• २९ असोज २०८३, बिहिवार
  • १५ °C काठमाडौं
राजापुरमा मनाईयो ३७ औँ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस 

केशव कोईराला, २८ असोज, राजापुर (बर्दिया) । विपद् उत्थानशीलताको सुरुवात घरबाटै भन्ने मूल नाराका साथ बर्दियाको राजापुरमा ३७ औँ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस मनाइएको छ । विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायलाई सचेत र सक्षम बनाउँदै विपद् उत्थानशील समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी तथा विपद्का कारण हुने जनधनको क्षति न्यूनीकरणका उपायबारे छलफल गरिएको थियो । विपद्को जोखिम कम गर्न घरपरिवारदेखि समुदाय र स्थानीय तहसम्म सचेतना अभिवृद्धि गर्नुका साथै पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । राजापुर नगरपालिका तथा विभिन्न  संघसंस्थाहरूको कार्यक्रमा सहकार्य गरेका छन् ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय सरकार, समुदाय, सहकारी संस्था तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो । विपद् आउनुअघि नै सम्भावित जोखिमको पहिचान, आवश्यक तयारी तथा प्रतिकार्य योजनालाई व्यवस्थित बनाउन सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको छ । 

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, विभिन्न वडाका वडाध्यक्षहरू, विपद् फोकल प्रतिनिधि, सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको बताईएको छ । 

सम्बन्धित समाचार

Facebook Comments