स्थानिय कार्य समितिको लागि नेतृत्व विकास तालिम
चुरेकुञ्ज, २५ असार, बर्दिया । नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशको आयोजनामा स्थानीय तहका नेतृत्वहरुका लागि नेतृत्व क्षमता विकास तालिम गरिएको छ । बाणगंगा ४, जितपुर कपिलबस्तुमा तालिम सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघका स्थानीय तहका नेतृत्वहरूलाई शिक्षण तथा नेतृत्व विकासमा कृत्रिम वुद्धिमता एआई को प्रयोग, नेतृत्व विकास, सहकारी तथा लेखा व्यवस्थापन, साँगठनिक विकास लगायतका विषयमा प्रशिक्षण दिई कक्षाकोठाको सिकाईको प्रभावकारिताका साथै पेशागत नेतृत्व विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल शिक्षक संघ लुम्विनी प्रदेशका महासचिव यज्ञ नेपालले जानकारी दिनुभयो ।
दुई दिनसम्म संचालित प्रशिक्षणमा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी शिक्षक आन्दोलन,विद्यालय शिक्षा ऐन, संघीय महासचिव ज्ञानेन्द्रबहादुर रावलले नेपाल शिक्षक संघका साँगठनिक गतिविधि, अन्तर्राष्ट्रीय प्रशिक्षक ऋषि न्यौपानेले नविनतम नेतृत्वकला सूचना प्रविधि सम्बन्धी प्रशिक्षक श्रीकृष्ण न्यौपानेले शिक्षण तथा नेतृत्व विकासमा कृत्रिम वुद्दिमता एआईको प्रयोगका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
यसैगरी नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीले शिक्षक संघ लुम्बिनी प्रदेशका असल अभ्यास एवम समस्या र चुनौतीहरु, प्रदेश महासचिव यज्ञ नेपालले लुम्बिनी प्रदेशका साँगठनिक गतिविधि, प्रदेश सदस्य कुलराज पौडेलले लेखा व्यवस्थापन, नवयुग पेशागत शिक्षक सहकारीका अध्यक्ष गोविन्द पोखरेलले सहकारी शिक्षाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षणमा लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका शिक्षक संघका स्थानीय तहका अध्यक्ष तथा प्रतिनिधिहरु, जिल्ला अध्यक्ष तथा पदाधिकारी एवम प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो । प्रशिक्षणको उद्घाटनगर्दै नेपाल शिक्षक संघ संघीय कार्य समितिका अध्यक्ष सोमनाथ गिरीले शिक्षक आन्दोलन, सरकार र शिक्षक महासंघ विचको सम्झौताको जगमा रहेर शिक्षा र शिक्षक मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागगर्दै यसका लागि शिक्षक संघले निरन्तर खबरदारी गरिरहेको जानकारी दिनुभयो ।
शिक्षक संघ लुम्विनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता भएको कार्यक्रममा संघीय कार्य समितिका महासचिव ज्ञानेन्द्रबहादुर रावल, प्रदेश उपाध्यक्ष सीता शर्मा गौतम र रमेशकुमार पाण्डे, संघका अर्घाखाँची जिल्ला अध्यक्ष शारदा भट्टराई, कपिलवस्तु जिल्ला अध्यक्ष दधिराम न्यौपाने, वुटवल उपमहानगर अध्यक्ष शिवप्रसाद अर्याल, वाणगंगा नगर अध्यक्ष रामप्रसाद भण्डारी लगायतले प्रशिक्षण कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको धारणा सहित मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको संचालन तथा संयोजन महासचिव यज्ञ नेपाल र व्यवस्थापन महासचिव अर्थ श्रृजना पण्डित र उपमहासचिव रमेश मिश्रले गर्नु भएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments