• ९ वैशाख २०८३, बुधवार
  • २० °C काठमाडौं
बर्दियामा ठुलो परिमाणमा लागुऔषध अफिमसहित २ जना पक्राउ

विष्णु अधिकारी, २२ बैशाख, बर्दिया । पछिल्लो समय बर्दिया जिल्लामा लागु औषध सेवन कर्ताहरुको संख्या बढदै गइरहेको समयमा बर्दिया प्रहरीले ठुलो परिमाणमा लागु औषध नियन्त्रणमा लिन सफल भएको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नंं १ चेपाङ्ग स्थित प्रहरी चौकिबाट खटिएका प्रहरीको गस्ती टोलीले २१ किलो ५६७ ग्राम लागु पदार्थ अफिम सहित २ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

बाँसगढी नगरपालिका वडा नं. १ चेपाङ्ग स्थित रत्नराजमार्ग सडक खण्डमा खटिएको प्रहरी चेकजाँचको क्रममा जाजरकोट देखि नेपालगंज तर्फ लु. ८० प १४६७ नम्बरको मोटर साईकलमा आउदै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नंं ७ बस्ने बर्ष ३७ का भक्त बहादुर शाही र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ११ आरपानी बस्ने बर्ष २७ का कुमार बाइबालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक डमरपालले बताएका छन् । 

नियन्त्रणमा लिएका ब्यक्तिहरुले जेब्रा झोला चेकजाँचका क्रममा झोला भित्र प्लास्टिकका २२ वटा पोका बनाई लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा पक्राउ परेका हुन । पक्राउ परेका ब्यक्तिहरुलाई अफिम र मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिई इलाका प्रहरी कार्यालय बाँसगढीमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए । लागुऔषध (नियन्त्रण) ऐन २०३३ को परिच्छेद–३ को दफा ६४ को उप–दफा १ को (६) (३) बमोजिम दण्ड सजायको ब्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

Facebook Comments