बाँसगढी नगर अधिवेशन : कृषि, शिक्षा रोजगारीसँगै डिजिटल सुशासनलाई प्राथमिकता
विन्दु चौधरी, ७ असार, बाँसगढी (बर्दिया) । बाँसगढी नगरपालिकाको १९ औँ नगरसभा अधिवेशन असार ६ गते सम्पन्न भएको छ । अधिवेशनमा नगर प्रमुख खडकबहादुर खड्काले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले आगामी आर्थिक वर्षका सम्पूर्ण कार्यक्रमलाई कृषि, शिक्षा, रोजगार, सहकारी, पर्यटन तथा सुशासन केन्द्रित बनाएको जनाएको छ । æबाँसगढीको माटो, समृद्धिको बाटोÆ भन्ने मूल नारासहित कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरूको नेतृत्व तथा क्षमता विकास, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली, गरिब तथा जेहेन्दार विद्यार्थी, मुक्त कमैया तथा कम्लहरीका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउन जैविक खेती रणनीति तयार गरी लागू गरिने, उच्च मूल्यका बालीका लागि पकेट क्षेत्र विकास गरिने तथा जमिन बाँझो नराख्न चक्लाबन्दी नीति अवलम्बन गरिने जनाइएको छ । कृषकलाई परिचयपत्र प्रदान गरी सोही आधारमा अनुदान उपलब्ध गराइने, उच्च मूल्यका बाली तथा पशु बीमामा आकर्षक प्रिमियमको व्यवस्था गरिने र गोठे मल उत्पादनलाई प्रोत्साहन गरिने नीति लिइएको छ ।
ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सांस्कृतिक गाउँको विकास तथा थारु संस्कृति संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ । साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी संस्थालाई सक्रिय बनाउने तथा निष्क्रिय र साना सहकारी संस्थालाई एकीकरण गर्ने नीति अवलम्बन गरिने भएको छ । युवाहरूका लागि आवश्यकतामा आधारित सीपमूलक तालिम सञ्चालन, स्वदेशमै रोजगारी सिर्जना, उद्योग स्थापनाको प्रारम्भिक चरणमा अनुदान तथा ऋणको व्यवस्था गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउन समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान तथा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने नीति नगरपालिकाले लिएको छ । त्यसैगरी कार्यालयमा सुशासन कायम गर्न, सेवा प्रवाहलाई छिटोछरितो बनाउन तथा ढिलासुस्ती न्यूनीकरण गर्न डिजिटल नगरपालिकाको अवधारणालाई प्राथमिकता दिइएको छ ।
डिजिटल सेवा विस्तारका लागि ई–हाजिरी प्रणाली लागू गरिने तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि उत्पादन वृद्धि, शिक्षा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन तथा सुशासनमार्फत समृद्ध बाँसगढी निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
२१ °C काठमाडौं
Facebook Comments