भूमि समस्या समाधान आयोगको जग्गा नाँपजाँचसँगै छलफलमा तिव्रता
केशव कोईराला, ९ जेठ, राजापुर (बर्दिया) । भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठौर तथा आयोगका विज्ञ सदस्य रामकृष्ण चौधरीसँग राजापुर नगरपालिकामा भूमि सम्बन्धी कार्यलाई छिटो र प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा विशेष छलफल गरिएको छ । छलफलमा आयोगका पदाधिकारीहरू र राजापुर नगरपालिकाका पुर्ब मेयर शिव प्रसाद थारु, पुर्व ५ नम्वर वडाअध्यक्ष रामवहादुर, ६ नम्वर वडाअध्यक्ष महेश चौधरी ७ का वडा अध्यक्ष मथूरा प्रसाद थारु एबम कांग्रेस र एमाले पार्टीका प्रतिनिधिहरु सहभागी थिए ।
छलफलका क्रममा भूमि अभिलेख व्यवस्थापन, जग्गा धनी प्रमाण पुर्जा वितरण, नापजाँच प्रक्रिया, अव्यवस्थित बसोबासको व्यवस्थापन लगायतका विषयहरूमा विस्तृत चर्चा भएको थियो । अध्यक्ष राठौरले आयोगले भूमि समस्या समाधान गर्न प्रतिबद्ध रहेको र आयोगको कार्ययोजना अनुसार सम्बन्धित निकायको सहकार्यमा कामलाई तीव्रता दिइने भन्दै राजापुर नगरपालिका समन्वयका निम्ति बैठकमा नआएको गुनासो गर्नुभयो । विज्ञ सदस्य चौधरीले स्थानीय तहसँगको सहकार्य अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाले आवश्यक प्राविधिक तथा प्रशासनिक सहयोग उपलब्ध गराएमा आयोगले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राजनीतिक दलका प्रमुख प्रतिनिधिहरूले पनि आयोगलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, नगरवासीहरूलाई छिटो र पारदर्शी सेवा उपलब्ध गराउने दिशामा आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । उक्त छलफलले भूमि समस्या समाधानमा स्थानीय र संघीय तहको समन्वय आवश्यक रहेको कुरा उठेको छ । बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं. ६ स्थित सोनाहफाटा क्षेत्रका भूमिहीन सुकुम्बासीहरूको लागि जग्गा पुर्जा वितरणको तयारी स्वरूप जग्गा नापजाँच कार्य औपचारिक रूपमा सुरु गरिएको छ । नापजाँच कार्यको शुभारम्भ गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठौर, आयोगका विज्ञ सदस्यहरू, वडा अध्यक्ष, वडा सदस्य, प्रमुख नापी टोली तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा गरिएको हो ।
तत्कालीन भूमि आयोग विघटनपछि स्थगित रहेको नापजाँच कार्य नयाँ भूमि समस्या समाधान आयोग गठनसँगै पुनः संचालनमा आएको हो । आयोगको समन्वयमा बाँकी रहेका जग्गाको नापजाँच प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाइएको छ । सोनाहफाटा क्षेत्रबाट सुरु गरिएको यो कार्य क्रमशः अन्य स्थान र वडाहरूमा पनि विस्तार गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ । यस अभियानले लामो समयदेखि भूमि अधिकारविहीन अवस्थामा रहेका सुकुम्बासी नागरिकहरूलाई कानूनी रूपमा जग्गाको मालिक बनाउने दिशा तर्फ ठूलो कदम हुने विश्वास गरिएको छ । स्थानीय सरकार र भूमि आयोगको सहकार्यमा अघि बढाइएको यस अभियानले सामाजिक न्याय तथा समावेशी विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
२२ °C काठमाडौं
Facebook Comments