• २३ जेठ २०८३, शनिवार
  • २० °C काठमाडौं
बढैयातालमा विकास आयोजना अनुगमन कार्य तीव्र

दलबहादुर सुनार २३ जेठ, बढैयाताल -बर्दिया) । बढैयाताल गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा निर्माणाधीन तथा सम्पन्न भएका विभिन्न विकास आयोजनाहरूको अनुगमन कार्य तीव्र बनाइएको छ । पालिका, लुम्बिनी प्रदेश तथा संघीय सरकारको अनुदानमा सञ्चालनमा रहेका आयोजनाहरूको गुणस्तर र प्रगतिको अवस्था बुझ्ने उद्देश्यले अनुगमनलाई तीव्रता दिइएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष एवं अनुगमन समितिकी संयोजक लक्ष्मीकुमारी अधिकारीको नेतृत्वमा वडा नं. ६ का दुई र वडा नं. ४ का एक गरी तीनवटा आयोजनाको शुक्रबार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमन टोलीले वडा नं. ६ अन्तर्गत सर्वोदय विद्यालयदेखि जुम्ली टोलसम्म निर्माण गरिएको कालोपत्रे सडकको स्थलगत निरीक्षण गरेको छ । करिब ३ हजार ९२ दशमलव ५ मिटर लम्बाइ रहेको उक्त सडक ७ करोड १८ लाख १८ हजार ५०५ रुपैयाँ ८३ पैसा -भ्याटसहित) लागतमा निर्माण सम्पन्न भएको हो ।

सालिन तथा स्वर्गद्वारी जे.भी. निर्माण कम्पनीले निर्माण गरेको उक्त सडकको गुणस्तर र अवस्था प्राविधिकको सहयोगमा नापजाँचसहित मूल्यांकन गरिएको जनाइएको छ । अनुगमन टोलीमा नम्बर ६ का वडा अध्यक्ष सुक्रराज सापकोटा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, योजना शाखा प्रमुख उस्मान शाही, सहायक प्रमुख उमानबहादुर हमाल, प्राविधिक शाखाका सब–इन्जिनियर रुद्रबहादुर खड्का, कार्यपालिका सदस्य चन्द्रा विक, दिलमाया सुनार लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसै क्रममा लोखरपुरदेखि मैनापोखर–बाँसगढी सडकसँग जोडिने २ सय ९२ मिटर कालोपत्रे सडक निर्माणका लागि गरिएको बेस तयारीको पनि स्थलगत अनुगमन गरिएको छ । संघीय सशर्त अनुदानबाट निर्माण हुने उक्त आयोजनाको जिम्मा निदिम निर्माण सेवा कम्पनीले पाएको प्राविधिक खड्काले जानकारी दिनुभयो । त्यसैगरी वडा नं. ४ अन्तर्गत चौधरी बजारदेखि वडा कार्यालय हुँदै मानकिनार गाउँ जोड्ने रिङरोड निर्माणको प्रगतिको पनि अनुगमन गरिएको छ । २ करोड ५७ लाख २४ हजार १०५ रुपैयाँ १३ पैसाको लागतमा १ हजार ३ सय ४४ मिटर अस्फाल्ट कालोपत्रे सडक निर्माणको जिम्मा जय गणेश कन्स्ट्रक्सन, कोहलपुरले लिएको छ ।

निर्माण कम्पनीले २०८२ साल फागुन १६ गतेदेखि काम सुरु गरेको र २०८५ साल जेठ मसान्तसम्म सम्पन्न गर्ने सम्झौता रहेको सब–इन्जिनियर माधव सिंहले जानकारी दिनुभयो । वडा नं. ४ का वडा अध्यक्ष नरे थापाले निर्माण कम्पनीको कार्यगति अत्यन्तै सुस्त रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार कम्पनीले निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने अवस्था देखिएको छ । प्राविधिकका सिंह अनुसार हालसम्म कुल लागतको करिब ७ दशमलव ७७ प्रतिशत मात्र कार्य प्रगति भएको छ ।

सम्बन्धित समाचार

Facebook Comments