संस्थाहरुलाई श्रम संसार प्रणालीमा आवद्ध हुन राजापुर नगरपालिकाको आग्रह
केशव कोईराला, ८ बैशाख, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाले श्रम संसार प्रणालीमा आबद्ध हुन सम्बन्धित निकाय तथा संस्थाहरुलाई सूचना जारी गरेको छ । नगर कार्यपालिकाको कार्यालय, राजापुर बर्दियाद्वारा जारी सूचनाअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन बमोजिम सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउन प्रणालीमा आवद्ध हुन सूचना जारी गरिएको हो ।
सूचनामा निजी क्षेत्र, रोजगारदाता, रोजगार एजेन्सी, तालिम प्रदायक संस्था, सहकारी संस्था, सरकारी तथा गैरसरकारी संस्था, सामुदायिक तथा निजी विद्यालय, साथै विभिन्न कम्पनीहरुलाई श्रम संसार प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले जानकारी दिनुभयो ।
नगरपालिकाले पहिलो पटक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र सम्बन्धित सबै निकायले प्रणालीमा दर्ता भई श्रम तथा रोजगारसम्बन्धी सूचना, रोजगारी तथा तालिमका अवसरहरु अनिवार्य रुपमा उक्त प्रणालीमार्फत प्रकाशन गर्नुपर्ने जनाएको छ । आवस्यक जानकारीका लागि नगरपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
नगरपालिकाका अनुसार यस कदमले रोजगारी सम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ । साथै प्रणालीमा आबद्ध हुन श्रम संसारको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत दर्ता गर्न सकिने जानकारी पनि दिइएको छ ।
२९ °C काठमाडौं
Facebook Comments