• ३ वैशाख २०८३, बिहिवार
  • २६ °C काठमाडौं
गुलरिया स्थित थारु संग्राहालय सुहेलवामा माघी महोत्सव

विष्णु प्रसाद अधिकारी, गुलरिया, २०८० पौष २५ गते । राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, साहित्य कला संस्कृती बचैना हमार अभियान भन्ने मुल नाराका साथ गुलरियामा थारु साँस्कृतक माघ महोत्सव हुने भएको छ । थारु मेला आयोजक कल्याणकारिणी सभा जिल्ला कार्यसमिति बर्दियाले ०८० माघ १ गते देखि ३ गते सम्म गुलरिया नगरपालिका वडा नम्बर ५, सुहेलवामा रहेको थारु संग्रालय खेलमैदान बर्दियामा महोत्सव संचालन गर्न लागेको हो । 

थारु कल्याणकारिणी सभा बर्दियाका अध्यक्ष वीर बहादुर चौधरीले थारु समुदाय लगाएत अन्य विभिन्न समुदायको कला सँस्कृतिको विकास तथा प्रर्वधन गर्ने लक्ष्य लिएर महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा बताउनु भयो । महोत्सवमा थारु सँस्कृति झल्कने खानाका परिकार, हस्तकला, पुस्तक, अन्य राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।     थारु कला संस्कृतीको प्रचार प्रसार गरि वाह्य तथा आन्तरिक पर्यटकको लागि बर्दियालाई गन्तव्य बनाउने उद्देश्य रहेको अध्यक्ष चौधरीले प्रष्ट्याउनु भयो । महोत्सवमा घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकलाका सामाग्री, स्थानीय परिकारहरु तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी मुख्य आर्कषणको रुपमा रहने छ । 

माघी महोत्सवमा थारु गाउँ, स्थानीय कला सँस्कृती झल्किने जातजातीका झाँकी प्रर्दशन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बर्दियामा रहेको विभिन्न मठ मन्दिरहरुको प्रचार प्रसार गरिने आयोजकले बताएको छ । आयोजक थारु कल्याणकारिणी सभा बर्दियालाई संरक्षकको रुपमा गुलरिया नगरपालिका, प्रवर्धकको रुपमा पर्यटन विकास परिषद, बुटवल र पर्यटन डिभिजन कार्यालय, बाँके र प्रायोजकको रुपमा राजापुर नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

Facebook Comments