• १२ वैशाख २०८३, शनिवार
  • १९ °C काठमाडौं
थारु गाउँमा बखेरी शुरु, बार्षिक कामको समिक्षा र आगामी योजना बनाईंदै  

विन्दु चौधरी, ३ माघ, बाँसगढी (बर्दिया) । थारु गाउँमा माघी डेवानी अर्थात बखेरी शुरु भएको छ । माघे संक्रान्तीके दोस्रो दिनदेखि शुरु हुने माघी डेवानीमा गत वर्षको कामको समिक्षा र आगामी वर्षको योजना बनाईदैछ । 

यसै बखेरीबाट गाउँको नेतृत्व गर्ने बरघर, गाउँको हुलाकीको काम गर्ने चिरकिया, चौकीदार, लोहार छनोट गर्ने परम्परा थारु समुदायमा रहेको छ । सो परम्परा अनुसार आज बाँसगढी ८ रेशमपुर गाउँको भेलाबाट पुरानो बरघर रिस्मान चौधरीलाई पुनः एक वर्षको लागि नेतृत्व हस्तान्तरण गरिएको छ । रेशमपुर गाउँको चौकीदारमा रुपलाल चौधरी, सहायक बरघरमा मायाराम चौधरीलाई छनोट गरिएको हो । मँतावामा रामशिव चौधरी, गुर्वा पुर्णबहादुर चौधरीलाई दिएको छ, भने लिखन्डारको जिम्मेवारी मिना चौधरीले पाउनुभएको छ । त्यसैगरी रेशमपुर गाउँमा रहेको माछा पोखरी ३ वर्षको लागि प्रत्येक वर्षको ५ हजार ५ सय रुपैयामा गाउँकै निर्मला शाही पुनलाई पोखरी ठेक्का दिने निणर्य गरिएको छ । 

१ सय ४९ घरधुरी रहेको रेशमपुर गाउँका प्रत्येक घरबाट ५ नम्मर धान तिहाई उठाएर बरघर, चौकीदार र मताँवाले भाग गर्ने समेत निणर्य गरेको बाँसगढी नगरपालिका वार्ड नम्बर ८ का वडासदस्य तथा स्थानियबासी शान्ती चौधरीले जानकारी दिनुभयो । यसैबिच बाँसगढी ७ चौधरीपुर गाउँमा पनि पुरानै बरघर चिन्का थारुको नेतृत्वमा छुट्टै ९ सदस्यिय बरघर समिती गठन भएको छ । जसको सहायक बरघरमा कुमिला थारु र गणेश कुमार चौधरी, लिखन्दारमा जोलनसिंह थारु, सदस्यमा महेश चौधरी, महिला सदस्यमा उमा चौधरी, सुस्मा परियार र खुसियाली चौधरी रहेको बाँसगढी नगर बरघर जोगिराम चौधरीले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार

Facebook Comments