• १२ जेठ २०८३, मङ्गलवार
  • १८ °C काठमाडौं
सामाजिक विकास मन्त्री तिमिल्सिनाद्वारा लुम्विनी प्रदेश सभामा विधेयक पेश 

केशव कोईराला, १२ जेठ, बर्दिया । लुम्बिनी प्रदेश सभामा थारू समुदायका परम्परागत संरचना, संस्कार तथा सांस्कृतिक अभ्यासको संरक्षण र प्रवद्र्धन गर्न नयाँ विधेयक पेश गरिएको छ । थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकÆ नामक उक्त सरकारी विधेयक सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सभा समक्ष पेश गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि चलिआएका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा लगायतका परम्परागत व्यवस्थाको संरक्षण र पुस्तान्तरणका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक भएको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।

विधेयकमार्फत थारू समुदायका प्रथाजनित परम्परामा रहेका असल अभ्यासको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन तथा आगामी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य राखिएको छ । हालसम्म यस्ता परम्परागत अभ्यासलाई व्यवस्थित गर्ने छुट्टै विधायिकी कानुनको अभाव रहेको सन्दर्भमा प्रदेश सरकारले सरकारी विधेयकको रूपमा यसलाई अघि बढाएको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारू समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या ७ लाख ३२ हजार ०६९ अर्थात् प्रदेशको कुल जनसंख्याको १४.३ प्रतिशत रहेको तथ्यांक छ । थारू समुदाय विशेषगरी दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही तथा नवलपरासी जिल्लामा बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचार

Facebook Comments