बाल विकासका शिक्षकलाई स्थानीय सिकाई सामाग्री निर्माण सम्बन्धि तालिम
बारबर्दिया, ६ फागुन । बारबर्दियाका प्रारम्भिक बाल विकास शिक्षकहरुलाई स्थानीय सिकाई सामाग्री निर्माण तथा प्रयोग सम्बन्धी ३ दिने क्षमता विकास तालिम प्रदान गरिएको छ । बर्दियाको बारबर्दिया, ठाकुरबाबा, राजापुर नगरपालिका र गेरुवा गाँउपालिका गरी ४ वटा पालिकाबाट २० वटा विद्यालयका २१ जना शिक्षकहरुलाई तिन दिने तालिम दिईएको हो ।
फागुन ३, ४ र ५ गते बारबर्दियामा प्रदान गरिएको तालिममा सहभागीहरुलाई बाल विकासको अवधारणा बारे जानकारी, स्थानीय श्रोतबाट सिकाई क्षेत्रको निर्माण तथा प्रयोग, प्रारम्भिक बाल विकास केन्द्रमा न्युनतम मापदण्डमा सिकाई क्षेत्रको विकास गर्ने, कम मुल्य वा मुल्य नपर्ने स्थानीय शैक्षिक सामग्री निर्माण गरी विद्यालयको कोठा छापामय बनाउने विषयमा प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएको छ । तालिमको प्रशिक्षण तथा सहजीकरण सेतो गुराँस बाल विकास सेवाकी प्रशिक्षक तथा प्रारम्भिक बाल विकास बिज्ञ झलकुमारी कार्कीले गर्नु भएको छ । तालिमको समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरउपप्रमुख रत्नकुमारी पाण्डेले सिकाई उपलब्धी हाँसिल गर्नका लागि शैक्षिक सामग्री निर्माणको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।
बाल विकासका विद्यार्थीहरुलाई विद्यालयमा टिकाई राख्न र कक्षा कोठालाई आर्कषक, छापामय बनाउनमा सहयोग पुग्ने बताउनु भएको छ । तालिमले बाल विकास शिक्षकहरुलाई हौसला प्रदान गर्ने र बाल बालिकाको सिकाईमा थप सहयोग पुग्ने अपेक्षा लिईएको छ । प्लान ईन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित बालिका सशक्त परियोजना अन्तरगत बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय रम्भापुरमा तालिमको आयोजना गरिएको परियोजनाकी कार्यक्रम अधिकृत सीमा वलीले जानकारी दिनु भयो ।
२६ °C काठमाडौं
Facebook Comments