अभिभावक विहिन बालबालिकालाई लायन्स र नेपाली सेनाको सहयोग
हरि गुरुङ, २७ पौष, मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवाको पथ्थरबोझी स्थित श्रीसरस्वती आधारभूत विद्यालयमा रहेका अभिभावक विहिन बालबालिकाहरुलाइ बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना देवीदत्त गण र लायन्स क्लब अफ नेपालगन्जले राहत सामाग्री हस्तान्तरण गरेका छन् । विद्यालयका प्रधानाध्यापक घनराज खत्री मार्फत बिहिबार सामाग्री हस्तान्तरण गरिएको हो ।
राहत वितरण कार्यक्रमका अतिथिहरुमा क्लबका गभर्नर लायन्स मुकुट ढकाल विशिष्ट अतिथीहरुमा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, देविदत्त गणका गणपति हिमालय थापा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी अतिथीहरुमा मधुवन नगरपालिका वडा नं–१ का वडा सदस्य धनिराम थारु, रामचरण चौधरी, कार्यपालिका सदस्य कृष्ण परियार, लायन्स क्लब अफ नेपालगन्जका जिल्ला सेक्रेटरी लायन्स उमा थापा, बुद्धिजीवी, अभिभावक, विद्यार्थी, समाजसेवी लगायत स्थानियको उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियो ।
लायन्स क्लब नेपालगन्जका तर्फबाट १० थान ३“ ६×४ म्याट बेड, १० थान ७×७ सिरक, १० थान सिरानी र कपी कलम हस्तान्तरण गरिएको छ । त्यस्तै दैनिक उपभोग्य खाद्य सामाग्री चामल, दाल, आलु, तेल, खुर्सानी, अदुवा, चियापत्ती, चिनी, लसुन, प्याज, नुन, धनिया मसला लगायतका खाद्य सामाग्री नेपाली सेनाको देविदत्त गण बर्दियाले हस्तान्तरण गरेको हो । वन तथा वन्यजन्तु संरक्षणमा विद्यार्थी र विद्यालयको भुमिका महत्त्वपूर्ण रहेको बताउदै सहयोग उपलब्ध गराईएको गणपति हिमालय थापाले बताउनु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनु भयो । लायन्स क्लब अफ नेपालगन्ज लगायत नेपाली सेनाको सहयोग प्रति आभार तथा धन्यवाद व्यक्तगर्दै नगरप्रमुख भाटले अभिभावक विहिन बालबालिकाहरुलाई अति आवश्यक देखिएको छात्रावास, खानेपानी र जंगली वन्यजन्तु रोक्नका लागि तारवार गर्न मधुवन नगरपालिकासँग सहकार्य गर्न लायन्स क्लब नेपालगन्जलाई अनुरोध गर्नुभएको छ । लायन्स क्लब नेपालगन्जका सभापति मख्खन धामीको सभापतित्वमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै सभापति धामीले मानवीय सेवा प्रदान गर्ने मौका जुराइदिने देविदत्त गणका गणपति हिमालय थापालाई धेरै धेरै धन्यवाद दिदै सहयोग उपलब्ध गराउनु पर्ने महत्वपूर्ण ठाउँका बारेमा जानकारी गराइएकोमा खुशी ब्यक्त गर्नुभयो । लायन्स क्लब नेपालगन्जले डेन्टल अस्पताल पनि संचालन गरेको जानकारी गराउँदै विद्यालयका कुनै पनि बालबालिकाहरुको दाँतको समस्या भएमा लायन्स क्लबबाट संचालित अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आफ्नो कार्यकालमा जे गर्न सकिन्छ सहयोग गर्छु, अगामी दिनहरुमा अभिभावक विहिन बालबालिका र विद्यालयलाई समस्याको समाधान गर्न ब्याक्तिगत वा क्लबको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । विक्रम सम्बत २०७५ साल जेठ महिना देखि ५ जना अभिभावक विहिन बालबालिकाबाट शुरूवात गरिएको आश्रममा हाल ३९ जना बालबालिका रहेका छ्न । जसमा छात्रा १२ र छात्र २७ जना छ्न । आश्रय लिईरहेका बालबालिकाहरु बर्दिया, बाँके, दाङ्ग, कैलाली र जुम्लाका रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले जानकारी दिनुभएको छ । कार्यक्रम संचालन लायन्स भिम सुबेदीले गर्नुभएको थियो ।
१८ °C काठमाडौं
Facebook Comments