• २१ वैशाख २०८३, सोमवार
  • १६ °C काठमाडौं
गुणस्तरीय शिक्षा सुधार गर्न सरोकारवाला एक हुनुपर्छ

कैलाली, २० वैशाख । गुणस्तरीय शिक्षामा सुधार ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ । आइतबार कैलालीको भजनीमा æसंवादबाट समाधान, गुणस्तरीय शिक्षामा सुधार भन्ने नाराका साथ आयोजित प्रधानाध्यापकसँग संवाद कार्यक्रमÆ मा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन् । 

भजनी जालापा मिडिया प्रा.लि. भजनीद्वारा आयोजित उक्त कार्यक्रममा क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संचारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन, शिक्षक–विद्यार्थी सम्बन्ध, शैक्षिक अनुशासन, सिकाइ उपलब्धि वृद्धि तथा समग्र शैक्षिक सुधारका विविध पक्षमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक सञ्जाल भजनीका संयोजक पदम बहादुर शाहीले वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै विषयगत शिक्षकको अभाव, अभिभावक शिक्षाको कमी, दरबन्दी मिलानमा देखिएको असन्तुलन तथा योजनाको प्राथमिकिकरण नहुँदा गुणस्तरीय शिक्षामा अपेक्षित सुधार आउन नसकेको बताउनुभयो । 

उहाँले विद्यालय तहबाटै सुधारका पहल गर्न सकिने उल्लेख गर्दै त्यसका लागि खुला संवाद, सहकार्य र साझा प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो । संयोजक शाहीले विद्यालयभित्र देखिएका समस्याहरू बाहिर पु¥याउने भन्दा पनि विद्यालयभित्रै समाधान खोज्नुपर्नेमा जोड दिँदै शिक्षकहरूबीच बढ्दो गुटबन्दीले शैक्षिक वातावरण कमजोर बनाएको बताउनुभयो । æशिक्षकहरूबीच एकता र सहकार्य नहुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइमा पर्छ, उहाँले भन्नुभयो, त्यसैले विद्यालयलाई राजनीति र गुटबन्दीबाट मुक्त राख्न जरुरी छ । 

Æत्यस्तै, महुन्याल माध्यमिक विद्यालय भजनीका प्रधानाध्यापक विद्या प्रसाद भट्टले शिक्षकहरूको भूमिकामाथि टिप्पणी गर्दै प्राज्ञिक क्षमताभन्दा बढी पेशागत -प्रोफेसनल) प्रवृत्ति बढ्दै जाँदा शिक्षाको गुणस्तरमा असर परेको धारणा राख्नुभयो । उहाँले शिक्षालाई केवल पेशा नभई सेवा र जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । प्रधानाध्यापक भट्टले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र नियमनकारी निकाय -शिक्षा शाखा) बीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो । æसमन्वय अभावकै कारण धेरै राम्रो योजना पनि कार्यान्वयन हुन सकिरहेका छैनन्, उहाँले भन्नुभयो । 

उहाँका अनुसार पछिल्लो समय विद्यार्थीहरूमा बढ्दो मोबाइल प्रयोग, बालविवाहको समस्या तथा लागुऔषध दुव्र्यसन जस्ता सामाजिक चुनौतीहरू पनि विद्यालय शिक्षामा गम्भीर असर पारिरहेका छन् । यस्ता समस्याले विद्यार्थीको ध्यान अध्ययनबाट विचलित गरिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि विद्यालय, अभिभावक र समुदाय सबैले संयुक्त रूपमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि स्थानीय तहमा शिक्षाको गुणस्तर सुधारका लागि नीति निर्माण मात्र नभई प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए । 

उनीहरूले शिक्षक तालिम, प्रविधिको समुचित प्रयोग, विद्यार्थी केन्द्रित शिक्षण विधि तथा नियमित अनुगमन प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । आयोजक भजनी जालापा मिडिया प्रा.लिका प्रबन्धक यज्ञराज जोशीले यस्ता संवाद कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र समाधानका लागि साझा धारणा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । गुणस्तरीय शिक्षा सुधारका लागि सबै पक्षबीच सहकार्य, पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेकोमा सहभागीहरूले एकमत व्यक्त गरेका छन् । कार्यक्रमको राजापुर एफ् एमका प्रबन्ध निर्देशक केशव कोइरालाले सहजीकरण गर्नुभयो ।

सम्बन्धित समाचार

Facebook Comments