खाता जैविकमार्गमा मानव–वन्यजन्तुबिच सहअस्तित्व कायम गर्न माग
मुरली गोडिया, २१ माघ, गुलरिया (बर्दिया) । बर्दिया जिल्ला वन्यजन्तुको बासस्थानका रुपमा देशमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमै परिचित छ । यहाँ भने वन्यजन्तुको आक्रमणले थुप्रैले ज्यान समेत गुमाउनु परेको छ । बाघ, हात्ती तथा गैंडाले ज्यान लिन थालेपछि दिगो रुपमा समस्या समाधान गरिदिन स्थानिय समुदायले माग गरेका छन ।
बर्दियाका वन्यजन्तु पिडित परिवारले जंगली जनावरको आक्रमण रोक्न ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन । खाता जैविक मार्ग अन्तर्गतको क्षेत्रमा बसोबास गर्ने नागरिकहरु जहिले पनि वन्यजन्तुको सिकार बनिरहेको गुनासो गरेका छन । राज्यका विभिन्न तह र तप्कामा गएर आफ्ना समस्याहरु पोख्दापनि सुनुवाई नभएको स्थानिय खड्क बहादुर थापा बताउनु हुन्छ । राज्य गम्भिर भएन । ज्यान जोखिममा राखी संरक्षणमा लाग्नुको कुनै औचित्य छैन । उहाँले भन्नुभयो, नागरिकहरु जंगल जान नपर्ने गरि उद्योग, कलकारखाना लगायतका रोजगारी संग सम्बन्धित कार्यक्रममा जोड्न ढिलाई गर्नु हुँदैन ।
बर्दियामा वन्यजन्तुले कसैको बुवा कसैको आमालाई खाएको छ । कतिपयको ज्यान गएको छ भने कतिपयको अंगभंग भएको अवस्था छ । वन्यजन्तुको आक्रमणले आक्रन्त बनेका स्थानिय अहिले राज्यबाट दिगो समाधानको खोजीमा छन । मानिस मर्ने वित्तिकै १० लाख दिएर मात्र नभई यहि अवस्था रहे भोलीका दिनमा ठुलो चुनौतीको सामना गर्नुपर्ने प्रति चिन्ता समेत व्यक्त गरेका छन । राज्यबाट कुनै किसिमको पनि ठोस सुबिधा नपाएको पिडित परिवारका रामबहादुर केसीले बताउनु भयो । राज्यले पिडित जनतालाई भोट बैंक र कर तिर्ने मेसिन मात्र बनाएको उहाँको आक्रोष छ ।
मधुवन नगरपालिका वडा नम्बर ३ मा रहेको खाता सामुदायिक वन समन्वय समितिले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिवारलाई आय आर्जनमा केही सहयोग गरेको छ । सो पालिकाको वडा नं. १ देखि ५ नम्बरका वन्यजन्तु आक्रमणमा ज्यान गुमाएकाहरुको आश्रित १६ जना घरपरिवारका सदस्यहरुलाई दैनिक जिवन सहज गराउनका लागि सहयोग गरेको खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुंगले बताउनु भयो । जनही ५० हजारका दरले तराई भू–परिधि कार्यक्रम अन्तर्गत सहयोग गरेका छौं । वन्यजन्तु आक्रमणमा परी ज्यान गुमाएका आफन्तहरुकै सल्लाह बमोजिम माछा पालन, भैंसीपालन लगायत आय आर्जनमा समेत सहयोग दिने गरेको उहाँको भनाई छ ।
राज्यले आफुहरुलाई बनमा आश्रित हुन नपर्ने किसिमका तालिम तथा रोजगारीको सिर्जना गरिदिन पिडितहरुले मागगर्दै आएका छन् । खाता सामुदायिक वन समन्वय समिती अनुसार आर्थिक बर्ष ०७००/७१ देखि ०८०/०८१ को पौष दोस्रो साता सम्ममा खाता सामुदायिक वन समन्वय समिति अन्तर्गतका क्षेत्रमा वन्यजन्तुको आक्रमणमा परि १६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना बाघ, २ जना गैडा र २ जना हात्तिको आक्रमणमा परेका थिए ।
२१ °C काठमाडौं
Facebook Comments