सामाजिक सञ्जाल र युवा पुस्ता
वसन्त भट्ट, ६ जेठ, काठमांडौं । वर्तमान सूचना प्रविधिको युगमा सामाजिक सञ्जाल युवा पुस्ताको जीवनको अभिन्न हिस्सा बनेको छ । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, एक्स -ट्विटर) लगायतका सामाजिक सञ्जालहरूले आजको युवापुस्ताको सोच, व्यवहार, जीवनशैली र सम्बन्धहरूमा गहिरो प्रभाव पारिरहेका छन् । केही वर्षअघिसम्म केवल मनोरञ्जन र साथीभाइसँग सम्पर्क राख्ने माध्यमका रूपमा प्रयोग हुने सामाजिक सञ्जाल आज शिक्षा, व्यवसाय, सूचना आदानप्रदान, प्रतिभा प्रदर्शन र जनचेतना फैलाउने शक्तिशाली माध्यमको रूपमा विकसित भएको छ ।
सामाजिक सञ्जालको सकारात्मक पक्षलाई हेर्ने हो भने यसले युवाहरूलाई विश्वसँग जोड्ने अवसर प्रदान गरेको छ । आज गाउँमा बसेको युवाले पनि संसारभरिका नयाँ प्रविधि, शिक्षा, रोजगार, व्यवसाय तथा अनुसन्धानका विषयमा जानकारी प्राप्त गर्न सक्छ । सामाजिक सञ्जालकै माध्यमबाट धेरै युवाले आफ्नो प्रतिभा प्रदर्शन गरी पहिचान बनाएका छन् । गीत–संगीत, कला, फोटोग्राफी, लेखन, उद्यमशीलता तथा विभिन्न सिर्जनात्मक क्षेत्रमा सामाजिक सञ्जाल युवा पुस्ताका लागि महत्वपूर्ण प्लेटफर्म बनेको छ ।
त्यस्तै, सामाजिक अभियान, जनचेतना र सामाजिक उत्तरदायित्वका विषयमा पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ । प्राकृतिक विपत्ति, रक्तदान, सामाजिक सहयोग तथा अन्य मानवीय अभियानहरूमा युवाहरू सामाजिक सञ्जालमार्फत छिटो संगठित हुने गरेका छन् । यसले सामाजिक एकता र सहभागिताको भावना विकास गर्न समेत मद्दत पु¥याएको छ ।
तर सामाजिक सञ्जालका नकारात्मक प्रभावहरू पनि उत्तिकै गम्भीर छन् । अत्यधिक प्रयोगका कारण धेरै युवाहरूमा समयको दुरुपयोग, अध्ययनप्रति अरुचि, मानसिक तनाव, एक्लोपन तथा आत्मकेन्द्रित सोच बढ्दै गएको देखिन्छ । वास्तविक जीवनभन्दा आभासी दुनियाँमा बढी रमाउने प्रवृत्तिले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत दूरी सिर्जना गरिरहेको छ ।
विशेषगरी टिकटक, रिल्स तथा छोटा भिडियो सामग्रीहरूको अत्यधिक प्रयोगले युवाहरूमा तत्काल मनोरञ्जन खोज्ने बानी बढाएको छ । कतिपय अवस्थामा गलत सूचना, अफवाह, अश्लील सामग्री तथा विकृत प्रवृत्तिले युवा पुस्ताको सोच र व्यवहारमा नकारात्मक असर पारिरहेको देखिन्छ । सामाजिक सञ्जालमा देखावटी जीवनशैली प्रस्तुत गर्ने प्रवृत्तिले तुलना, हीनताबोध तथा अनावश्यक प्रतिस्पर्धा समेत बढाएको छ ।
आजको आवश्यकता सामाजिक सञ्जालको पूर्ण विरोध गर्नु होइन, यसको सही र सन्तुलित प्रयोग गर्नु हो । युवा पुस्ताले सामाजिक सञ्जाललाई ज्ञान, सीप, सूचना र सकारात्मक उद्देश्यका लागि प्रयोग गर्न सक्नुपर्छ । अभिभावक, शिक्षक तथा समाजले पनि युवालाई सचेत र जिम्मेवार प्रयोगकर्ता बनाउन मार्गदर्शन गर्न आवश्यक छ ।
सामाजिक सञ्जाल आफैंमा राम्रो वा नराम्रो होइन, यसको प्रयोग गर्ने तरिकाले त्यसको प्रभाव निर्धारण गर्छ । यदि सही रूपमा प्रयोग गरियो भने सामाजिक सञ्जाल युवा पुस्ताका लागि अवसर, सिकाइ र सफलताको माध्यम बन्न सक्छ गलत प्रयोग गरियो भने यसले समय, सोच र भविष्यलाई समेत प्रभावित गर्न सक्छ । त्यसैले सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग नै आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
२२ °C काठमाडौं
Facebook Comments