विकास र सुशासनको नमुना ठाकुरबाबा नगरपालिका
दलबहादुर सुनार, १४ साउन, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका विकास, सुशासन र सेवा प्रवाहमा बर्दिया जिल्लाकै नमुनापालिका बन्न सफल भएको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्दै ठाकुरबाबा नमुना पालिका बनेको छ ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा प्रस्तावित ८७ करोड ९० लाख बजेटमध्ये ८० प्रतिशतभन्दा बढी अर्थात ७० करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै वास्तविक तर्फको खर्च ८९ दशमलव ६६ प्रतिशत पुगेको छ । भौतिक पूर्वाधारतर्फ हात्ती छेकबार, सडक, भवन, आवास, सार्वजनिक शौचालय, गौशाला, खेलमैदान, सडकबत्ती, सिंचाइ लगायतका विभिन्न आयोजनामा उल्लेख्य प्रगति भएको जनाइएको छ । ४ हजार ३०४ मिटर हात्ती छेकबार मध्ये २ हजार ३३१ मिटर, २८ दशमलव १९ किलोमिटर सडक कालोपत्रे मध्ये ६ दशमलव ५ किलोमिटर सम्पन्न भएको छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा ७७ लाख राजस्व प्रक्षेपण गरे पनि ८ करोड २५ लाख रुपैयाँभन्दा बढी संकलन गरी १ सय ७ दशमलव २६ प्रतिशत उपलब्धि हासिल गरेको छ । नदीजन्य पदार्थबाट मात्रै १६ लाख ८० हजार रुपैयाँ राजस्व असुल गरेको छ । नगर प्रमुख तिलकराम लम्सालले बजेट र विकासमा एक रुपैयाँ पनि हिनामिना नभएको स्पष्ट पार्नुभएको छ । केही सञ्चारमाध्यमबाट थारुचोक–बानु गाउँ सडकखण्डमा मापदण्ड विपरीत कालोपत्रेको विषयमा आएका समाचारप्रति ध्यानाकर्षण जनाउँदै उहाँले ७ सय मिटर सडक पुनः निर्माणका लागि साउन १० सम्मको समयसीमा तोकिएको र सर्त बमोजिन नभए सम्झौता तोड्ने चेतावनी दिनुभएको छ ।
ठाकुरबाबाले स्थानीय तह संस्थागत क्षमता मूल्यांकन (लिसा) मा ९५ दशमलव ७५ प्रतिशत ल्याएर जिल्लामै पहिलो, वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९१ प्रतिशत ल्याएर पहिलो र कार्यसम्पादन मूल्यांकनमा ६५ दशमलव ७ प्रतिशत ल्याई तेस्रो स्थान हात पारेको छ । नगर उपप्रमुख विना भट्टराईले कर्मचारीको टिम र नगर प्रमुखको नेतृत्वमा रहेको जनप्रतिनिधीको टिमको सक्रियतामा पारदर्शी रूपमा जनताले महशुस हुने खालको विकास गरेर जनताको विश्वास जित्न सफल भएको बताउनुभयो ।
२६ °C काठमाडौं
Facebook Comments