• १० वैशाख २०८३, बिहिवार
  • २० °C काठमाडौं
सवारी दुर्घटना पश्चात व्यस्थापनका लागि नमूना अभ्यास

विष्णु अधिकारी, २० असोज, बर्दिया । नेपाल सवारी दुर्घटनाको दृष्टिकोणले संकटासन्न मुलुकमा पर्छ । बर्षेनी सडक दुर्घटनाका कारण धेरै धनजनको क्षति समेत हुने गरेको छ । यसै विषयमा आधारित रहेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर गुलरियाको नेतृत्वमा स्थानीय ब्यक्ति, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीले कसरी छिटो भन्दा छिटो उद्दार कार्यमा खट्न सकिन्छ भन्ने उद्देश्यले गुलरिया नगरपालिका वडा नं. ८ पशुहाट बजार जब्दहवामा नमूना अभ्यास गरिएको छ । 

बर्दियामा सडक दुर्घटनामा गत बर्षको तथ्याङ्क हेर्दा ७५ वटा सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । दुर्घटनामा परि २६ जनाले ज्यान गुमाएका थिए भने ९९ जना घाईते भएका थिए । यसै आर्थिक बर्षको साउन र भदौ २ महिनाको तथ्याङ्कले ४ वटा सवारी साधन दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् भने ३ जना घाइते भएको बर्दिया ट्राफिकको अभिलेख छ । बर्दिया तराइका जिल्लाहरु मध्ये गर्मिमा अत्यधिक गर्मि र चिसोमा अत्यधिक चिसो हुने भएका कारण काम छिटो छरितो गर्नका लागि सवारी साधनको प्रयोगमा वृद्धि भइरहेको छ । सवारी दुर्घटना आफ्ना कारणले मात्र घट्दैन अरुका कारणले पनि घट्ने भएको हुँदा सवारी साधन चलाउदा सावधानी पूर्वक चलाउनलाई पनि घट्ना अभ्यासले सहज बनाउने विस्वास लिईएको छ । 

नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनको जिम्मेवारी दिएका कारण स्थापना काल देखि नै विपद् व्यवस्थापन क्षेत्रमा काम गरिरहेका कारण लामो अनुभव बोकेको छ । पूर्व जानकारी विना आउने दुर्घटनाले पु¥याउने क्षतिको आकलन नहुने भएकाले दुर्घटना पश्चात उद्धारमा कसरी सहभागि हुने र पेशागत दक्षतालाई समयानुकुल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यास भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले गाडीमा यात्रा गर्ने यात्रुको जिवन ड्राइभरको हातमा हुने भएकाले मादक पदार्थ तथा तनाव व्यवस्थापन गरि चालकले गाडी चलाएमा दुर्घटनाबाट हुने क्षति न्युनिकरणमा सघाउ पुग्ने कुरामा जोड दिनु भएको छ । 

समन्वय प्रमुख विष्टले सुरक्षाकर्मीहरु विपद् व्यवस्थापनमा तथा जोखिम न्युनिकरण गर्न सक्षम हुदै गएकोमा खुशी व्यक्त गर्नुभएको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले चाडबाडको समयमा सडकमा सवारीको चाप बढ्ने भएकाले दुर्घटना हुनसक्ने विषयलाई आकलन गरेर सुरक्षाकर्मी र स्थानीयहरुले दुर्घटनामा कसरी मानवीय क्षति कम गराउन सकिन्छ भनेर जस्ताको त्यस्तै घटना उजागर गरेर जनचेतना फैलाउने काम गरेकोमा धन्यवाद दिनुभएको छ । नगर प्रमुख यादवले दुर्घटना हुने प्रमुख कारणमा चालकको लापवाही र सडकको दुरा अवस्था नै मुख्यकारक भएकाले सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभाएमा दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताउनु भयो । 

घटना अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले घटना अभ्यासका क्रममा देखिएको सिप र कौशलताको प्रशंसा गर्दै घटना प्रतिकार्य अभ्यासले सबै जिम्मेवार निकायको जिम्मेवारी स्पष्ट गर्न मद्दत पुगेकोमा जोड दिनु भएको छ । उहाँले बास्तविक घटना घट्यो भने कसरी समन्वय, संचार र उद्दार गर्न कसरी जुट्ने कुरा घटना अभ्यासले देखाएको बताउनु भयो । सडक दुर्घटनाबाट हुने मानवीय तथा जनधनको क्षतिलाई न्युनिकरण गर्न सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको र दुर्घटना जोखिम न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पक्षलाई जागरुक बनाएको जानकारी दिनु भयो । मानवीय कमी कमजोरीका कारण नै सडक दुर्घटना तथा विपत निम्ति रहेकाले हामी सबै सम्बन्धित पक्ष सजग हुन सकेमा विपत जोखिम कम गर्न सकिने प्रजिअ शर्माको भनाई छ ।

सम्बन्धित समाचार

Facebook Comments