपालमा अनुमानित १ लाख ३० हजार ४२५ जना लागुऔषध प्रयोगकर्ता रहेका थिए । त्यसमध्ये लुम्बिनी प्रदेशमा २५ हजार ९३० जना थिए । यो राष्ट्रिय अनुमानको झन्डै २० प्रतिशत देखिन्छ । नेपालभर कुल प्रयोगकर्ता १ लाख ३० हजार ४२५ लुम्बिनी प्रदेशका प्रयोगकर्ता २५,९३० जसमध्ये पुरुष २४,९१२ महिला १,०१८ सर्वेक्षण अनुसार रहेको देखाउँछ ।
बर्दियाको तथ्यांकले देखाएको अवस्थालाई हेर्दा :
लागुऔषधको समस्या कति गम्भीर बन्दै गएको छ भन्ने कुरा पछिल्ला सार्वजनिक तथ्यांकले पनि स्पष्ट पार्छन् । जिल्ला प्रहरि कार्यालय गुलरिया बर्दिया को तथ्यांकअनुसार आर्थिक वर्ष २०८२ र ८३ मा १७६ मुद्दामा २६२ जना पक्राउ परेका थिए, जसमा ७ महिला र २५३ पुरुष छन् । त्यसैगरी आर्थिक वर्ष २०८३ र ८४ को हालसम्म ५७ मुद्दामा ८६ जना पक्राउ परेका छन्, जसमा २ महिला र ८४ पुरुष रहेका छन् । तथ्यांक अनुसार लागुऔषध प्रयोगकर्तामध्ये २० देखि २९ वर्ष उमेर समूहको हिस्सा सबैभन्दा बढी देखिन्छ । यसले युवा पुस्तालाई लक्षित रोकथाम र सचेतना कार्यक्रमको आवश्यकता देखाउँछ ।
बर्दियामा यसको न्युनिकरणका लागि गर्नसकिने केहि महत्वपुर्ण कामहरुः
यी तथ्यांकले स्पष्ट पार्छन् कि लागुऔषध नियन्त्रणका लागि अब परम्परागत सचेतना कार्यक्रम मात्र पर्याप्त छैन । स्थानीय तहले आफ्नो क्षेत्रको वास्तविक अवस्थाको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्छ । पहिलो, विद्यालय र समुदाय केन्द्रित अभियानस् विद्यालय तहदेखि नै लागुऔषधका असर, जोखिम र रोकथामका विषयमा व्यवहारिक शिक्षा दिनुपर्छ। किशोरकिशोरी, युवा क्लब, बाल क्लब र अभिभावकलाई अभियानमा जोड्नुपर्छ ।
दोस्रो, सीमावर्ती क्षेत्रमा संयुक्त निगरानीस् नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन र भारतीय सुरक्षा निकायबीच सूचना आदानप्रदान तथा अन्य स्थानिय तथा राष्ट्रिय, अन्तराष्ट्रिय गैरसहकारी सस्थाहरु संगका समन्वयलाई प्रभावकारी बनाउनुपर्छ। विशेषगरी नेपालगञ्ज–रुपैडिहा र बर्दियाका सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणमा ध्यान दिनुपर्छ । तेस्रो, युवाका लागि अवसर सिर्जनास् बेरोजगारी र निराशालाई कम गर्न सीपमूलक तालिम, खेलकुद, उद्यमशीलता, स्वरोजगार र सामाजिक सहभागिताका कार्यक्रम विस्तार गर्नुपर्छ ।
युवालाई लागुऔषधबाट टाढा राख्ने सबैभन्दा प्रभावकारी उपायमध्ये सकारात्मक अवसर सिर्जना पनि एक हो । चौथो, उपचार र पुनःस्थापनामा स्थानीय सरकारको लगानी गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बढैयाताल गाउँपालिका र अन्य स्थानिय तथा राष्ट्रिय, अन्तराष्ट्रिय गैरसहकारी सस्थाहरुले लागुऔषध नियन्त्रण तथा पुनःस्थापनाका लागि छुट्टै कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्छ । पाँचौँ, परिवार र समाजको जिम्मेवारीस् अभिभावकले आफ्ना सन्तानको व्यवहारमा परिवर्तन देखिएमा समयमै संवाद र आवश्यक सहयोग गर्नुपर्छ। लागुऔषध प्रयोगकर्तालाई घृणा, अपमान र बहिष्कार होइन, उपचार र पुनःस्थापनाको अवसर दिनुपर्छ।
अन्तमा : युवालाई बचाउनु भनेको भविष्य बचाउनु हो । बर्दियामा सार्वजनिक भएका तथ्यांक र घटनाले एउटा गम्भीर प्रश्न खडा गरेका छन्। हामीले आफ्नो समाजका युवालाई कस्तो भविष्य दिइरहेका छौँ । के हाम्रो विकासको बहस सडक, भवन र पूर्वाधारमा मात्र सीमित हुने हो, कि युवा पुस्ताको स्वास्थ्य, सुरक्षा, शिक्षा र भविष्यलाई पनि उत्तिकै प्राथमिकता दिने ,लागुऔषधविरुद्ध स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, स्वास्थ्य संस्था, नागरिक समाज, सञ्चारमाध्यम, सामाजिक सङ्घसंस्था र अभिभावकबीच साझा अभियान आवश्यक छ ।
हामीले युवालाई केवल लागुऔषधबाट टाढा राख्ने मात्र होइन, उनीहरूलाई जीवनमा अघि बढ्ने अवसर पनि दिनुपर्छ । उनीहरूको क्षमता पहिचान गरी शिक्षा, सीप, रोजगारी, खेलकुद र उद्यमशीलतासँग जोड्नुपर्छ । लागुऔषध नियन्त्रणको सफलता कति जना पक्राउ परे भन्ने संख्याले मात्र मापन हुँदैन, कति जना युवालाई दुव्र्यसनबाट जोगाउन सकियो, कति जनाले उपचार पाए र कति जना सम्मानपूर्वक समाजमा फर्कन सके भन्ने कुराले मापन हुनुपर्छ । लागुऔषधविरुद्धको अभियानलाई प्रहरीको जिम्मेवारी मात्र नबनाऔँ । यसलाई परिवार, समाज र राष्ट्रको साझा अभियान बनाऔँ । किनकि युवा जोगिए मात्र परिवार जोगिन्छ, परिवार जोगिए मात्र समाज जोगिन्छ र समाज जोगिए मात्र राष्ट्रको भविष्य सुरक्षित हुन्छ ।
मुख्य सन्दर्भ स्रोतहरू : -गृह मन्त्रालय नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण ०८२।०८३, जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दिया ।
१६ °C काठमाडौं
Facebook Comments