बाँसगढी वडा नम्बर ५ मा लागुऔषध बिरुद्ध सचेतना
विन्दु चौधरी, २२ असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिका वडा नम्बर ५ मा लागुऔषध र्दुव्यवसी नियन्त्रण सम्बन्धी सचेतनात्मक अन्तरक्रिया गरिएको छ । युवा सञ्जाल बाँसगढीको आयोजना, इलाका प्रहरी कार्यालय मोतिपुर र बाँसगढी उद्योग वाणिज्य संघको समन्वय तथा वडा नं ५ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रहरी सहायक निरीक्षक अमृत कुमार कठायतले सहजीकरण गर्दै लागुऔषध सम्बन्धी विभिन्न तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँका अनुसार ७८ प्रतिशत व्यक्ति साथी संगतिका कारण, ५९ प्रतिशत कौतुहलता र उत्सुकताका कारण तथा १९ प्रतिशत पारिवारिक समस्याका कारण लागुऔषध दुव्र्यसनमा फस्ने गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले युवा, बरघर, टोल विकास संस्था र स्थानीय तहका जनप्रतिनिधिहरूको भूमिकालाई प्रभावकारी बनाउँदै लागुऔषध नियन्त्रणका लागि वार्षिक रणनीतिक योजना निर्माणको खाका तयार गर्न लगाउनु भएको थियो । सो रणनीतिक तथा कार्ययोजना वडा नं ५ का वडाध्यक्ष दहवा थारुलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रस्तुत रणनीतिक कार्ययोजनामा विद्यालय र समुदायस्तरमा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, रेडियो तथा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्ने, चोक–चोकमा सूचना टाँस्ने, तथा लागुऔषध सेवनका सामग्री बिक्री वितरणमा प्रतिबन्ध लगाउने लगायतका महत्वपूर्ण विषय समेटिएका छन् ।
त्यस्तै, युवाहरूको संलग्नतामा टोलस्तरमा अभियान सञ्चालन गर्ने, विद्यालयको पाठ्यक्रममा लागुऔषध सम्बन्धी शिक्षा समावेश गर्न पहल गर्ने, जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने, खेलकुद, कला, गायन, नृत्य जस्ता रचनात्मक कार्यक्रममार्फत युवालाई सक्रिय बनाउने र पुनःस्थापना केन्द्रको व्यवस्था गर्ने जस्ता उपायहरू रणनीतिक योजनामा समावेश गरिएको छ ।
कार्यक्रममा बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बराल, वडा सचिव टिकाराम ढकाल, वडा सदस्य प्रकाश बराल, मनिता चौधरी, युवा, बरघर तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । करिब ६० जना सहभागी रहेको कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा ठोस प्रभाव पार्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन युवा सञ्जाल बाँसगढीका सदस्य राज चौधरीले गर्नुभएको थियो ।
२६ °C काठमाडौं
Facebook Comments