२६ औं मुक्तकमैया दिवसमा राजापुरमा बुझाईयो ज्ञापनपत्र
केशव कोईराला, ३ साउन, राजापुर (बर्दिया) । मुक्त कमैया समाज राजापुर नगर समितिको आयोजनामा २६ औं कमैया मुक्ति दिवस शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडा अध्यक्षहरू, महिला तथा पुरुष मुक्त कमैया समुदायका अगुवाहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो ।
समारोहमा प्रमुख अतिथिका रूपमा राजापुर नगरपालिका प्रमुख दिपेश थारु सहभागी रहनु भएको थियो । विशेष अतिथिका रूपमा उपप्रमुख मनकला कुमारी चौधरी रहनुभएको थियो । कार्यक्रमको संयोजन कमैया महिला जागरण समाजले गरेको थियो । कार्यक्रमको अध्यक्षता मुक्त कमैया समाजका नगर समितिका अध्यक्ष जगत राम चौधरीले गर्नुभयो । समारोहको अवसरमा नगर प्रमुख थारु समक्ष मुक्त कमैया समाजले ज्ञापनपत्र बुझाएको छ ।
विगत २६ वर्षअघि कानुनी रूपमा मुक्त भए पनि अझैसम्म आर्थिक, सामाजिक तथा आवासीय हक–अधिकार नपाएको भन्दै तत्काल पुनःस्थापना, शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको सुनिश्चितता गर्न माग गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपेश थारुले मुक्त कमैयाहरूको अवस्था सुधार गर्न स्थानीय सरकारले प्राथमिकताका साथ योजना बनाइरहेको बताउँदै, समुदायसँग समन्वय गरेर अब व्यावहारिक रूपमा काम थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले कमैया मुक्ति दिवसलाई सम्झने मात्र नभई, उनीहरूको अधिकारका लागि सशक्त आवाज उठाउने थलोको रूपमा समेत महत्वपूर्ण योगदान दिएको सहभागीहरूको भनाइ थियो ।
२६ °C काठमाडौं
Facebook Comments