• २५ कार्तिक २०८३, मङ्गलवार
  • १५ °C काठमाडौं
परम्परागत दीपावली आत्मसातगर्दै परिवर्तन पनि स्वीकार्नुपर्छ

मुकुन्द अर्याल, २३ कार्तिक, बर्दिया । कहिलेकाहीँ म पुराना दिनहरूमा हराउँछु । बाल्यकालका ती दिनहरू, गाउँघरको परिवेश, चाडपर्वको रौनक, आफन्त र साथीभाइसँग बिताएका क्षणहरू सम्झिँदा यस्तो लाग्छ मानौ  जीवनका सबैभन्दा सुन्दर पलहरू त्यहीँ छुटेका छन् । पुराना तस्बिर, कुनै परिचित ठाउँ, चाडपर्वको आगमन वा कुनै पुरानो प्रसङ्गले मलाई एकाएक विगतमा पु¥याउँछ । लाग्छ, समय केही क्षणका लागि पछाडि फर्किएको छ ।
‎
‎हिजो तिहारको संस्मरण लेख्दै गर्दा पनि म पटकपटक त्यही समयमा पुगेँ। धानका खरिहान, गोरु र राँगाले दाउने खलियान, घरआँगनको चहलपहल, देउसीभैलोको रमाइलो, माटोले पोतिएका घर  र आफन्तको जमघट। ती दृश्यहरू सम्झँदा लाग्थ्यो, म लेखिरहेको मात्र छैन, फेरि एकपटक त्यही समय बाँचिरहेको छु। कति सामान्य र रमाइला  थिए ती दिनहरू तर आज सम्झँदा कति असाधारण लाग्छन् ।
‎
‎पुराना दिन सम्झेर त्यसैमा रमाउनु, बितेका पलहरूप्रति आत्मीयता महसुस गर्नु र ती समयसँग जोडिएका मानिस तथा सम्बन्धलाई मनमा सजाएर राख्नु मानवीय स्वभाव नै हो। सायद  ल्यकतबनिष्ब यहि हो । कुनै पुरानो गीत, तस्बिर, ठाउँ वा घटनाले हामीलाई एकाएक विगतमा पु¥याउँछ। त्यसैमा  खुसी भइन्छ । कहिलेकाहीं  उदास पनि । फर्केर जान नसकिने समयप्रतिको एउटा मीठो मोह हुन्छ त्यहाँ । वास्तवमा त्यहाँ  हामी समयलाई मात्र कहाँ  सम्झिरहेका हुन्छौ र ? त्यहाँ त त्यो  समयमा बाँचेको आफ्नो जीवन र आफूलाई पनि सम्झिरहेका हुन्छौँ ।
‎
‎तर एउटा कुरा भने  छ, जीवन सधैँ स्मृतिमा मात्र कहाँ रहन्छ र  समय रोकिँदैन । परिवेश बदलिन्छ, सम्बन्धका स्वरूप फेरिन्छन्, मानिसका प्राथमिकता बदलिन्छन् र हामी आफैँ पनि हिजोजस्ता रहँदैनौँ । ‎हिजोको लेख सुकुनले पढिछन् सायद । भन्दै थिइन्, सधैँ उही पुराना कुरा, सधैँ उही पुराना स्मृतिहरू,  वर्तमानमा बाँच्नुस् न । भोलि आजको यही वर्तमान स्मृति बनेर लेख्न सक्नुहुन्छ । ‎म झसङ्ग भएँ । हो त, हिजो कहाँ फर्केर आउँछ र  सँगै त वर्तमान छ । जीवन दिने पनि त वर्तमानले नै हो । हिजो त बितिसक्यो, समयको गर्भमा विलीन भइसक्या । हामीले त्यसलाई सम्झन त सक्छौँ, तर फेरि बाँच्न सक्दैनौँ ।
‎
‎हुन पनि हामी पुरानो पुस्ताका मानिसहरूमा एउटा अनौठो रोग हुँदो रहेछ। जे थियो, हिजो पो थियो आहा, त्यो हिजो त्यतिबेलाको समय, सम्बन्ध, रमाइलो र आत्मीयता। तर अलिकति गहिरिएर सोच्छु, के मेरो यो सोचाइ सही छ ? हिजोलाई राम्रो देख्ने नाममा कतै मैले आजलाई कम आँकिरहेको त छैन ? विगतप्रतिको मोहले वर्तमानको सुन्दरता देख्नबाट रोकिरहेको त छैन ? वर्तमानलाई स्वीकार गर्न नसक्ने हो भने जीवनलाई कसरी स्वीकार गर्न सकिएला र ? ‎यसपालिको तिहारमा घरभित्रै एउटा नयाँ अनुभव भइरहेको छ । विगतका तिहारमा हामी बुढाबुढी नै सबै कामको नेतृत्व गथ्र्यौँ ।

घर सफा गर्ने, गमला मिलाउने, झालर लगाउने, परिकार बनाउने, रङ्गोली बनाउने, बजार गर्ने आदि इत्यादि । छोरीहरू हेर्थे, सिक्थे र सकेको सहयोग गर्थे । तर यसपालि परिस्थिति अलि फरक छ । यसपटक सबै कामको नेतृत्व छोरीहरूले गरिरहेका छन्, हामी सहयोगी भूमिकामा छौँ । ‎मलाई यो परिवर्तनले निकै उत्सुक बनाएको छ। अहिलेको पुस्ता हामीभन्दा धेरै कुरामा अगाडि रहेछ । उनीहरूले अत्यन्तै साना कुराभित्र पनि ठूलो सम्भावना देख्दा रहेछन् । लागत र समयको हिसाबले निकै किफायती, सिर्जनशील र प्रयोगात्मक छन् । धर्म र संस्कारप्रति पनि उनीहरूमा आफ्नै किसिमको संवेदनशीलता छ । 

म उनीहरूको काम हेरिरहेको छु । काम गर्ने तरिका, त्यसमा देखिने आकर्षण र व्यवस्थापन साँच्चै प्रभावशाली लागिरहेको छ । ‎अहिले म सानी छोरीले बनाइरहेको रङ्गोली हेरिरहेको छु । आहा Û कति सटीक, कति आकर्षक र कति कलात्मक उनी रङ्गोलीको डिजाइन तयार पार्दै छिन । म भने त्यसको विधि, धार्मिक मान्यता र तन्त्रविज्ञानका पक्षहरू युट्युबमा खोज्दै छु । आश्चर्य लाग्छ, उनले बनाइरहेको डिजाइनको बनावट, दिशा र भाव हाम्रो पूर्वीय सभ्यताको परम्परागत मान्यतासँग लगभग उस्तै मेल खाँदो छ । ‎हामी पनि रङ्गोली बनाउँथ्यौँ। तर आज छोरीले बनाइरहेको रङ्गोलीमा जुन भावभङ्गी, सौन्दर्य र सार मैले देखिरहेको छु, त्यो हाम्रो पुरानो अभ्यासमा त्यति स्पष्ट थिएन । 

म चुपचाप हेरिरहेको छु । उनको काममा परम्पराको निरन्तरता छ र त्यसलाई प्रस्तुत गर्ने आधुनिक सीप पनि । संस्कार उही छ, तर त्यसको अभिव्यक्ति अझ परिष्कृत र जीवन्त छ । ‎सायद हामी कतिपय अवस्थामा संस्कारको बाहिरी स्वरूपमा बढी रमायौँ। उनीहरू त्यसको भित्री भाव र अर्थसम्म पुग्न खोजिरहेका छन् । हिजो राम्रो र सही थियो भन्ने मेरो एकोहोरो धारणामा छोरीहरूको यो कामले एउटा सुन्दर प्रश्नचिह्न खडा गरिरहेको छ । उनीहरूले मलाई केवल रङ्गोली बनाउन सिकाइरहेका छैनन्, पुरानो कुरालाई नयाँ आँखाले हेर्न पनि सिकाइरहेका छन् ।
‎
‎सोच्दै छु, समय परिवर्तन हुनु भनेको सबै कुरा बिग्रिनु र पुरानो हुनु भनेको सबै कुरा राम्रो हुनु होइन रहेछ । हरेक पुस्ताले आफ्नो समयसँगै नयाँ अनुभव, नयाँ सीप र नयाँ सम्भावना लिएर आउँदो रहेछ । पुरानो पुस्तासँग अनुभव र परम्पराको सम्पदा हुन्छ भने नयाँ पुस्तासँग त्यसलाई अझ सुन्दर र उपयोगी बनाउने नवीन सोच छ । यी दुईबीच प्रतिस्पर्धा होइन, सहकार्य र सम्मानको सम्बन्ध हुनुपर्ने रहेछ । ‎आज छोरीहरूलाई कामको नेतृत्व गरिरहेको देख्दा एउटा अर्को कुरा पनि महसुस भइरहेको छ । हिजो हामीले उनीहरूलाई सिकाउँथ्यौँ, आज उनीहरूबाट हामी सिकिरहेका छौँ । 

हिजो उनीहरू हाम्रा पछि लाग्थे, आज हामी उनीहरूको काम हेर्दै पछि लागिरहेका छौँ । जीवनको पुस्तान्तरण सायद यही हो । हामीले उनीहरूलाई दिएको संस्कार र आत्मीयता उनीहरूले आफ्नै शैलीमा अगाडि बढाइरहेका छन् । त्यसमा हाम्रो विगत पनि छ र उनीहरूको वर्तमान पनि । ‎आज हामीले सामान्य ठानेका भेटघाट, हाँसो, पारिवारिक जमघट, साना खुसी र दैनिक जीवनका घटनाहरू कुनै दिन स्मृतिका अमूल्य पाना बन्नेछन् । आजको तिहार पनि भोलि कसैको सम्झनामा यसरी नै फर्किएर आउनेछ । आज हामीले बाँचिरहेको यही क्षण कुनै दिन लेख्ने विषय हुनेछ । त्यसैले वर्तमानलाई पनि त्यत्तिकै प्रेम गर्नु पर्दो रहेछ,जति प्रेम म बितेका दिनहरूलाई गर्छु ।
‎
‎सायद जीवनको सुन्दरता नै यही हो कि विगतलाई बिर्सनु आबस्यक छैन तर त्यसैमा अल्झिएर वर्तमान गुमाउनु पनि उपयुक्त हुदैन । पुराना सम्झनाहरू मनका  सम्पत्ति हुन । तिनले हामीलाई हाम्रो यात्रा सम्झाउँछन्, हाम्रो सम्बन्धको गहिराइ बुझाउँछन् र हामी कहाँबाट यहाँसम्म आइपुग्यौँ भन्ने अनुभूति गराउँछन् । तर फेरिपनि जीवनको यात्रा अगाडि नै बढ्ने हो । ‎म विगतमा हराउँछु, तर अब वर्तमानबाट भाग्दिन । पुराना दिनहरू सम्झिन्छु, तर आजका दिनहरूलाई पनि सम्झनलायक बनाउन चाहन्छु ।

हिजोको आत्मीयता मनमा राखेर आजको परिवर्तनलाई स्वीकार गर्न चाहन्छु । छोरीहरूले गरिरहेको काममा रमाउन, उनीहरूको सिर्जनशीलताको प्रशंसा गर्न र उनीहरूबाट सिक्न पनि चाहन्छु । ‎विगत हाम्रो स्मृति हो, वर्तमान हाम्रो यथार्थ। विगतलाई माया गर्दै वर्तमानलाई आत्मसात् गर्न सक्नु नै सायद जीवनलाई बुझ्नु हो किनकि हिजो सम्झनाका लागि हो र आज बाँच्नका लागि । आजको यही जीवन भोलि हाम्रो सुन्दर सम्झना बन्नेछ । ॐ ।

 

सम्बन्धित समाचार

Facebook Comments