• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
युवा सञ्जाल बाँसगढीद्वारा लागुऔषध बिरुद्ध दुई स्थानमा सडक नाटक

विन्दु चौधरी, २३ असार, बाँसगढी (बर्दिया) । बाँसगढीका युवाहरूको सक्रियतामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना फैलाउने उद्देश्यले बाँसगढीको दुई स्थानमा सडक नाटक मञ्चन गरिएको छ । युवा सञ्जाल बाँसगढीको आयोजना, बाँसगढी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय मोतिपुरको समन्वय तथा बाँसगढी नगरपालिका–५ को सहयोगमा आयोजित उक्त सडक नाटक ‘लागुऔषध विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ’ भन्ने नारासहित प्रस्तुत गरिएको हो । 

सडक नाटक बाँसगढी नगरपालिका–५ अन्तर्गत मोतिपुर गाउँ र बाँसगढीको थारु गाउँ गरी दुई छुट्टाछुट्टै स्थानमा प्रर्दशन गरिएको हो । नाटकमार्फत साथी संगत र जिज्ञासाबाट सुरु भएको दुव्र्यसनले कसरी एक व्यक्तिको जीवन मात्र होइन, पूरै परिवार र समुदायलाई असर पार्दछ भन्ने विषयवस्तु उठाइएको थियो । साथै, दुव्र्यसन नियन्त्रणमा इलाका प्रहरी, वडाध्यक्ष, अभिभावक र स्थानीय समाजको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयलाई पनि गहिरो रूपमा प्रस्तुत गरिएको थियो । 

नाटकमा युवा सञ्जाल बाँसगढीका युवायुवतीहरूले जीवन्त अभिनय गरेका थिए । कार्यक्रमबारे जानकारी दिँदै युवा सञ्जालका अध्यक्ष एकनारायण अधिकारीले समुदायलाई सही सन्देश र्पुयाउने र विशेषगरी किशोर–किशोरीहरूलाई सचेत गराउने उद्देश्यले यस्तो अभियान चलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, लागुऔषधको विरुद्धमा सबै तहको समन्वयमा अघि बढ्न जरुरी रहेको सन्देश दिन नाटकमार्फत जनचेतना फैलाएका हौं । 

कार्यक्रममा बाँसगढी नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष दहवा थारु, वडा सदस्य प्रकाश बराल, इलाका प्रहरीको समेत उपस्थिति थियो । साथै नाटक हेर्न स्थानीयवासी, अभिभावक, जनप्रतिनिधि र प्रहरी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूका अनुसार यस्ता कार्यक्रमहरूले युवाहरूमा सकारात्मक सोच र व्यवहार विकास गर्न मद्दत पुग्ने बताईएको छ । आयोजकले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments