• ९ वैशाख २०८३, बुधवार
  • २६ °C काठमाडौं
बाँसगढीका कर्मचारी एवम् शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा

विन्दु चौधरी, २० असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरूलाई आगामी साउन १ गते देखि लागू हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । बाँसगढी नगर प्रमुख खड्क बहादुर खड्काको अध्यक्षतामा आयोजित एक कार्यक्रममा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष डाक्टर कृष्णहरि पुस्कर प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो । 

कार्यक्रममा मन्त्रालयका उपसचिव हुमनाथ पराजुलीले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको उद्देश्य, लाभ र सेवा सुविधा बारे विस्तृत जानकारी गराउनुभयो । उहाँका अनुसार कोषमा आबद्ध भएपछि कर्मचारीहरूले पेन्सन, मातृत्व सुविधा, स्वास्थ्य बीमा, दीर्घकालीन बिरामी बिदा, अपांगता तथा मृत्युपछि आश्रितलाई सुविधा लगायतका सेवा प्राप्त गर्नेछन् । बाँसगढी नगर प्रमुख खड्काले कर्मचारीहरूको सामाजिक सुरक्षामा गहिरो चाँसो राख्दै बाँसगढी नगरपालिकाले सबै कर्मचारीको दीर्घकालीन हित र सुरक्षित भविष्यका लागि कोषमा आबद्ध गराएको बताउनुभयो । 

उहाँले सामाजिक सुरक्षालाई सुशासनको आधार मान्दै यसलाई संस्थागत रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि पुस्करले सामाजिक सुरक्षा प्रणालीले औपचारिक क्षेत्रका कामदारको जीवनस्तरमा सुधार ल्याउने बताउनुभयो । उहाँले बाँसगढी नगरपालिकाको पहललाई उदाहरणीय भन्दै अन्य स्थानीय तहलाई पनि यस्तो अभ्यासबाट प्रेरित हुन आह्वान गर्नुभयो । कार्यक्रममा नगरका शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा अन्य कर्मचारीको उल्लेखनीय सहभागिता थियो ।

सम्बन्धित समाचार

Facebook Comments