बर्दियाका दुग्ध उत्पादक किसानले गरे आन्दोलनको घोषणा
मुरली गोडिया, १२ फागुन, गुलरिया (बर्दिया) । दूध उत्पादक किसानहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै बर्दियाका २० भन्दा बढी दूध उत्पादक किसान संगठनहरुले आन्दोलन गर्ने बताएका छन । सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै बर्दियाका दुग्ध व्यवसायी संगठन सहित विभिन्न दूग्ध संकलन केन्द्रका संचालकहरुले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन ।
शनिबार मिडिया संगको भेटघाटमा उनीहरुले किसानहरुले दुग्ध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नु परेका समस्या समाधान गर्न सरकारले चाँसो नदिएकाले बाध्य भएर आन्दोलन घोषणा गर्नु परेको दुग्ध उत्पादक सहकारी संघ बर्दियाका अध्यक्ष पवन यादवले संचारकर्मीहरुलाई जानकारी गराउनु भयो । आजै बसेको संयुक्त बैठकले फागुन १५ देखि २१ गतेसम्म लगातार आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताइएको छ । फागुन १३ गते राजनीतिक दलका शिर्ष नेताहरु र प्रमुख सचेतकहरुलाई मागपत्र बुझाउने, फागुन १५ गते जिल्ला प्रशासन कार्यालयमा दुग्ध उत्पादक सहकारी संघको अगुवाईमा विहान २ घण्टा धर्ना दिइ ज्ञापन पत्र बुझाउने, १७ गते मुख्य राजमार्ग तथा सम्भावित सडक मार्गहरुमा २ घण्टा शान्तिपूर्ण रुपमा चक्काचाम गर्ने र २१ गते काठमाडौं माइतीघर मण्डलामा धर्ना तथा बिरोध प्रदर्शन गर्ने निर्णय गरिएको अध्यक्ष यादवले जानकारी गराउनु भयो ।
किसान संगठनहरुले अर्थतन्त्रमा ठूलो योगदान पु¥याउँदै आएको कृषि क्षेत्रको विकासका निम्ति सरकारले प्रभावकारी नीति अवलम्बन गरी कार्यान्वयन गर्न तत्परता नदेखाएको बढैयाताल गााउँ पालिकाकी कौशिला सिंह ठकुरीले दाबी गर्नु भयो । ठुलो संख्यामा दुग्ध उत्पादक किसानहरुलाई सहकारीहरुले लगानी गरेको तथा रोजगारी मुलक कार्यका लागी समेत लगानी गरेको अवस्थामा समयमा दुध बेचेको भुक्तानी गर्न नसक्दा किसानहरुलाई मर्का परेको सिंहले दुखेसो पोख्नु भयो । सरकारलाई बारम्बार दुग्ध उत्पादक किसानहरुले भोग्नुपरेका समस्या बारेमा ध्यानाकर्षण गराउँदा पनि सम्बोधन नहुँदा ८ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य भएको केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालका केन्द्रिय सदस्य इन्द्र प्रसाद लुइटेलले बताउनु भयो ।
विगत केही समयदेखि किसानहरुले उत्पादित दुग्ध मध्ये हजारौं लिटर दुग्ध बिक्री वितरण हुन नसकेको बताउनु भयो । लुइटेलले भारतबाट अबैध रुपमा कच्चा दुध तथा दुग्धजन्य पदार्थ सस्तो मूल्यमा आयात भएको कारण नेपाली किसानले उत्पादन गरेको दुग्ध बिक्री नभएको ठोकुवा गर्नु भयो । साथै पशुमा लाग्ने विभिन्न रोगका कारण पशुपालक किसानहरु अरबौंको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुग्धको करिव ६ अर्ब भन्दा बढीको वक्यौता रकम सरकारले भुक्तानी नदिँदा किसान थप समस्यामा परेको लुइटेलले स्मरण गराउनु भयो । धेरै खर्च गरि गरिएको गाइ, भैंसी पालन बाट उत्पादन भएको दुधको उचित मुल्य नपाउने र विक्री भएको दुध समेत नपाएको हुनाले बर्दियाका समग्र दुग्ध उत्पादक किसानलाई समास्या भएको राजापुरका दुग्ध उत्पादक किसान टिकाराम रेग्मीले बताउनु भयो ।
अर्का किसान चेतराम थारुले दुधको भुक्तानी गर्न बाँकी वक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै, भारतबाट दुध र दुधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी आयात बन्द गर्न बर्दियाका कृषकको माग छ । दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न सरकारसँग माग गरेका छन् । संगठनहरुले बिक्री नभएको दुधलाई पाउडर बनाई देशलाई मिल्क होलिडे हुनबाट सरकारले रोक्न आवश्यक रहेको पनि बताएका छन् ।
२८ °C काठमाडौं
Facebook Comments