• ३२ असार २०८३, बिहिवार
  • २१ °C काठमाडौं
चितुवाको आक्रमणमा परी बर्दियामा ७ वर्षीय बालकको मृत्यु 

केशव कोईराला, २० फागुन (राजापुर) बर्दिया । बर्दियामा चितुवाको आक्रमणमा परी एक जना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा राजापुर नगरपालिका वडा नम्बर १० काला बन्जारका ७ वर्षीय आदित्य चौधरी रहेका छन् । 

घर नजिकै वारीमा खेलिरहेका बेला अचानक आएको चितुवाले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरिया पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सोही घटनामा चितुवाको आक्रमणबाट अन्य तीन जना पनि घाइते भएका छन् ।

घाइते हुनेमा काला बन्जारकै अन्दाजी ४० वर्षीय कृतिमान थारु, ४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु रहेका छन् । उनीहरू बालकलाई बचाउने क्रममा चितुवाको आक्रमणमा परेका थिए । घाइतेहरूको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जनाइएको छ ।

स्थानीयका अनुसार चितुवा नजिकैको जंगल क्षेत्रबाट बस्तीमा पसेर अचानक आक्रमण गरेको हो । घटना दिउँसोको समयमा भएकोले स्थानीयहरू थप त्रसित बनेका छन् । पछिल्लो समय बर्दिया क्षेत्रमा मानव बन्यजन्तु द्वन्द्व बढ्दै गएको भन्दै स्थानीयले सम्बन्धित निकायलाई आवश्यक नियन्त्रण र सुरक्षाका उपाय अवलम्बन गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

Facebook Comments