• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
तराईमा तातो हावा "लु" चल्दा जनजीवन प्रभावित 

केशव कोईराला, १० वैशाख, (राजापुर) बर्दिया । बर्दिया सहित पश्चीम तराईमा तातो हावासँगै लु चल्न थालेपछि गर्मी बढेको छ । दिउँसो १२ बजेदेखि २ बजेसम्म चल्ने लु का कारण बर्दिया लगायत पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ । 

दिउँसो लु चल्दा यहाँको दैनिकी कष्टकर हुँदै गएको छ । दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । गर्मीका कारण हिउँदे बाली भित्र्याउने समयमा यहाँका बासिन्दा प्रतिकूल मौषमको चपेटामा छन् । तातो हावाले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्किएका सर्वसाधारण र मोटरसाइकल चालक बढी प्रभावित छन् । तातो हावा र टन्टलापुर घामका कारण अति आवश्यक काम परेर सडक, बजारमा निस्कनुपर्नेहरु समेत प्रभावित भएका छन् । 

तीव्र गतिमा तातो हावा चल्न थालेसँगै तरकारी, मकै लगायतका अन्य बालीनाली सुक्नेभन्दै किसानले चिन्ता गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरका प्रमुख डाक्टर कृष्ण खनालले विशेषगरी, मजदुरीमा निस्किएका मजदुर र खेतबारीको काम गर्नुपर्ने किसानहरूलाई अहिले चलेको तातो हावा असाध्यै दूषित रहेकाले यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न सुझाव दिनु भएको छ । धुलोसहित अत्याधिक तीव्र गतिमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण गढ्ने जोखिम रहेको उहाँले बताउनु भयो । 

यस्तो मौसममा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, अस्वस्थकर खानेकुरा नखान र स्वस्थ रहने उपाय अपनाउन डा. खनालको सुझाव छ । गर्मी र तातो हावाका कारण मानिसमा टाउको दुख्ने, शरीर शिथिल हुने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता स्वास्थ्य समस्या बढ्ने बताउनुभयो । यस्तो मौसममा बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिको बढी ख्याल गर्नुपर्ने उहाँको सुझाव छ ।  

सम्बन्धित समाचार

Facebook Comments