आफुलाई हेर्ने अरुको आँखा
मुकुन्द अर्याल, ३ मंसिर, बर्दिया । साँच्ची, म अरू बनेर आफूलाई हेर्ने हो भने कस्तो देखिन्छु होला ? आफैँले आफूलाई हेर्दा त म भन्दा राम्रो, म भन्दा जान्ने अनि म भन्दा असल अरू त म देख्दै देख्दिनँ । मैले जत्तिको सबैले गर्ने हो भने त कति सुन्दर हुन्थ्यो होला समाज भन्ने पो लाग्छ मलाई । म आफैँले आफूलाई हेर्दा यस्तो लाग्छ तर अरू बनेर म आफैँलाई हेर्ने हो भने के साँच्चै म यस्तै देखिउला त ? कोही कसैले आफूलाई Úमै हुÚ भनिरहँदा उसलाई हेर्ने हाम्रो बाह्य दृष्टिकोण जति फरक हुन्छ । हो, ठीक त्यस्तै म आफूलाई हेर्ने अरूको दृष्टिकोण पनि त त्यत्ती नै फरक हुन्छ होला नि ? तर हामी त्यो कहिल्यै स्वीकार गर्दैनौँ ।
समाजशास्त्र र मानवशास्त्रमा कुनै व्यक्ति वा समुदायलाई बुझ्ने दुईवटा महत्वपूर्ण दृष्टिकोण छन । इमिक र इथिक दृष्टिकोण । इमिक अर्थात् आन्तरिक दृष्टिकोण जसले आफूलाई आफ्नै अनुभव, बुझाइ र मान्यताका आधारमा हेर्छ भने इथिक अर्थात् बाह्य दृष्टिकोण जसले त्यही व्यक्ति वा समुदायलाई बाहिरबाट हेर्छ र उसको व्यवहारको मूल्याङ्कन गर्छ । यी दुई दृष्टिकोणले एउटै व्यक्ति वा घटनालाई फरक/फरक ढङ्गले बुझ्दछन । मानिसलाई बुझ्ने सन्दर्भमा यी दुवै दृष्टिकोण महत्त्वपूर्ण छन् ।
मनोविज्ञानमा पनि मानिसको आत्म मूल्याङ्कनसँग सम्बन्धित केही अवधारणा छन् । आत्महित अनुकूल पक्षपातले मानिसले आफ्ना सफलता र राम्रा परिणामको श्रेय आफ्नै क्षमता, मेहनत र योग्यतालाई दिन्छ तर असफलता वा कमजोरीको दोष परिस्थिति र बाह्य कारणलाई दिने प्रवृत्तिलाई दिन्छ । त्यसैगरी ब्लाइन्ड स्पोट वियास अर्थाल आफ्नै पूर्वाग्रहप्रतिको अन्धोपनले अरू मानिसका सोच र निर्णयमा रहेका पूर्वाग्रह तथा कमजोरी सजिलै देख्ने तर आफ्नै सोच र निर्णयमा रहेका पूर्वाग्रह पहिचान गर्न नसक्ने प्रवृत्तिलाई उजागर गर्दछ । यी अवधारणाले हामी किन आफ्नै मूल्याङ्कनमा उदार र अरूको मूल्याङ्कनमा कठोर हुन्छौँ भन्ने कुरा बुझ्न मद्दत गर्दछन ।
हामीले अरूको सोचमा पक्षपात देख्छौँ तर आफ्नो सोचलाई निष्पक्ष ठान्छौँ । सायद आफूलाई बुझ्ने हाम्रो सबैभन्दा ठूलो कठिनाइ या भुल यही निर छ । हामी सबैले आफूलाई नितान्त आफ्नो दृष्टिकोणबाट बुझ्छौँ । आफ्नो निर्णयका पछाडि आफ्नै तर्कहरु दिन्छौ जुन आफुलाई ठिक लाग्छ । आफ्ना कमजोरीका पनि हामी आफै स्पष्टीकरण दिन्छौ । कसैसँग नराम्रो व्यवहार गरिएको रहेछ भने परिस्थिति त्यस्तै थियो भनिदिन्छौ । कसैको चित्त दुखेको भए उसले कुरा नबुझेर हो, मैले भन्न खोजेको त्यो थिएन भनिदिन्छौ । हामी आफूले अरुप्रति गरेको व्यवहारको एउटा स्वयम् सिर्जित कथा हामीसङ्ग रेडिमेड हुन्छ । तर त्यही व्यवहार भोग्ने अर्को व्यक्तिको अनुभूति बिल्कुल फरक हुन सक्छ ।
सामान्य ठानेको कुरा कसैका लागि पीडादायी हुन सक्छ । आफ्नो सन्दर्भमा आफुलाई लाग्ने ठिक र आफुलाई लाग्ने स्पष्टता अरुको अँखामा त्यो हाम्रो अहङ्कार हुन सक्छ । अझ रोचक त के छ भने अरूको अहम् हामीले सजिलै देख्छौ तर आफ्नो अहम् भने प्रायः देख्दैनौ । अरूले आफ्नो प्रशंसा गरिदिदा मन्त्रमुघ्न हुन्छौ/खुसी भएर सुन्छौ, आत्मविश्वासी मान्छौ आफैलाई । तर, अरू कसैले उ आफ्नै कुरा गर्यो भने घमण्डी भन्छौँ । आफूले आफैलाई त्यही गर्दा आफ्नो अडानमा दृढ रहेको ठान्छौँ । अरूको व्यवहारलाई हेर्दा हामीले अनेकौँ मापदण्ड बनाउछौ ।
तर आफ्नै व्यवहारको मूल्याङ्कन अरुले गर्दा ती मापदण्ड हामी बिर्सन्छौ । आखिर हामीले अरूलाई हेर्ने आँखाले आफू स्वयमलाई किन हेर्न सक्दैनौँ ? यसको अर्थ हामी आफूले आफू स्वयमलाई चिन्न सक्दैनौँ भन्ने होइन । आफ्ना अनुभव, भावना, उद्देश्य र परिस्थितिबारे आफूलाई जति जानकारी हुन्छ, अरूलाई नहुन सक्छ । तर स्वयम, आफूलाई चिनेको छु भन्ने विश्वासले मात्र आफ्नो पूर्ण चित्र देखाउँदैन । हामीले आफ्नो मनसाय बुझेका हुन्छौँ, अरूले हाम्रो व्यवहार भोगेका हुन्छन् । हामी आफूले के भन्न खोजेका थियौँ भन्ने जान्दछौँ, अरूले हामीले के भन्यौँ र त्यसले उनीहरूलाई कस्तो अनुभूति गरायो भन्ने अनुभव गरेका हुन्छन् । यहीँनेर आत्मबुझाइ र बाह्य मूल्याङ्कनबीचको दूरी देखिन्छ ।
कहिलेकाहीँ कसैले हाम्रो बारेमा केही टिप्पणी गर्दा हामीलाई चित्त दुख्छ । उसले मलाई बुझेन, मेरो नियत थाहा पाएन वा मेरो मूल्याङ्कन गर्ने हैसियत राख्दैन भन्ने लाग्न सक्छ । तर के हामीले उसको दृष्टिकोणबाट आफू स्वमलाई हेर्ने प्रयास कहिल्यै गरेका छौँ ? उसले देखेको म र मैले देखेको म एउटै नहुन सक्दैन र ? उसको अनुभूतिमा मेरो व्यवहारको जुन अर्थ छ, त्यो मेरो मनसायभन्दा फरक हुन सक्छ । सबै बाह्य मूल्याङ्कन सही हुन्छ भन्ने होइन तर सबैलाई गलत ठह¥याएर आफूलाई सही प्रमाणित गर्नु पनि त आत्मरक्षाको एउटा तरिका मात्र न हो ।
मानिसले आफूलाई सधैँ अरूको दृष्टिमा राखेर बाँच्नुपर्छ भन्ने पनि होइन । अरूको विचार र मूल्याङ्कनकै आधारमा आफ्नो अस्तित्व निर्धारण गर्न थालियो भने आफ्नै मौलिकता हराउन सक्छ तर आफूलाई अरूको ठाउँमा राखेर हेर्न सक्नु र अरूले आफूलाई कसरी अनुभूत गरिरहेका छन् भन्ने बुझ्न खोज्नु फरक कुरा हो। आफ्नो दृष्टिकोणप्रति आफू इमानदार हुनु जति आवश्यक छ ठिक त्यसैगरी अरूको दृष्टिकोणप्रति पनि त्यति नै खुला हुनु आवश्यक छ ।
हामी प्रत्येकको आफ्नै आँखामा आफू एउटा हुन्छ र अरूको आँखामा अर्कै । यी दुवैमध्ये कुन वास्तविक हो भन्ने प्रश्नभन्दा पनि दुवैलाई बुझ्ने प्रयास कति गरेका छौँ भन्ने प्रश्न महत्त्वपूर्ण हो । हामी आफूलाई आफ्नो दृष्टिमा उत्कृष्ट ठान्नु नराम्रो होइन, तर आफूलाई उत्कृष्ट ठान्दैमा अरूले पनि त्यस्तै ठान्नुपर्छ भन्ने अपेक्षा गर्नु उचित होइन । हामी आफूलाई जति सही ठान्छौ , आफ्ना कमजोरीलाई पनि त्यति नै इमानदारीपूर्वक स्वीकार गर्न सक्नु उत्कृष्टता हो ।
सायद आत्मबोधको सुरुवात आफूलाई सही ठान्न छोड्नुबाट होइन, आफू सधैँ सही नहुन पनि सक्छु भन्ने सम्भावनालाई स्वीकार गर्न सक्नुबाट हुन्छ । अरूको आँखामा एकपटक आफूलाई हेर्ने साहस गर्न सक्यौँ भने सायद हामीले अहिलेसम्म नदेखेको आफ्नै एउटा नयाँ अनुहार भेट्नेछौँ। आखिर आफूलाई चिन्नु भनेको ऐनामा आफ्नो अनुहार हेर्नु मात्र त होइन रहेछ, कहिलेकाहीँ अरूको आँखामा देखिएको आफ्नो प्रतिबिम्बलाई पनि नियाल्नु रहेछ ।ॐ।
२० °C काठमाडौं
Facebook Comments