बढैयातालमा लागुऔषध नियन्त्रणसम्बन्धी संवादसँगै अभिमुखीकरण
दलबहादुर सुनार, २२ कार्तिक, बढैयाताल (बर्दिया) । बढैयाताल गाउँपालिका वडा नम्बर ७ ले लागुऔषध नियन्त्रणसम्बन्धी संवाद तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लागुऔषध सम्बन्धी सचेतना जगाउँदै स्थानीय सरोकारवालाहरूलाई जवाफदेही बनाउने उद्देश्यले वडा कार्यालयको आयोजनामा तथा बाँके युनेस्को क्लबको “सशक्त बालिका परियोजना” को सहकार्यमा कार्यक्रम गरिएको हो ।
हालका वर्षहरूमा लागुऔषध प्रयोग तथा ओसार–पसारका घटना तीव्ररूपमा बढ्दै गएको र त्यसमा बालबालिका तथा किशोर–किशोरी समेत संलग्न हुने अवस्थाले चिन्ता बढाएपछि, रोकथामका लागि स्थानीय तहका सरोकारवाला, युवा सञ्जाल, नागरिक समाज र सुरक्षाकर्मीबीच संवाद गरिएको वडा कार्यालयले जनाएको छ । कार्यक्रममा “सशक्त बालिका परियोजना” का संयोजक गोविन्दप्रसाद लामिछानेले बालबालिका र युवाका सवालमा नीति, कानुन तथा सहकार्यका पहलहरूको बारेमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले बालविवाह न्यूनीकरण र लागुऔषध नियन्त्रणका प्रयासहरूमा सबै पक्षको साझा प्रतिबद्धता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । “युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ, त्यसैले स्थानीय सरकारदेखि समुदायका सबै सरोकारवाला एकै दिशामा लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले लागुऔषधले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव, कानुनी दण्ड–जरिवाना र नीतिगत व्यवस्थाको जानकारी दिनुभयो ।
उहाँले लागुऔषध अपराध नियन्त्रणका लागि स्थानीय सरकार, समुदाय, प्रहरी, नागरिक समाज र युवाको संयुक्त प्रयास नै प्रभावकारी उपाय हुने बताउनुभयो । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष राधेश्याम थारूले बढैयाताल गाउँपालिका भारतसँगको खुला सिमानासँग जोडिएको भएकाले लागुऔषध नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो । “सबैको साथ र सहयोग भएमा चुनौती पार गर्न सकिन्छ,” उहाँले भन्नुभयो । बालविवाह मुक्त वडा घोषित भए तापनि बालविवाह पूर्णरूपमा नियन्त्रण गर्न कठिनाइ रहेको उल्लेखगर्दै टोल स्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा उहाँको जोडछ ।
शुक्रवार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधि, युवा सञ्जालका सदस्य, नागरिक समाजका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, महिला सञ्जाल, अभिभावक, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सचिव रणबहादुर रावतले स्वागत मन्तव्य राख्नुभएको बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर रामबहादुर थारूले जानकारी दिनुभयो ।
१९ °C काठमाडौं
Facebook Comments