बर्दियामा बाघ बढेसँगै व्यवस्थापनमा चुनौती
विष्णु अधिकारी, २९ माघ, गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १ सय २५ पुगेसंगै चुनौति र अवसर दुवै लिएर आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा क्षमता भन्दा बढि बाघ रहेका कारण समय समयमा मानव र वन्यजन्तुको विच द्धन्द हुने गरेको छ ।
निकुञ्जका अनुसार एउटा भाले पाटेबाघले ५२ देखि ५६ वर्ग किलोमिटरको क्षेत्रमा विचरण गर्छ भने पोथी पाटेबाघलाई २८ देखि ३० वर्ग किलोमिटर आवस्यक पर्छ । पाटेबाघ एक्लै शिकार गर्न र बस्न मनपराउने प्राणि भएकाले त्यस क्षेत्रमा अन्य बाघहरु प्रवेश गर्दा बाघका विच द्वन्द हुने र विजयी बाघ त्यस क्षेत्रमा बस्ने र हारेको बाघ घाइते शिकार गर्न नसक्ने भएकाले जंगलबाट बाहिर बस्ती तिर पस्ने भएका कारण मानव र वन्यजन्तुका विच बर्दियामा द्धन्द बढ्दो क्रममा रहेको बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत अशोकरामले बताउनु भएको छ । मानव र बाघका विच द्वन्द बढ्दा निकुञ्जले बाघलाई उद्दार गरी खोरमा राख्नुपर्दा आहाराका लागि बर्दियामा रहेका ५ वटा बाघलाई हप्तामा १ सय ४० किलो मासु खुवाउँदा राज्यको ठुलो रकम खर्च गर्नुपरेको निकुञ्जको भनाई छ ।
निकुञ्जे ठाकुरद्धारामा २ वटा र रम्मापुरमा ३ वटा समस्याग्रस्त बाघहरु राखी व्यवस्थापन गरिरहेको छ । बाघको दिगो व्यवस्थापनका लागि कुनै वनक्षेत्रलाई खुला चिडियाखानाको रुपमा विकास गरी बाघको व्यवस्थापन गर्नसके पर्यापर्यटनको विकासमा टेवा पुग्ने संरक्षण अधिकृतले बताउनु भयो । बाघ दिगो व्यवस्थापनका लागि संघिय, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा खुला चिडियाखाना बनाई समस्याग्रस्त बाघलाई खुला रुपमा छाडि पर्यापर्यटनको विकासमा टेवा पुग्नुका साथै बाघ ब्यवस्थापनमा पनि सहज हुने उहाँको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया जिल्लाको कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरू मध्ये सबै भन्दा ठूलो निकुञ्ज हो ।
सुरुमा ३ सय २७ वर्ग किलोमिटर क्षेत्रफल समेटेर घोषणा भएको बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०६७ सालमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तर तर्फको १ सय ८० वर्ग किलोमिटर थप गरी जम्मा ५ सय ७ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ । निकुञ्ज क्षेत्रको उत्तर तर्फ चुरे क्षेत्रमा सल्लाका जंगलहरू र तराईको धरैजसो भाग सालको जंगलले ढाकेको छ । निकुञ्ज भित्रको विभिन्न ठाउँमा घाँसे मैदान रहेको छ । यस निकुञ्जमा पाटेबाघ, एकसिङ्गे गैडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु रहेको निकुञ्जको तथ्याङ्क छ ।
निकुञ्ज क्षेत्रमा जलचरहरूमा घडियाल गोही, मगर गोही, सोस र विभिन्न प्रजातिका माछाहरु पाइनुका साथै हालसम्म रैथाने र बसाई सरी आउने ५ सय १३ प्रजाति पंक्षीहरूको अभिलेख निकुञ्जसंग रहेको छ । पर्या–पर्यटनको प्रचुर सम्भावना रहेकाले यहाँ वर्षेनी पर्यटकको संख्या बढिरहेको निकुञ्जले बताएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा आर्थिक बर्ष ०७९÷०८० मा ९ हजार ६ सय ९३ जना पर्यटक आएकोमा ०८०÷०८१ मा त्यो संख्या बढेर १२ हजार ३ सय ८२ रहेको निकुञ्जले जानकारी दिएको छ ।
२२ °C काठमाडौं
Facebook Comments