• ११ वैशाख २०८३, शुक्रवार
  • २० °C काठमाडौं
बन्यजन्तु पीडित परिवारले पाउने रकम बढाउन माग 

विष्णु अधिकारी, ८ वैशाख, बर्दिया । मानव वन्यजन्तु सह–अस्तित्वका लागि वन्यजन्तु पिडित परिवारसँग २९ औं वन्यजन्तु सप्ताहको अन्तिम दिन अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा वन्यजन्तु पिडित परिवारहरुले बर्दिया राष्ट्रिय निकुञ्ज तथा सरोकारवाला संघसंस्थाहरुसँग आफुहरुले पाउने सुविधाहरु बढाउन माग गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा वन्यजन्तुको आक्रमणमा परि मृत्यु भएका आश्रीत परिवारहरुले आफुहरुले पाउने मासिक रकम बढाउनुका साथै स्वास्थ्य उपचार र बालबालिकाको शिक्षाका लागि सहयोगी निकायहरुसँग सहयोगको माग गरेका छन् । बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका आश्रित परिवार तथा शारिरीक रुपमा अपाङ्गता भई जिवन यापन गरिरहेको भएतापनि संरक्षणमा टेवा पु¥याए पनि राज्यले आफुहरुको स्वास्थ्य उपचार तथा शिक्षामा ध्यान नदिएको गुनासो गरे । कार्यक्रममा वन्यजन्तु पिडित अमृता जैसीले वन्यजन्तुको आक्रमणबाट आफ्नो पति गुमाएपछि बर्दिया राष्ट्रिय निकुञ्जले मासिक सुरक्षा भत्ता १५ सय रुपैया प्रदान गर्ने गरेको भएतापनि सो रकम जिवन गुजारा गर्नका लागि अपुग भएकाले थप रकम वृद्धि गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिन् । 

त्यस्तै १२ बर्ष अघि हात्तीको आक्रमणबाट पति गुमाएकी बारबर्दिया नगरपालिका वडा नं. ९ कि निर्मला खड्काले आफु मृगौला पिडित भएका कारण जिवन गुजारा गर्न अत्यन्तै कठिनाई भएकोले बालबालिकालाई शिक्षामा पहुँच पु¥याउन धौधौ परिरहेको गुनासो गरिन् । खड्काले आफुहरुको साहारा पति गुमाएपछि रोगहरुले च्याप्दै गएपछि औषधी गर्ने कि बालबालिका पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उनको दुःखेसो छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले वन्यजन्तुको आक्रमणबाट घरमुलिको मृत्यु भएपछि उसको परिवार प्रभावित भई वहुआयामिक प्रभाव पर्ने भएकाले विभिन्न सङ्कटहरु निम्तिने बताए । निकुञ्जले वन्यजन्तुको आक्रमणमा परि पति गुमाएका एकल महिलाहरुको समुह बनाएर वहाँहरुको जिवन यापनमा केहि राहत होस भनि कोष निर्माण गरि ३ प्रतिशतमा आयआर्जनका लागि ऋण प्रवाह गर्ने गरेको उनको भनाई छ । 

उनले अभिभावक गुमाएका बालबालिकाहरुको अध्ययनका लागि १० कक्षा सम्म पढ्नका लागि थोरै भएपनि सहयोग गर्दै आइरहेको प्रष्ट्याए । एकल महिलालाई दिदै आएको सुरक्षा भत्ता मासिक १५ सय रुपैया बर्दिया राष्ट्रिय निकुञ्जले दिने गरेको रकम बढाउनका लागि आफुले मातहतका निकायमा पहल गर्ने प्रमुख रामले प्रतिवद्धता गरे । प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाङफेले वन्यजन्तु पिडित परिवारहरुका लागि राहत बैक मार्फत रकम पठाउने व्यवस्था गरेको बताए । उनले वन्यजन्तुबाट नोक्सानी नहुनेखालका बैकल्पिक खेती अदुवा, बेसार लागि प्रकृति संरक्षण कोषले सहयोग गर्ने बताएका छन् । 

सम्बन्धित समाचार

Facebook Comments