तालिमबाट प्राप्त ज्ञान ब्यवहारमा उतार्नु पर्छ : मन्त्री तिमिल्सिना
केशव कोईराला, २ साउन, बर्दिया । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभएको छ । सरकारले लक्षित समुदायको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवद्र्धन तथा उद्यम विकासका लागि यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।
सामाजिक विकास डिभिजन कार्यालय, बाँकेको आयोजनामा मुक्त कमैया, कम्लहरी, सुकुम्बासी, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, सीमान्तकृत, पिछडावर्ग, विपन्न तथा जोखिममा रहेका समुदायका लागि सञ्चालन गरिएको ५ दिने उद्यमशीलता विकास तालिमको राजापुरमा समापनको क्रममा बोल्दै मन्त्री तिमिल्सिनाले तालिमले अवसरको ढोका खोल्ने भए पनि त्यसलाई सफल बनाउन सहभागीको मेहनत र व्यवहारिक प्रयोग आवश्यक रहेको बताउनुभयो ।
तालिममा ७४ जना सहभागी रहेका थिए । सहभागीहरूलाई उद्यम सञ्चालन, व्यवसाय योजना, वित्तीय व्यवस्थापन तथा आयआर्जनका विविध विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी तथा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी सफल उद्यमी बन्न सहभागीहरूलाई शुभकामना दिनुभयो ।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास डिभिजन कार्यालय, बाँकेका प्रमुख ऋषिराम शर्माले गर्नुभएको थियो । प्रशिक्षक राजाराम थारुले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर आयआर्जन र स्वरोजगार सिर्जनामा केन्द्रित हुन सहभागीहरूलाई आग्रह गर्नुभयो । सहभागीहरूले पनि तालिमबाट सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै उद्यम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२१ °C काठमाडौं
Facebook Comments