राजापुर नगरपालिकाद्वारा अनुदानमा विद्युतिय चुलो वितरण
केशव कोईराला, ४ चैत्र, राजापुर -बर्दिया) । बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण गरेको छ । नगरपालिकाले माग फारम भरेका उपभोक्ताहरुलाई एक औपचारिक कार्यक्रमका बिच चुलो हस्तान्तरण गरेको छ ।
पछिल्लो समय देखिएको ग्यास अभावको समस्याबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । ३ हजार ७ सय ६७ रुपैयाँ ४२ पैसा लागत पर्ने चुलो उपभोक्ताले मात्र ८ सय ६५ रुपैयाँमा प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख दिपेश थारूले विद्युतिय चुलो प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा निर्भरता कम हुने बताउनुभयो ।
उहाँले देशको पैसा देशभित्रै राख्ने र वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ अभियान अघि बढाइएको स्पष्ट पार्नुभयो ।सबै नागरिकलाई विद्युतिय चुलो प्रयोग गर्न उहाँको आग्रह छ । कार्यक्रममा उप–प्रमुख मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, वडा नम्बर ४ का अध्यक्ष विदुर पोख्रेल लगायत नगरपालिकाका कर्मचारीहरूको सहभागीता रहेको पञ्जिकरण शाखाका सहायक रबिन सापकोटाले जानकारी दिनुभयो ।
विद्युतिय चुलो पाएपछि उपभोक्ताहरू खुसी देखिएका छन् । ग्यास अभावका कारण भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनीहरूले यस कार्यक्रमले दैनिक जीवन सहज बनाउने बताएका छन् । नगरपालिकाले पहिलो चरणमा ६ सय उपभोक्तालाई विद्युतिय चुलो वितरण गरेको जनाएको छ भने आगामी दिनमा थप नागरिक सम्म कार्यक्रम विस्तार गर्ने तयारी गरिएको बताईएको छ ।
२१ °C काठमाडौं
Facebook Comments