बर्दियाको राजापुरमा चैते धान दिवस मनाईयो
केशव कोईराला, ०१ चैत्र, राजापुर (बर्दिया) । “चैते धान खेती विस्तार, खाद्य सुरक्षाको बलियो आधार” भन्ने नाराका साथ बर्दियाको राजापुरमा पाँचौँ चैते धान दिवस मनाइएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाको आयोजना तथा धान सुपरजोन समन्वय समिति राजापुरको सह–आयोजनामा दिवस मनाइएको हो ।
जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले बर्दिया जिल्ला धान उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले चैते धान खेती विस्तारले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधि, उन्नत बीउ र समयमै सिँचाइ व्यवस्थापन गर्न सके किसानको उत्पादन र आम्दानी दुवै बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अथिती राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिकाले किसानलाई आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले चैते धान खेती विस्तारका लागि सिँचाइ, कृषि प्रविधि र किसानमैत्री कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै किसानलाई आधुनिक खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि गर्न स्थानीय सरकार निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो । कार्यक्रममा बोल्दै वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले चैते धान खेतीको महत्व, उत्पादन वृद्धि गर्ने उपाय तथा सरकारले सञ्चालन गरिरहेको धान सुपरजोन कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।
उहाँले चैते धान खेतीले जमिनको सदुपयोग हुने, किसानको आयआर्जन बढ्ने र देशको खाद्य सुरक्षालाई मजबुत बनाउने बताउनुभयो । दिवस कार्यक्रममा धान सुपरजोनका पदाधिकारी, विभिन्न कृषि समूहका प्रतिनिधि, कृषक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
२१ °C काठमाडौं
Facebook Comments